‘दैलेखको पेट्रोलियम पदार्थको उत्खनन हाम्रै पालामा सुरु भएको हो’



नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफ्नै पालामा सुरु भएको दाबी गरेका छन्।

दाहालले दैलेख पेट्रोलियम खानीको सम्भावना बोकेको जिल्ला रहेको उल्लेख गर्दै उक्त अन्वेषणको थालनी माओवादी नेतृत्वको सरकारका पालामा भएको दाबी गरेका हुन्।

सो क्रममा उनले अनुसन्धानका लागि नमूना चीन पठाइएको र काठमाडौं फर्केपछि चिनियाँ पक्षसँग छलफल गर्ने आश्वासन समेत दिएका छन् ।

‘अनुसन्धानका लागि नमूना चीन पठाइएको छ भन्ने जानकारी पाएको छु,’ उनले भने, ‘यसबारे थप जानकारी लिन म काठमाडौं फर्केपछि चिनियाँ पक्षसँग छलफल गर्नेछु ।’

दाहालले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्श गरेका छन्।

माओवादी केन्द्र जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दाहाल नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टिम सहभागी भएको थियो।

कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज तथा पत्रकार महासंघका प्रतिनिधिहरूले जिल्लाको विकास, पूर्वाधार, पर्यटन तथा उद्योग प्रवद्र्धनसम्बन्धी आफ्ना धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा उद्योग वाणिज्य संघ, दैलेखले जिल्लाका प्राथमिक आवश्यकतासहितको मागपत्र दाहालसमक्ष बुझाउँदै मध्यपहाडी लोकमार्ग अभियान अघि बढाएकोमा कृतज्ञता व्यक्त गरेको थियो। सहभागीहरूले उक्त अभियानले दैलेखको विकास सम्भावनालाई मूर्तरूप दिन मद्दत गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘यहाँको विकास र समृद्धिमा देखिएको दलहरूको एकता उदाहरणीय छ । यो अभियान अब माओवादीको मात्र होइन, सबै दलहरूको साझा अभियान बनेको छ । यहाँ उठेका माग र अनुभवहरू राष्ट्रिय तहमा सशक्त रूपमा प्रस्तुत गरिनेछ ।’

उनले राजनीतिक दल, व्यवसायी, पत्रकार, कर्मचारी सबैको सक्रियताले अभियान सर्वपक्षीय बनेको उल्लेख गर्दै अभियानलाई थप गतिशील बनाउन सबै पक्षको सहभागिता आवश्यक रहेको बताए।

दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै उनले उक्त खण्ड सबैभन्दा लामो भएको बताए। उनले उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यावसायिक तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ अघि सारिएको स्पष्ट गरे।

‘मध्यपहाडी लोकमार्गको अवधारणा बसाइँसराइ न्यूनीकरण गर्दै पहाडी क्षेत्रमा व्यवस्थित सहर निर्माण तथा पर्यटन र उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको हो,’ उनले भने, ‘तर वैदेशिक रोजगारी र बसाइँसराइको क्रम यथावत् रहनु चिन्ताको विषय हो।’

प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार