
सुर्खेत । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीमा २ प्रतिशत बिलशिता कर र हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाएको विरोधमा सुर्खेतका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्।
सुनचाँदी व्यवसायी संघ, सुर्खेत र कर्णाली सुनचाँदी रत्न तथा आभूषण संघ, सुर्खेतले संयुक्त प्रेस–नोट जारी गर्दै असार १५ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन्।
व्यवसायीहरूले सरकारको यो निर्णयले कोभिड–१९ महामारी र आर्थिक मन्दीको चपेटामा परेको सुनचाँदी व्यवसायलाई थप हतोत्साहित बनाएको बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अगुवाइमा भइरहेको देशव्यापी आन्दोलनकैरूपमा सुर्खेतमा पनि विरोधका कार्यक्रमहरू आयोजना गरिएको उनीहरूको भनाइ छ ।
“सरकारको यो निर्णयले केही समय अगाडि देखी कोरोनाले थला परेका सुनचाँदी व्यवसायीहरूलाई हतोत्साहित त बनायो बनायो आर्थिक मन्दिको चपेटामा परेका नागरिकलाई समेत प्रत्यक्ष असर पर्ने देखिएको छ,’’ प्रेस–नोटमा उल्लेख छ।
व्यवसायीहरूले सरकारलाई नागरिकको समस्याप्रति जवाफदेही हुन र जनविरोधी निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। माग पूरा नभए थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।
यस्ता छन् आन्दोलनका कार्यक्रमहरूः
असार १५ गतेः बिहान १० बजे मंगलमंगलगढीचोकदेखि वीरेन्द्रचोकसम्म व्यवसायसहित कोणसभा गर्ने।
असार १६ गतेः बिहान १० बजे मंगलमंगलगढीचोकदेखि वीरेन्द्रचोकसम्म सिटी जुलुस निकाल्ने।
असार १७ गतेः बिहान १० बजे विरोध स्वरूप खालीखुट्टा मंगलमंगलगढीचोकदेखि वीरेन्द्रचोकसम्म पैदल यात्रा गर्ने।
असार १८ गतेः बिहान १० बजे मंगलमंगलगढीचोकदेखि वीरेन्द्रचोकसम्म हर्नसहित मोटरसाइकल र्याली निकाल्ने।
असार १९ गतेः बिहान १० बजे खाली खुट्टा सहित मंगलमंगलगढीचोकबाट वीरेन्द्रचोकसम्म मौन र्याली तथा प्रदर्शन गर्ने।
असार २० गतेः बिहान १० बजे मंगलमंगलगढीचोकबाट विशाल र्याली सहित वीरेन्द्रचोक पुगेर कोणसभा गर्ने।
यस अवधिमा व्यवसायीहरूले विभिन्न राजनीतिक दलका जिल्ला तथा प्रदेश अध्यक्ष, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र सभामुख यज्ञराज जोशीलाई समेत भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम तय गरेका छन्।









प्रतिक्रिया दिनुहोस्