अर्थमन्त्रालयमा प्रवेश निषेध भएको भन्दै एमाले नेतृको आपत्ति



कर्णालीको अर्थ मन्त्रालयमा प्रवेश नपाएको भन्दै एमाले नेतृ पद्मा खड्काले आपत्ति जनाएकी छन् ।

पुर्व प्रदेश सभा सदस्य समेत रहेकी खड्काले आफ्नै दलले नेतृत्व गरेको सरकारमाथि गम्भीर प्रश्न उठाएकी हुन् ।

प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष (०८२/८३) को बजेट ल्याउने तयारी गरेको छ । सोही सन्दर्भसँग जोडेर अर्थमन्त्रालयमा १० दिन पहिलेदेखिनै निषेश गरिएको भन्दै उनले प्रश्न उठाएकी हुन् ।

‘कर्णाली सरकार अन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालय सुर्खेतमा प्रदेशको बजेट आउनुको अघिल्लो दिन मात्र मन्त्रालयमा प्रवेश निषेध हुने हुन्थ्यो,’ उनले भनेकी छन्, ‘तर यो वर्ष (०८२/०८३) को बजेटमा १० दिन अगाडी बाट नै प्रवेश निषेध गरिएको पाइयो । हाम्रा सरकार हाम्रो व्यवस्था कता जाँदैछ ?’

उक्त विषय सोचनिय रहेको उनको भनाइ छ । ‘के उद्देश्यका लागि बन्द गरिएको हो, आम नागरिक जान्न चाहन्छन,’ उनको प्रश्न छ ।

पुर्व अर्थमन्त्रीहरुका अनुसार यसअघि बजेट ल्याइनु भन्दा ३–४ दिनअघिदेखि कामको प्रकृति हेरेर मन्त्रालयमा आवत–जावत बन्द गर्ने गरिएको थियो ।

यद्यपि कामको चापलाई मध्यनजर गरेर आवात–जावत बन्द गर्न सकिने उनीहरुको भनाइ छ । अर्थ मन्त्रालयले पनि कामको अवस्थालाई मध्यनजर गरेर आवत–जावत बन्द गरिएको बताएको छ।

प्रकाशित मिति : २०८२ जेठ २३ गते शुक्रबार