कर्णालीका मुख्यमन्त्री भन्छन्ः समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्न सक्छ’



कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्न सक्ने बताएका छन् ।

बिहीबार १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट हरेक नागरिक समान हुने प्रणाली स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता रहेको उनको भनाइ छ ।

यस युगान्तकारी परवर्तनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्नुपर्ने आजको आवश्यकतना रहेको नउको भनाइ छ ।

शुभकामना सन्देश
१८ औं गणतन्त्र दिवसको अवसरमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यामलाल कडेलले दिनुभएको शुभकामना सन्देश
आज १८ औँ गणतन्त्र दिवस। नेपाली जनताले ऐतिहासिक विजय प्राप्त गरेको यस अवसरमा दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु। लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवन आहुती गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने सबै अग्रजहरुमा सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आम जनसमुदाय‚ नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू एवम् सबै क्षेत्र र वर्ग समुदायको योगदानको उच्च प्रशंसा गर्दछु।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौँ। गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव पनि हो। जनता सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन पनि हो । यस उत्सवमा म पुनः सबैमा हार्दिक बधाइ एवम् शुभकामना व्यक्त गर्दछु।

व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट हरेक नागरिक समान हुने प्रणाली स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता हो। यस युगान्तकारी परवर्तनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्न सक्छ।

लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामहरूलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता हो ।जनतालाई केन्द्र बिन्दुमा राखेर जनताको इच्छा र जनताका लागि सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ ।

जुनसुकै शासन प्रणालीलाई संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्न सक्छ। शासन प्रणाली विकासका क्रममा कमजोरीहरू देखा पर्न पनि सक्छन्। नागरिकका आशातित अपेक्षा पुरा नहुँदा कहीँ कतै वितृष्णा र टिका— टिप्पणीका स्वरहरू सुनिन पनि सक्छन् । त्यसलाई हामीले स्वाभाविक ठानेर हाम्रा कतिपय कार्यशैली, व्यवहार र आचरणहरू सुधार गर्न सक्नुपर्छ। तर, टिकाटिप्पणी र कमीकमजोरीहरूलाई व्यवस्थाको असफलतासँग जोडदै कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्काउने खोज्ने असंबैधानिक कदमहरु कदापी स्वीकृत हुदैनन र इतिहासको गतिलाई अव कसैले पनि पछाडी फर्काउन सक्दैन ।

अन्तमा, आजको यस ऐतिहासिक दिवसले राष्ट्रिय सार्वभौमिकता‚ स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गरोस गणतन्त्र दिवसको पुनः हार्दिक शुभकामना ।
धन्यवाद ।
२०८२ जेठ १५ गते ।
यामलाल कडेल
मुख्यमन्त्री

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार