
दैलेख । दैलेखमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरण अन्तर्गतको ड्रिलिङको काम भइरहेको छ ।
भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा भइरहेको उक्त काम पनि अन्तिम चरणमा पुगेको छ ।
उक्त स्थानमा करिब ४.५ किलोमिटर गहिराइमा ‘ड्रिलिङ’ गरिनेछ । हालसम्म ८० प्रतिशत काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए ।
चीन सरकारको २ अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् ।
‘ड्रिलिङ’का लागि निकै ठुलो र महँगो चिनियाँ मेसिनबाट काम भइरहेको छ । ‘ड्रिलिङ’को काम भनेको ग्यास र पेट्रोलियम पदार्थ छ वा छैन, छ भने कति परिमाणमा छ भनेर देखाउने अन्तिम चरणको काम हो । ड्रिलिङ’ पहिलो चरणमा भएको ‘सेस्मिक रेफ्लेक्सन सर्भे’ र ‘म्याग्नेटोटेलुरिक सर्भे’का आधारमा गरिन्छ ।
यो काम तीन चरणमध्येको सबैभन्दा कठिन र महत्त्वपूर्ण हो । जलजले श्रीस्थान र नाभिस्थानको थोरै उत्तरमा पर्छ ।
शदिऔँदेखि ज्वाला बल्दै आएको श्रीस्थान, नाभिस्थान, पादुकाका क्षेत्रलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् भइरहेको हो ।
तीन वटा ठाउँमा गरिएको अध्ययनमध्ये जलजले बढी सम्भावना देखिएको ठाउँ हो । यो कामलाई अन्वेषणात्मक ‘ड्रिलिङ’ भनिन्छ । त्यसपछि मात्रै पेट्रोलियम भण्डारण पत्ता लाग्ने छ ।
पहिलो चरणको अन्वेषणात्मक कार्यले उक्त स्थानमा पेट्रोलियम पदार्थ हुने सम्भावना धेरै भए पनि आधिकारिक पुष्टि भएको छैन । त्यो ‘ड्रिलिङ’ को कार्य सम्पन्न पश्चातमात्रै पुष्टि हुने छ ।
तथापि पहिलो चरणमा गरिएको अन्वेषणात्मक अध्ययनका क्रममा केही वैज्ञानिक प्रमाण र आधार फेला परेको दाबी गरिएको छ । उक्त क्षेत्रमा करिब १४ किलोमिटर दुरीमा ४५ जति ग्यास चुहावट देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्