कृषि क्रान्तिमा विप्लवः स्याउ रोप्न पुगे जुम्ला



नेत्र विक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही समययता कृषि क्रान्तिमा अग्रसर छ । देशभर झण्डै तीन सय बिगा जमिनमा खेती गरिरहेको छ, उनको पार्टी ।

सोही अनुसार विप्लव जुम्लाको हिमा गाउँपालिका–७ धाचु गाउँमा स्याउ रोप्न पुगेका छन् ।

विप्लव त्यहाँ पुग्दा नेकपा जुम्लाका नेताकार्यकर्ता तथा स्थानीय जनताले स्थानीय झाँकी, बाजागाजा र फूलमालाले स्वागत गरेका थिए । चार दिनदेखि चलिरहेको पार्टीको स्कुलिङ तथा स्याउ रोप्ने कार्यक्रममा लागि नेकपाका महासचिव विप्लवसहित नेता, कार्यकर्ताले त्यहाँ स्याउ रोप्ने काम गरिरहेका छन् ।

नेकपाका जुम्ला जिल्ला इन्चार्ज बिर्खबहादुर शाही ‘प्रभाजित’का अनुसार महासचिव विप्लवका साथमा नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर, विप्लवकी जीवन संगीनीसहितको टिम जुम्ला आएको हो ।

नागरिकको स्वागत कार्यक्रममा संक्षिप्त कुरा राख्दै महासचिव विप्लवले जनतालाई कृषिमा आत्मनिर्भर बनाउन जुम्लामा स्याउँ रोप्न आएको बताएका थिए ।

‘पहिला नेता र कार्यकर्ता उत्पादनमा आत्मनिर्भर हुनुपर्छ, त्यसपछि जनतालाई आत्मनिर्भर बनाएर देशलाई समृद्धिको दिशामा अगाडि बढाउनुपर्छ । सोही लक्ष्य अनुसार यसपटक पुनः स्याउ रोप्न आएँ’, उनले भने ।

उनले उत्पादनबाटै समृद्धि सम्भव भएको बताउँदै जुम्लामा एक वर्षअघि स्याउ रोप्दा देशैभर हल्लाखल्ला मच्चिएको बताए । महासचिव विप्लव एक वर्ष अघि मात्र जुम्लाको धाचु गाउँमा पार्टीको उत्पादन नीतिअनुसार स्याउ रोपेर फकिएका थिए । यसपटक थप बिरुवा रोप्न जुम्ला आएको नेकपाले जनाएको छ ।

नेकपाले काठमाडौंमा सुरु गरेको सि व्यापार केन्द्रमा जुम्लाको अर्गानिक खाद्यान्नले बजार पाएको विप्लवले बताए । उनले जुम्लाको स्याउ मात्र नभएर मार्सी चामल, कोदो र फापरको नेकपाले खोलेको सी व्यापार केन्द्रमा अत्याधिक माग भएको जानकारी दिए । त्यसैले जुम्लामा स्याउ र अर्गानिक खाद्यान्न उत्पादनमा बढवा दिइएको उनले बताए ।

विप्लवले कृषि उत्पादनले नै देशलाई आत्मनिर्भर बनाउने भएकाले सबैलाई कृषि उत्पादनमा लाग्न आग्रह समेत गरे । जुम्ली जनतालाई परिवर्तन र पार्टीको उत्पादनको योजनामा साथ दिन अपिल गर्दै उनले स्वागतका लागि धन्यवाद दिए ।

नेकपाको केन्द्रीय उत्पादन विभागको आयोजनामा जुम्लामा आइतबार करिब एक हजार बढी स्याउका बोट रोप्ने कार्यक्रम रहेको नेकपा जुम्लाले जनाएको छ । यसैगरी सो क्षेत्रमा चार दिनदेखि नेकपाको स्कुलिङ् पनि चलिरहेको छ ।

जिल्ला इन्चार्ज बिर्खबहादुर शाहीका अनुसार धाचु गाउँमा पार्टीको स्कुलिङ चलिरहेको छ । चार दिनदेखि चलिरहेको कार्यक्रममा प्रदेश इन्चार्ज कर्णजित बुढाथोकी (सुशील), स्कुलिङ
विभाग प्रमुख भेसराज भुसाल, स्थायी कमिटी सदस्य भरत बमलगायतका नेताहरुले प्रशिक्षण दिएका छन् ।

प्रकाशित मिति : २०८१ फागुन ११ गते आइतबार