उपनिर्वाचनः आधार क्षेत्रमै पराजित भयो माओवादी



सुर्खेत । रुकुम, रोल्पा, जाजरकोट नेकपा (माओवादी केन्द्र) का आधार क्षेत्रहरु हुन् । तर यिनै स्थानमा भएको उपनिर्वाचनमा भने माओवादी पराजित भएको छ ।

आइतबार बेलुका १० बजेसम्मको नतिजा अनुसार जाजरकोटको कुशे गाउँपालिका–७, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ र कालिकोटको तिलागुफा नगरपालिका–४, को वडाध्यक्ष पदमा माओवादी पराजित भएको छ ।

तीनमध्ये कुशे र तिलागुफामा यसअघि माओवादीले नै जितेको थियो । कालिकोट पनि माओवादीको बलियो प्रभाव भएको जिल्ला हो ।

कुशे गाउँपालिका–७, को वडाअध्यक्ष पदमा कांग्रेसका खम्बबहादुर सिंह ३४७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका छन् ।

सिंहले आफ्ना प्रतिद्धन्द्धी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीलाई १५ मतान्तरले पराजित गरे । नेपालीले ३३२ मत ल्याएका छन् । यस्तै एमालेबाट डम्बरबहादुर घर्तीले २५२ मत ल्याए ।

यहाँ ९५६ मत खसेको थियो । एक्लाएक्लै चुनावी मैदानमा दलहरु रहँदा यसअघि ०७९ मा यहाँ माओवादी केन्द्रका मनबहादुर घर्ती ३८० मत पाएर विजयी भएका थिए ।

त्यो बेला अहिले निर्वाचित भएका कांग्रेसका खम्बबहादुर सिंहले ३१८ मत पाएका थिए । अहिले सिंहले माओवादीसँग बदला लिए । यो क्षेत्र माओवादीको आधार क्षेत्र हो ।

माओवादी केन्द्रका उपमहासचिव समेत रहेका जनार्दन शर्माको जिल्ला रुकुम पश्चिमको सानीभेरी–५ को वडाध्यक्ष पदमै माओवादी पराजित भएको छ ।

यो माओवादीको आधार किल्ला हो । सांगठनिक रुपमा यो जिल्लामा माओवादी सबैभन्दा ठुलो दल हो । कांग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतका साथ विजयी भएका छन्, यहाँ । यस्तै माओवादी केन्द्रका जसिराम बस्नेत ५३७ मत ल्याएर पराजित भए ।

यहाँ माओवादीलाई हराउन एमाले र एकीकृत समाजवादीले कांग्रेसलाई समर्थन गरेका थिए । उसोत् यहाँ यसअघि ०७९ मै पनि एमालेको सहयोगमा कांग्रेसले नै जितेको थियो ।

०७९ मा माओवादीले जितेको कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा माओवादीलाई पराजित गर्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही निर्वाचित भए । जबकि यहाँ माओवादीलाई समाजवादीको साथ थियो ।

नेमकिपाका शाही १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भए भने माओवादीका नैशोभा शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८, कांग्रेसबाट पैलन बहादुर शाहीले ४९ मत पाए ।

०७९ मा माओवादी केन्द्रका परबहादुर शाही २३४ मत पाएर विजयी भएका थिए ।

 

प्रकाशित मिति : २०८१ मंसिर १६ गते आइतबार