“मन्त्री र पहुँचवालालाई मात्र बजेट, देख्दा लज्जाबोध भयो”



 नेकपा (एकीकृत समाजवादी)की सांसद कल्याणी खड्काले कर्णाली प्रदेश सरकारको बजेट पहुँच र शक्तिका आधारमा मन्त्री र पहुँचवालाका जिल्लामा मात्रै केन्द्रित भएको बताएकी छन् ।

आइतबार भाैतिक र अर्थमन्त्रालयकाे बजेटमाथिकाे छलफलमा बोल्दै उनले सरकारले प्रस्तुत गरेको बजेट र मन्त्रीहरूको जवाफले आफूलाई लज्जाबोध भएको समेत बताइन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्थ मन्त्रालयको बजेटमाथि धारणा राख्दै सांसद खड्काले बजेट निर्माण प्रक्रिया र बाँडफाँडमा गम्भीर विभेद भएको बताइन् । उनले प्रश्न गर्दै भनिन्, “बजेट कुन आधार र सूत्रमा टेकेर बाँडियो ? जनसंख्या, भूगोल वा आवश्यकता के हेरियो ? जिम्मेवार निकायबाट यस्ता गैरजिम्मेवार जवाफ आउँदा हामी जनतामाझ कसरी जाने ?”

रुकुम, जाजरकोट, सल्यान र डोल्पालाई जोड्ने चौरजहारीको महत्वपूर्ण पुल वर्षौंदेखि अलपत्र परेको तर अन्यत्र पहुँचका आधारमा बजेट विनियोजन भएको उनले बताइन् ।

“पहुँच र शक्तिको आधारमा बजेट बनाउने हो भने कर्णाली कहिल्यै बन्दैन,” उनले भनिन्, “यस्ता विभेदकारी योजनालाई कार्यान्वयनमा रोक लगाउन र खबरदारी गर्न म स्थानीय सरकारहरूलाई आग्रह गर्दछु ।”

यस्तो असमानताको अन्त्य नभएसम्म सदनमा आफूहरूले आवाज उठाइरहने पनि सांसद खड्काले बताइन्।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार