
सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका भित्रका सबै घरधुरीको बीमा गरिने भएको छ। कर्णाली प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन गरेको ‘घर बीमा कार्यक्रम’ अन्तर्गत युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमार्फत बीमा प्रक्रिया अगाडि बढाइएको हो।
प्राकृतिक विपत्तिबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले आगलागी, बाढीपहिरो, भूकम्प लगायतका प्राकृति जोखिमका लागि बीमा सुरक्षा प्रदान गर्नेछ। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै प्रदेश सरकारले ७९ वटै स्थानीय तहलाई कार्यविधि तयार गरी प्राविधिक सहयोगसहितको लागि पत्राचार गरेको थियो। तीमध्ये हालसम्म २३ वटा स्थानीय तहले कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएका छन्।
चामुण्डा बिन्द्रासैनी नगरपालिकाले पनि उक्त कार्यक्रममा सहभागी भई सबै घरधुरीको बीमा गर्ने निर्णय गरेको हो।
आइतवार नगरपालिकाको कार्यालय जम्बुकाँधमा आयोजित घर बीमा सम्बन्धी छलफल कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोलाराम पंगेलिले प्रदेश सरकारको बजेटको प्रभावकारी उपयोग गर्दै बीमा कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा युनाइटेड अजोड इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख धिरेन्द्र कुमार शाहीले बीमाको महत्व, जोखिम वहन प्रक्रिया, क्षति भएमा कसरी दाबी गर्ने र बीमा गर्न आवश्यक पर्ने कागजातबारे विस्तृत जानकारी गराए।
छलफल कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी तथा बीमा कम्पनीका तर्फबाट धिरेन्द्र कुमार शाही र प्रकाश शाहीको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्