
जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला पुगेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन उनी जुम्ला पुगेका छन् ।
ओलीले समारोह सुरु हुनुपुर्व प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवनको उद्घाटन गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेढ दशकपछि बल्ल आफ्नै सुविधायुक्त शैक्षिक भवन पाएको छ । ०६८ सालमा स्थापना भएको कर्णाली प्रतिष्ठान हाल सम्म भाडाकै घरमा अध्यापन गर्दै आएको थियो ।
शैक्षिक भवनसहित छुट्टै क्वाटर–१ भवन सिनियर २५ जना प्रोफेसरहरूको लागि सुविधायुक्त भवन बनेको छ । क्वाटर–२ भवन अन्तर्गत २५ जना जुनियर प्रोफेसरका लागि भवन बनेका छन् । उक्त दुई क्वाटर ब्लकहरूमा एकल बस्नेदेखी परिवार सहित बस्ने सम्मको सम्पुर्ण पूर्वाधार सहितको व्यवस्थापन छ ।
भवन उद्घाटन भए लगत्तै प्रतिष्ठानको सिनेट बैठक सुरु भएको छ । सिनेट बैठकपछि दीक्षान्त समारोह सुरु हुने छ ।
१३ वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक आफ्नो दीक्षान्त समारोह गरेको हो । यसअघि भदौ १३ गते गर्ने भनिएको समारोह ओली नआउने भएपछि स्थगित गरिएको थियो ।
दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुँदैछन् ।
प्रतिक्रिया दिनुहोस्