
सुर्खेत । कर्णाली प्रदेशका १० वटा जिल्लाका १३ वटा सामुदायिक विद्यालयहरुलाई डिजिटल तथा नमुना विद्यालयका रुपमा विकास गरिने भएको छ ।
त्यसका लागि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहहरूमा बजेट पठाउने निर्णय गरिसकेको छ । ती विद्यालयमा लागु गरिने कार्यक्रमको नाम ‘मुख्यमन्त्री डिजिटल शिक्षा तथा नमुना विद्यालय’ राखिएको छ ।
तत्कालीन मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले १० जिल्लामध्ये भूकम्पबाट प्रभावित जिल्लाहरू जाजरकोट, रुकुम पश्चिम र सल्यानमा २/२ र बाँकी जिल्लाका एक/एक विद्यालयलाई नमुना विद्यालय बनाउने भनेर छनोट गरेको थियो । अहिलेको सरकारले तीनै विद्यालयमा कार्यक्रम लागु गर्ने निर्णय गरेको छ ।
छनोटमा परेका विद्यालयहरूमा सुर्खेतको आदर्श मावि, दैलेखको आठबिस नगरपालिका–४, राकम कर्णालीको जनज्योति मावि, डोल्पाको ठुलोभेरी नगरपालिका–३ को सरस्वती मावि, जुम्लाको कनकासुन्दरी मावि, कालिकोटको नरहरिनाथ गाउँपालिका–१ मा रहेको नन्दादेवी मावि, मुगुको मुगुमकार्मारोङ गाउँपालिका–३ को नेपाल राष्ट्रिय आवासीय विद्यालय र हुम्लाको अदानचुली गाउँपालिका–५ मा रहेको सल्लाघारी मावि छन् ।
यस्तै भूकम्प प्रभावित जिल्ला जाजरकोटका नारायणी मावि छेडागाड नगरपालिका—१२ र इन्द्रज्योति मावि शिवालय गाउँपालिका–६ छनोट भएका छन् । सल्यानको कपुरकोट–४ स्थित किमुचौरमा रहेको नेपाल राष्ट्रिय मावि र दार्मा–३ स्थित फारुलाचौरमा रहेको जनज्योति मावि पनि छनोट भएका छन् ।
रुकुम पश्चिमको चौरजहारी–२ स्थित नयाँ बजारको शितल मावि र मुसिकोट–५ स्थित सेरीगाउँको यमुना नन्द मावि रहेका छन् । यी विद्यालयलाई डिजिटल तथा नमुना विद्यालयको रुपमा विकास गरिने सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।
कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गरिएको छ । मंगलबारको मन्त्रिपरिषद्को बैठकले १३ विद्यालयमा ७५ लाखका दरले बजेट पठाउने निर्णय गरेको छ ।
यो कार्यक्रम आर्थिक वर्ष ०७८/७९ को बजेटमा ‘एक पालिका, एक नमुना विद्यालय कार्यक्रम’ का रूपमा ल्याइएको थियो ।
यद्यपि पटक–पटक संशोधन हुँदै अहिले ‘मुख्यमन्त्री डिजिटल शिक्षा तथा नमुना विद्यालय’ का रुपमा कार्यान्वयनमा गयो ।
सरकारले बनाएको नयाँ कार्यविधिमा प्रदेशका सामुदायिक विद्यालयलाई डिजिटल प्रविधियसक्त बनाई प्रतिस्पर्धी एवं दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य रहेको उल्लेख छ ।
सामाजिक विकास मन्त्रालयले प्रविधियुक्त कक्षाकोठा व्यवस्थापन र विद्यालयमा प्रविधियुक्त स्रोत कक्षाको स्थापनामा सहयोग गर्ने छ । साथै मन्त्रालयले स्थानीय तहमार्फत् रकम प्रदान गर्ने बताइएको छ ।
प्रविधियुक्त कक्षा कोठा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरू ल्यापटप, प्रोजेक्ट, स्मार्टबोर्ड, हार्ड डिक्स, डिजिटल डिस्प्ले बार्ड, पि–फोम, कार्पेट, राउण्ड, टेबल, इभटर, व्याकअप, अर्थिङ्ग, जुत्ता राख्ने र्याक र फर्निचर हुनुपर्ने छ ।
‘कक्षागत र विषयगत डिजिटल सिकाइ सामग्री, शैक्षिक भिडियो, फिल्म, डकुमेन्ट्री, शिक्षण सिकाइसम्बन्धी सफ्टवेयर खरिद निर्माण प्रयोग र नवीकरण सामग्री राख्नुपर्ने हुन्छ,’ कार्यविधिमा भनिएको छ ।
यस्तो छ, कार्यविधि
डिजिटल_शिक्षा_र_नमुना_विद्यालय_कार्यक्रम_सञ्चालन
प्रतिक्रिया दिनुहोस्