अष्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानीज पुनः निर्वाचित



अष्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानीज पुनः निर्वाचित भएका छन्। उनको लेबर पार्टीले बहुमत प्राप्त गरेको बीबीसीले जनाएको छ।

कन्जरभेटिभ लिबरल–नेशनल गठबन्धनका नेता पिटर डटनलाई हराउँदै अल्बानीज दोस्रो कार्यकालको लागि प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि अल्बानीजले अस्ट्रेलियाली जनताले अस्ट्रेलियाली मूल्यमान्यताका लागि मतदान गरेको बताए। उनले अस्ट्रेलियालीहरूले आशावाद र दृढ संकल्प रोजेको पनि बताए।

यता विपक्षी नेता डटनले हार स्वीकार गरेका छन्। उनले आफू हारको पूर्ण जिम्मेवारी स्वीकार गर्ने बताए।

विजयपछि अल्बानीजले भने,‘अस्ट्रेलियालीहरूको प्रधानमन्त्रीको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो।’ अष्ट्रेलियालीहरूले अष्ट्रेलियाली मूल्यमान्यता, निष्पक्षता, आकांक्षा र अवसरको पक्षमा मतदान गरेको उनले बताए।

अल्बानीजले भोलिदेखि काममा फर्कने बताए।

एन्थोनी अल्बानीज लेबर पार्टीका हुन् र २०२२ देखि अष्ट्रेलियाको प्रधानमन्त्री छन्। उनी करिब ३० वर्षदेखि सांसद छन्।

अष्ट्रेलियामा मानिसहरूले प्रत्यक्ष रूपमा प्रधानमन्त्रीको निर्वाचन गर्दैनन्। उनीहरूले सांसदहरूलाई मतदान गर्छन् र सबैभन्दा बढी सिट पाउने दलको नेता प्रधानमन्त्री बन्छन्।

प्रकाशित मिति : २०८२ वैशाख २० गते शनिबार