दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको पुष्टि, ५० वर्षलाई पुग्ने अनुमान



दैलेखको जलजलेमा गरिएको अन्वेषणबाट ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँसको विशाल भण्डार रहेको प्रारम्भिक अध्ययनले देखाएको छ। चिनियाँ विज्ञ टोलीले गरेको अध्ययनपछि प्राप्त रिपोर्टअनुसार यो परिमाणको ग्याँसले नेपाललाई करिब ५० वर्षसम्मको माग धान्न सक्ने अनुमान गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार, चीनको चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ देखि ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ गरी चट्टानको नमुना परीक्षणका लागि चीन लगेका थिए। सोही परीक्षणबाट उक्त परिमाणमा मिथेन ग्याँस रहेको पुष्टि भएको हो।

मिथेन ग्याँस पेट्रोल-डिजेलको स्वच्छ विकल्प मानिन्छ, जसलाई गाडी सञ्चालन, बिजुली उत्पादन, घरायसी प्रयोजन र रासायनिक मल कारखानाका लागि प्रयोग गर्न सकिन्छ।

सरकारले चिनियाँ पक्षबाट विस्तृत रिपोर्ट प्राप्त भएपछि उत्पादन परीक्षण सुरु गर्ने योजना बनाएको छ। मन्त्री भण्डारीले भने, “विस्तृत रिपोर्ट आएपछि ७५ दिनको उत्पादन परीक्षण सुरु गर्ने योजना छ।”

२०७२ सालमा भारतले लगाएको नाकाबन्दीपछि तत्कालीन सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि चीनलाई आग्रह गरेको थियो। सोही पहलअनुसार दैलेखमा ड्रिलिङ सुरु भएको हो, जसले अहिले उत्साहजनक नतिजा देखाएको छ। यो केवल एउटा स्थानको परीक्षण नतिजा हो र अन्य सम्भावित स्थानमा अन्वेषण गर्दा ग्याँसको परिमाण अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार