काग तिहारः बुझिराखौँ कागबारे रोचक जानकारी



आज काग तिहार । काग अर्थात् सन्देश प्रवाही प्राणी । काग करायो भनेँ केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपाली समाजमा लिने चलन अझै छ ।

कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ ।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरि दिवस पनि मनाइन्छ ।

आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

काग बुद्धिमान चरा हो । १२० भन्दा बढी प्रकारका चराको प्रजातिमा काग सबैभन्दा चतुर हुन्छ । तर कागलाई धेरैले गलत रुपमा लिने गरेका छन् ।

काग चराको कर्भिड्स परिवारमा पर्छ । यो परिवारमा कागबाहेक पनि अन्य कयौं चरा छन् । यसमा पनि एक औंसको पुड्के जे देखि मेक्सिकोमा मात्रै पाइने सानो चरा र ३ पाउन्ड तौल भएको साधारण कौआसम्म पर्दछ । समग्रमा कोर्भिड निकै चलाख हुन्छन् ।

आकारको अनुपातमा कोर्भिडमा मष्तिस्कको आकार हुन्छ । खागरी, काग कौआ यसमै पर्दछन् । मस्तिष्क र शरीरको आकारको अनुपात यसमा चराको होइन बाँदरको जत्रो हुन्छ । करेन्ट बायोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार कागको मस्तिष्क तुलनात्मक रुपमा चिम्पान्जीको जत्रै हुन्छ ।

लोककथामा काग र कौआलाई मान्छेले शताब्दीऔंदेखि चोर, बद्मास, भगवानको सल्लाहकार वा देवता भनेर पनि चिनेका छन् । तर पनि कहिलेकाँही यी चरालाई हामी डरलाग्दो, समस्या उत्पन्न गराउने वा पूर्णतः दूष्टको बिल्ला भिराइदिन्छौं ।

दिमागको सारा शक्ति लगाएर कोर्भिडहरूले के गर्न सक्छन् भन्नेबारे भएको अनुसन्धानका कारण हालैका वर्षहरूमा यो चराको बुद्धिमताबारे मान्छेको धारणा फेरिन थालेको छ ।

कागहरु अवसरको ठ्याक्कै प्रयोग गर्न सक्ने र सृजनशीलल हुन्छ । खासगरी खानेकुराको नयाँ स्रोत पत्ता लगाउन वा आफ्नो जीवन सहज बनाउन खाने नयाँ नीति अपनाउने मामिलामा उनीहरु सिपालु हुन्छन् ।

अमेरिकी कागले आफ्नो आहारको लागि आफैं माछा समात्छन् । केहीले त माछालाई आफ्नो नजिक आकर्षित गर्न पाउरोटी वा अन्य खानेकुरा चारोको रुपमा पनि हाल्छन् ।

कागले अरु जनावरहरूको खाना पनि चोर्छन् । कहिलेकाँही यसले अरु चरालाई गुँडसम्म पछ्याएर वा जनावरलाई छक्याएर पनि खाना चोर्छ । जापानमा कारले कुल्चिएर फुटोस् भनेर कागले ओखरलाई सडकमा राखिदिएको भिडियो आएको थियो ।

कागलृ आफ्नो लागि औजार पनि बनाउँछन्, मान्छेको बच्चाकै हाराहारीमा समाधान गर्न सक्छन् गुत्थी, कागले मृतक चराको अन्त्येष्टि गर्छन् ।

प्रकाशित मिति : २०८१ कात्तिक १४ गते बुधबार