
दशकौँको प्रतीक्षा र सपनालाई साकार पार्दै, देशको एकमात्र सडक सञ्जालमा नजोडिएको जिल्ला सदरमुकाम हुम्लाको सिमकोट अब औपचारिक रूपमा राष्ट्रिय राजमार्गसँग जोडिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कर्णाली करिडोर अन्तर्गतको महत्त्वपूर्ण चुवाखोला बेलीब्रिजको ऐतिहासिक उद्घाटन गरेसँगै यो सम्भव भएको हो ।
ओलीले खार्पुनाथ गाउँपालिका–५ स्थित यो पुलको उद्घाटन गर्दा स्थानीयवासीमा खुसीको लहर छाएको थियो । यो पुल निर्माणसँगै हुम्ला सदरमुकामसम्म गाडी पुग्ने बाटो खुलेको छ, जसले ७७ वटै जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्य पूरा भएको छ ।
यो पुल हुम्लालाई जोड्ने माध्यम मात्र होइन, यो समग्र कर्णाली प्रदेश र देशकै लागि एक रणनीतिक पूर्वाधार हो ।
कर्णाली करिडोर अन्तर्गत बनेको यो पुलले दक्षिणी छिमेकी भारतको सीमावर्ती जमुनिया नाकादेखि उत्तरी छिमेकी चीनको हिल्सा नाकासम्मको ४१० किलोमिटर लामो सडकलाई जोडेको छ । यसले कर्णालीलाई उत्तर–दक्षिण अन्तरदेशीय सञ्जालमा जोड्दै वैदेशिक व्यापार र आर्थिक विकासको नयाँ ढोका खोल्नेछ ।

उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यो पुलले हुम्लाका नागरिकको जीवनस्तरमा ठूलो परिवर्तन ल्याउने र जिल्लाको आर्थिक तथा सामाजिक विकासले गति लिने विश्वास व्यक्त गरे ।
‘यो पुलले हुम्लालाई राष्ट्रिय सञ्जालमा मात्र जोड्दैन, बरु कर्णाली प्रदेशको आर्थिक विकास र समग्र देशको वैदेशिक व्यापारका लागि समेत नयाँ ढोका खोल्ने विश्वास लिएको छु,’ उनले ने ।
नेपाली सेनाले करिब ४ करोडको लागतमा निर्माण गरेको यो पुल केवल डेढ महिनाको छोटो अवधिमा तयार पारेको हो ।
जिल्लाका अन्य भूभागमा सडक सञ्जाल विस्तार भए पनि सदरमुकाम सिमकोटसम्मको पहुँच राष्ट्रिय सडक सञ्जालबाट विच्छेद थियो, जुन अब सधैँका लागि अन्त्य भएको छ ।











प्रतिक्रिया दिनुहोस्