ठाटीकाँध गाउँपालिकाद्वारा ८६ प्रतिशत बजेट खर्च, विकास भन्दा तलब भत्ताको बजेट दोब्बरले बढी खर्च



 

दैलेखको ठाटीकाँध गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ८६.३२ प्रतिशत रकम खर्च गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायका अनुसार आर्थिक वर्ष २०८१/८२ का लागि कुल ३९ करोड ६५ लाख ९२ हजार बजेट विनियोजित थियो ।

जसमध्ये चालु तर्फ २६ करोड ५९ लाख ९० हजार र पुँजीगत तर्फ १३ करोड ६ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।
आर्थिक वर्षको अन्त्यसम्ममा गाउँपालिकाले कुल ३४ करोड २३ लाख ४५ हजार रुपैयाँ खर्च गर्न सफल भएको छ, जुन कुल बजेटको ८६.३२ प्रतिशत हो ।

खर्च विवरण अनुसार चालु तर्फ २३ करोड ५० लाख ७१ हजार (८८.३७ प्रतिशत) र पुँजीगत तर्फ १० करोड ७२ लाख ७३ हजार (८२.१३ प्रतिशत) खर्च भएको छ ।

‘व्यावसायिक शिक्षा, स्वास्थ्य, कृषि, उद्यम र पूर्वाधार ठाटीकाँध गाउँपालिकाको समृद्धिको आधार’ भन्ने नारालाई आत्मसात् गर्दै अघि बढेको पालिकाले पारदर्शिता र जवाफदेहिताका लागि वित्तीय विवरण सार्वजनिक गरेको हो ।

यद्यपि स्थानीय तहमा गएको बजेट विकास भन्दा धेरै तलब भत्तामै खर्च हुने गरेको विवरणमा देखिन्छ । जस्तो चालु बजेट पुँजीगत बजेटको भन्दा दोब्बरले बढी छ । चालु बजेट भनेको तलब भत्तामा खर्च हुने रकम हो ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार