९३ अर्बको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणको बाटो खुल्यो



फाइल तस्वीर ।

विभिन्न प्रक्रियागत र नीतिगत अड्चनहरूलाई पन्छाउँदै अन्ततः बेतन कर्णाली जलविद्युत् आयोजनाले उत्पादन अनुमतिपत्र (जेनेरेशन लाइसेन्स) पाएको छ ।

यो अनुमतिसँगै ४३९ मेगावाट क्षमताको यो महत्त्वपूर्ण अर्ध–जलाशययुक्त आयोजना औपचारिक रूपमा निर्माणको चरणमा प्रवेश गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा, ऊर्जा सचिव सुरेश आचार्यले सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण प्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण गरे ।

सचिव आचार्यले आयोजनालाई समयमै सम्पन्न गर्न शुभकामना दिँदै यसले राष्ट्रिय ऊर्जा सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

लामो समयदेखि अनुमति प्रक्रियामा अड्किएको यो आयोजना ऊर्जामन्त्री दीपक खड्काको विशेष पहल र निर्देशनपछि अगाडि बढेको हो ।

मन्त्री खड्काको सक्रियताले नै भारतीय अप्पर कर्णाली आयोजनासँगको समन्वय र अन्य कूटनीतिक जटिलताहरू सुल्झाउन सहज भएको ऊर्जा सचिव आचार्यले बताए ।

अनुमतिपत्र हस्तान्तरण कार्यक्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरू पुष्पबहादुर शाह, शेरबहादुर कुँवर र ह्रदयाराम थामीको उपस्थितिले आयोजनाप्रतिको राजनीतिक ऐक्यबद्धतालाई दर्शाएको थियो।

कम्पनीका प्रवन्ध सञ्चालक आचार्यले मन्त्री, सचिव लगायत सबै सहयोगी निकायप्रति आभार प्रकट गरे ।

आयोजनाको अनुमानित लागत ९३ अर्ब रहेको छ र यसको निर्माण ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

यो आयोजना निर्माणका लागि कर्मचारी सञ्चयकोषको १५ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, विद्युत उत्पादन कम्पनी लिमिटेड १० प्रतिशत, सञ्चयकर्ता तथा राष्ट्रसेवक कर्मचारी ४० प्रतिशत, स्थानीयवासी तथा सर्वसाधारण २५ प्रतिशत लगानी गर्ने बताइएको छ ।

वित्तीय व्यवस्थापन चुनौतीपूर्ण भए तापनि सञ्चयकोष जस्ता बलिया संस्थागत लगानीकर्ता, सरकारको प्रतिबद्धता र ६ लाखभन्दा बढी सञ्चयकर्ताहरूको अप्रत्यक्ष स्वामित्वका कारण आयोजना समयमै सम्पन्न हुनेमा बलियो विश्वास देखिन्छ ।

यो आयोजना कर्णाली क्षेत्रको मात्र नभई समग्र देशकै आर्थिक विकास र ऊर्जा आत्मनिर्भरताको लागि एक कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार