पल्लवले दिएको माया



एक महिनाअघि साहित्यकार ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ दाजुले पल्लव साहित्य प्रतिष्ठानले सम्मान गर्ने खबर सुनाउनु भएको थियोे । पहिलेत उपयुुक्त पात्र छानेर अरु कसैलाई सम्मान गर्दा राम्रो होला के मात्र भनेको थिएँ । हामी र हाम्रो छनोट समितिको निर्णयले पुरस्कारको लागि उपयुक्त ठानेको पात्र भाइ नै हो ।

दाजुको ठाडो प्रेमिल जवाफको अघि मेरो केही जोर चलेन । कुराले जति फकाउन खोजे पनि उहाँ टसकोमस हुनुभएन । सम्मानको खबरले मनमा खुसीको लहर दौडे पनि नेपाली साहित्यमा मैले गरेको योगदान के हो ? आदि प्रश्नको जवाफ खोज्न म आफैभित्र नारायणी नदीको लहर बनेर दौडी रहेँ ।  कतै म सम्मानको नाममा व्यर्थको भारी त बोकी रहेको छैन । गोर्खे दाजुलाई सम्मान ग्रहण गर्ने वचन स्वीकारेपनि आफूले आफूलाई स्वीकार्न महिनौँ दिन लाग्यो ।

नेपाली साहित्यको लागि मैले गरेको योगदान के हो त ? खोजी गर्न साहित्यको लागि गाउँ र सहरका गल्लीहरु चहारेको दिन सम्झेँ । साहित्यिक कार्यक्रमका लागि चन्दाको रसिद बोकेर गाउँका पसल पसल चहारेको अतीत सम्झेँ । सरकारको ढोका वर्षौँसम्म ढकढकाउँदै कहिले खाली र कहिले भरी हात लिएर साहित्यिक अनुष्ठान सम्पन्न गरेका दिनहरु सम्झेँ ।

ग्रामीण बस्तीदेखी सहरमा समेत साहित्यिक कार्यक्रम गरेको अनुभूतिलाई गौर गरेपछि खुसीका थुङ्गाले मन भरियो । सम्झेँ साहित्यिक योगदान भनेको यही त होला सँगै साहित्य सिर्जना गर्ने साथीहरु हराइसके, म अझै साहित्यकै गैरी गह्रामा गजल, कथा, कविताका र नियात्राका वीउ रोपिनै रहेको रहेछु । आफूले आफैलाई प्रश्न गरें । कहिलेकाहिँ आफूलाई आफैले गरेका प्रश्नले पनि चित्त बुझाउने उचित जवाफ मिल्दो रहेछ ।

सम्मानले जति मानिसलाई फुरुङ्ग बनाउँछ त्यति नै काँधमा जिम्मेवारी थप्ने रहेछ । पल्लव साहित्य प्रतिष्ठानले जिम्मेवारीको भारी बोक्न लगाउने मंसिर एक गतेको दिन कति छिटै नजिकियो थाहा नै भएन । गुरु महेन्द्रकुमार मल्ल र मेरो काठमाडौँको नाइटबस चढेर चितवनसम्म जाने कुरा भएपनि उक्त कुराले पूर्णता पाएनन् ।

आफन्तको देहावसानले गुरुलाई केही दिनसम्म अलमल बनायो । अफिसियल कामले पनि काठमाडौँ जानु पर्ने बाध्यता र महिना दिन अघि पठाएको गोर्खे साइँला दाजुको निम्तोलाई गुरुले बडो गम्भीरतका साथ लिनु भएको थियो । बेलाबेला भेट हुँदा साइँला दाजुले पठाएको निमन्त्रणाको कुरा उप्काई रहनु हुन्थ्यो । जसरी पनि जाने योजना गुरुले बनाएपछि मेरो पनि खुसीले मन पर्छियो, जसरी सङ्कल्प हालेर मन्दिरमा पर्छिएको बोका झैँ ।

गुरु हवाई मार्ग भएर २४ गते नै काठमाडौँ लागेपछि म भने २८ गते चितवन लाग्ने दिन गनेर बसीरहेँ । अकस्मात जीवन संगिनी ममता पनि कार्तिक २८ गते स्वर्गद्वारी दर्शन गर्न प्युठान गएपछि मैले पनि साँझको बस चढेर नारायणगढ चितवन जाने योजना बनाएँ । चितवन र चितवनदेखि पूर्व जाने रात्रिकालीन बसहरुका हुलिया राम्रो नभएको कुरा पहिले नै थाह थियोे । त्यसैले काठमाडौँको नाइट बसमा चितवन नाायणघाटसम्म जाने निधो गरेको थिएँ ।

सुर्खेत नारायणघाट जाने बस भएता पनि मैले टिकट लिएको थिएन। काठमाडौँ जाने बसको टिकट काटेर नारायणघाटसम्म पठाउन अनुरोध गरेको थिएँ काँक्रेबिहार काउण्टरको स्टाफलाई । मेरो जवाफमा स्वीकृति जनाउँदै ‘ए’ साइडको चार्ट देखाउँदै सरलाई आठ नम्बरको सिट दिएको छु भनेर गुन लगाएको थियोे ।

रुपैया एक हजार पाँच सय बुझाएपछि बस नम्बर ७२२४ लेखिएको साधारण टिकट हातमा थमायो । चितवन जाने समय भएपछि घरबाट बसपार्क पुगेँ । बसलाई खोज्नै झण्डै आधाघण्टा लाग्यो । कसैले नदेखुन भनेर काउण्टर पछाडि ट्वाइलेट नजिक पार्किङ गरेर बस राखिएको रहस्य बल्ल बुझेँ । बसको हुलिया देखेपछि नआउने ज्वरो पनि आउला जस्तै भयो ।

मैले काटेको बसको टिकत त काठमाडौँ जाने गाडीको थियो विरगंज जाने गाडीमा किन टिकट काटेको झोक्किदै सह–चालकलाई सोधेँ । उस्को जवाफ थियो मलाई थाह भएन । हुन पनि टिकट काट्ने सह–चालक थिएन, उनलाई थाह पो कसरी होस् ? समय थिएन, उपाय थिएन, झगडा गरेर पनि फाइदा केही थिएन । रिसलाई शान्त पार्दै बसमा झोला राखेँ । म जस्तालाई त यसरी झुक्काए अरु सोझालाई कसरी झुक्काएर लुट्दा हुन्, यातायातका पसल थापेर बसेका चुल्ठेमुन्द्रेहरु । आफूले आफूलाई सम्झाउँदै टायरमाथी पर्ने आठ नम्बर सिटमा गएर थन्किएँ । प्रस्थान गर्ने समय ५ः१५ को भए पनि सुर्खेत बसपार्कबाट बसलाई बाहिर निस्कन झण्डै ६ नै बज्यो ।

बिरामीलाई दमले गाँजेको आवाज बनाउदै बडो नमिठो अस्वाभाविक आवाजमा बसपार्कको गेट देखी बस सडकमा निक्लियो । हर्रे पुग्दा सात बजिसकेको थियोे । चेकपोस्टमा इन्ट्री गरेर आउने जाने गाडीहरु लाइनमा थिए । ट्वाइलेटको पिदमा टाँसिएर बसेको लेउ जस्तै । मेघाश्रीले खिया लागेको दाँत ङिच्च देखाउदै सह–चालकले चर्को आवाजमा भन्यो कसैले पनि फोहर बाहिर नफाल्नु । यति भनेर ऊ ढोकाबाट फुत्त हाम फाल्दै इन्ट्री गर्न चेकपोस्ट गयो ।

मनमनै लाग्यो सरसफाई र अनुशासनको शिक्षा दिनलाई आफ्नो स्वास्थ्यको सरसफाई गर्न जरुरी छ या छैन ? प्रश्नले मनमा तरङ्ग पैदा गर्यो । चेकपोस्ट कटेपछि हर्रेका घुम्तिहरुमा नमिठो आवाजमा हर्न बजाउँदै रोगी बिमारीको घ्यारघ्यार आवाजको लय पछ्याउँदै लकडबगको गतिमा गाडी बवई– कोहलपुर हुँदै ढकेरी पुगेर सुनसान ठाउँमा रोकियो खाना खान । त्यहाँ पनि रुखो आवाजमा उही दाँत देखाउँदै भन्यो अब बस अन्त रोक्दैन खानाखाने ठाउँ यही हो झर । यति भनेर ऊ फुत्त झर्यो हुलमालमा । केही छिनको लागि गायव भयो स्टापहरुको छुट्टै गोप्य कोठामा ।

‘खाए खाऊ नखाए घिच’ जस्तै हुने रहेछन् गाडीवालाको मिलोमतोमा हाइवे रोडका सुनसान ठाउँमा खोलिएका पसलहरु । सुर्खेतबाट हिड्दा नास्ता खाएको थिएन । बसको हुलिया देखेपछि चितवन कसरी पुग्ने भोली ? यही विषयले चिन्तामाथि चिन्ता थपेको थियोे । चिन्ताले भोक हराएको थाह भएन। त्यसैले नास्ता नगरेरै बाटो लागेको थिएँ सुर्खेतदेखी ।

टायरमाथिको सिटले झाक्कलझुक्कल पारेपछि पाचन भइसकेको भोक हात्तीसार पुगेपछि फेरि बिउँझिएर भोकका मुसाहरु पेटमा दौडी रहेका थिए। तीन सय पचास मुल्य पर्ने रहेछ एउटा क्यारेमबोर्डको कालो गोटीलाई। लाइनमा लागेर उभिए थाल लिएर। मुस्किलले एउटा मास्टर पिस अटाउने कचौरामा आरुको हाड जस्ता तीन पिस ब्रोइलर कुखुराको मासुका फिर्का हालेर टमाटरको अमिलो झोलले कचौरा भरिदियो किचनमा काम गर्नेले । थालमा भाता, दाल र तरकारी लिएर पुछारको सिटमा बसेर मन नलगाई—नलगाई पेट पूजा गरेँ। सुर्खेतदेखी ६ बजे हिडेको बस ढकेरीसम्म पुग्न ५ घण्टा लगाएको थियोे। घडीले साढे ११ बजाउँदा पनि हामी सवार बस उही ठाउँमा थियो ।

बसमा यात्रु चढेपछि उनीहरुलाई समय परिधिभित्र पुर्याउने चासो गाडीवालालाई नहुने रहेछ । मानौँ बसमा बसेपछि मुसाफिरहरु गाडी चालकका दास हुन् । छिटो चलाऊ भन्न पनि नमिल्ने, भनिहाल्यो भने झोक्की हाल्ने । झोक्कीएन भने बस कुदेकै छ त देख्नु हुन्न ठाडो जवाफ । यात्रुहरुले कसै गरेपनि उनिहरु जति बोलेर सक्ने रहेनछन्। बोल्न पनि डर कतै रिसको आवेगमा उछिट्याउने त होइनन् । अक्सर बसको यात्रामा म जागाराम नै हुन्छु ।

निदाऊँ भने पनि निद आउँदैन। फराकिलो राम्रो बाटो भएर नै होला गोरुसिङे पुगेपछि पश्चिमबाट पूर्व जाने गाडीहरुले एकले अर्कोलाई ओभरटेक गरेर अघि जाने रस्साकस्सीनै हुन्छ । बसहरुको रस्सा कस्सीमा बस पछाडि छुट्नु ठुलो कुरा होइन तर ओभरलोडेड ट्रकले पनि यात्रुबहाक बसलाई पछाडि पारेर अगाडि जानु नौलो लाग्यो । जति पनि पछाडिबाट आएका गाडिहरुले हामी सवार ७२२४ नम्बरको बसलाई पहिलो हुन दिएनन् ।

चोरमारा पुगेपछि ट्याक्टरले समेत उक्त बसलाई उछिनेर अघि बढेपछि यात्रुहरु पनि तीनछक परे। बुटवल चितवन खण्डको सडकले यात्रुहरुलाई सास्ती त दिएको नै छ। सडकको धुवाधुलोले आकासमा उड्ने पन्छि र जङ्गलमा हिड्ने पशुचौपायलाई पनि रोगी बनाएको कुरा कसले बुझ्ने ? दिनरातभर ननिदाई सडकबाट उडेको धुवाँधुलो देखेपछि स्वतन्त्र आकाशमा हिँड्ने चरीले पनि शासकलाई थुकेको होला धेरै पटक । हामी त मान्छे हौँ मान्छेले सुख दुःखसँग लड्ने सहास गर्नु पर्ने रहेछ बढी बाँच्नको लागि । रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति बढाउन पनि फोहर पचाउनु पर्ने रहेछ ।

शासकहरुको व्यवहारबाट यही कुरा बुझियो बाटो को अवस्थाले । सुर्खेतबाट हिडेका गाडीहरुले चितवन पुर्याउने समय बिहानको ५/६ बजेतिर हो । चोरमारामै गाडीले बिहानको ८ बजाएपछि भन्नु केही थिएन। गाडी नबिग्रियोस भगवान बरु ढिलै भए पनि चितवन पुगौँ भनेर ईश्वर पुकार्नुबाहेक अरु उपाय थिएन। बडो मुस्किलले गैँडाकोटको पुल नजिक हामी सवार गाडी पुगेपछि झिनो सहास पलायो। गङ्गटाको हिडाइमा हिडेको गाडीले बिहानको १०ः४५ बजे पुलचोक पुर्याएपछि गोर्खे साइँलो दाजुलाई फोन लगाएको थिएँ । फोनमा भएको संवादले मन प्रफुल्ल भयो।

साच्चै भन्ने हो भने म जस्ता तनाब बोकेर महेन्द्र हाइवेमा हिँड्ने यात्रुहरु कति होलान ? आफूले आफूलाई प्रश्न गरे। बाटाको हुलिया हेर्दै निर्लज्ज लाज पचाएर सत्तामा रमाउने शासकलाई लाज कहिले लाग्ला ? आदि आदि कुराले मन तरङ्गित भयो । गाडीबाट झरेपछि शरीमा बसेको घुलो टक्टक्याउँदै मुखमा जमेको फोहरलाई मिनरल पानीले कुल्ला गर्दै शासकहरुले दिएको सास्तीलाई पखाले।

गोर्खे साइँलो दाजुले सुझाए जसरी पुलचोकको मुख नजिकैको सानो गल्लीबाट २० घर उछिनेर उत्तर लागेपछि हरियो क्यानभासमा सेता अक्षरले लेखिएका होटल हेभन देखियो । सुझाएको स्थान पत्ता लागेपछि खुसीका आभाहरुले आकास छोएको महसुस भयो। त्यतै गएर बस्दै गर्नुस् म आइहालेँ के मात्रै भन्नुभएको थियोे होटलमा पुगेर सुस्ताउन नपाउँदै हसिलो मुहारमा गोर्खे साइँलो दाजु स्कुटरमा होटल पुग्नुभयो। उक्त होटल गोर्खे साईलो दाजुकै छोरीको घर रहेछ।

उहाँहरु अस्ट्रलियामा बस्नु हुने रहेछ। हरेक बर्ष पल्लव साहित्य प्रतिष्ठानले चितवनमा आयोजना गर्ने साहित्य कुम्भमा देशभरका साहित्यकारको खान र बस्नको व्यवस्थापन यहीँ होटलमा हुनेरहेछ। रुम नम्बर १०१ मा मेरो नाम दर्ता भएपछि सामान थन्क्याएँ र नुवाईधुवाई पश्चात् होटलको लबिमा झरेँ। गोर्खे साइँलो दाजु कुरी रहनु भएको रहेछ मलाई। लौ भाइ हाम्रो घर जाम, घर देखाउँछु भनेपछि नजाने कुरै भएन । स्कुटरको पछि बसेर घर लाग्यौँ।

पल्लव साहित्य प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रम संस्थाका सदस्य र गोर्खे साइँलो दाजुको कार्यक्रम मात्रै रहेन छ । उक्त कार्यक्रम घरका सम्पूर्ण सदस्यहरुको पनि रहेछ। कार्यक्रम सफल पार्नको लागि घरका सम्पूर्ण सदस्यहरुको खटनपटनले साइँलो दाजुलाई सहज त हुने नै भयो तर घरपरिवारनै यसरी कार्यक्रमको लागि खटनपटनमा खटिएको घटना मेरो लागि पहिलो नै थियोे। कोहलपुर कि मुक्तककार शान्ति अधिकारी पोखरेलज्यूको पनि आगमन भएको रहेछ घरमा।स्वादीलो कफि खुवाएर मिना भाउजूले स्वागत गर्नुभयो । स्वागतसँगै भाउजूको प्रति प्रश्न थियो बैनीलाई किन ल्याउनु भएन बाबु ? ममता स्वर्गद्वारी गएको जवाफ दिएपछि अर्कोपटक ल्याएर आउनुहोला भन्दै मिना भाउजु सुस्ताउनु भएको थियोे। रातभरको अनिदो शरीरलाई कफीको मिठो स्वादले अलिबेर भए पनि फ्रेस बनायो। केही भलाकुसारी पश्चात् पुनः होटल हेभनमै दाजुले पुर्याउनु भयो।

निदले खपि नसक्नु भएपछि रुपमा गएर आराम गरेँ। मसँगै सम्मानित हुने ८० बर्ष पार गरिसक्नु भएका पूर्वका बयोबृद्ध साहित्यकार ज्ञानराज सुवेदी सरसँग सुत्नु अधि होटलकै डाइनिङ्ग रुममा भेट भएको थियोे। परिचयपछि साँझतिर नारायणी घुम्न जाने कुराकानी भएको थियो। तर समय भन्दा अघिनै उहाँ ढोका ढकढकाउन आइपुग्नु भयो। लागेको निद्रालाई आँखाको नारायणीमा बगाउँदै हामी दुई नारायणी टहल्न निक्ल्यौँ।

घुमेर होटलमा पुगुन्जेलसम्म पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउने साहित्यकारहरुको उपस्थिति होटलमा भइसकेको थियो। हेटौँडाका कवि जनार्दन खनाल सरसँग यहाँभन्दा अगाडि नुवाकोटमा भेट भएको थियोे।उहाँले भुल्नु भएको रहेन छ मलाई। सम्झाएपछि उहाँले य हो तनी भन्दै अँगालोमा बेरीन पुग्यौँ । पत्रकार पनि हुनुहुदो रहेछ जमुना श्रेष्ठ उहाँ धरानबाट चितवन कार्यक्रमकै लागि पुग्नु भएको थियो। पोखरबाट शिव त्रिपाठी सरको पनि आगमन भएको थियो । हुन त उहाँसँगको भेट पहिलो थियो तर उहाँको कुरा गर्ने ठट्यौली शैलीले हामी कुनै जमानाका पुराना साथी हौँ झै लाग्थ्यो। परिचयले परिचित साथीलाई पनि कुनै कालखण्डपछि भुल्न सकिन्छ तर शिव सरको आत्मियता प्रकट गर्ने गतिविधिले अर्को जुनिमा पनि उहाँलाईभुल्न सकिँदैन।

गुरु महेन्द्रकुमार मल्लसँग बिहान भएको सम्वादमा गल्छी पुगेको कुरा जानकारी भएको थियो। काठमाडौंँबाट चितवन आउने सम्मानित कवि भैरवी भूगोल , कवि होमनाथ दाहालको पनि आगमन भइसकेको थियोे। अझै गुरु लगाएत , साहित्यकार देवी नेपाल र साहित्यकार ओम रिजाल दाइको आगमन भएको थिएन।

म उहाँहरुकै पर्खाइमा घरी बाहिर घरी भित्र मुसाझैँ दगुरी रहेको हुन्थे। पर्खाइमा आँखा थाके पनि मन नथाक्ने रहेछ। केही बेरपछि होटलको आगनमा गुरु महेन्द्र मल्ल र साहित्यकार देवी नेपालज्यु झुल्के घाम झैँ झुलुक्क झुल्केपछि मन फुरुङ्ग भयो। फुरुङ्ग मन खङ्ग्रिन नपाउँदै गुरुलाई सोधी हालेँ खैत ओम दाइ। गुरुको जवाफ थियोे भोलि मात्रै कार्यक्रम भेटाउन आउने रे। कुरा बुझ्दा काठमाडौँबाटै आएको रहेछ उहाँको जम्बो टिम। मकवानपुरमा सरकारी कामकाज गर्नुपर्ने भएकाले उहाँ उतै लाग्नु भएको रहेछ। मन खङ्ग्रियो र चित्त बुझाउनुको विकल्प पनि त थिएन ।

नारायणीतिर नजर दौडिएँ। सागर भेटाउन हतारमा दौडिएको नारायणी नदी पनि केही माथी अशान्त अवस्थामा थियो। स्टिमबरका पखेटाले पानीको शरीर चिरेर पर्यटकलाई खुसी बनाएको नारायणी पनि पुलनजिक पुगेपछि सङ्लिएर शान्त हुँदै बग्दै थियोे।मनलाई जति सङ्लो बनाउन सक्यो आखिर उति नै शान्ति मिल्ने रहेछ। हामी त मान्छे हौँ कदम कदममा सङ्लिएरै हिँड्नु पर्छ।

यसरी त देवी नेपाल नाम नेपाली साहित्यमा नचिन्ने को होला र ? साहित्यकार देवी नेपाल नेपाली साहित्यको जङ्गे खम्बा हुन भन्दा अतिशयुक्ति नहोला। एक बर्ष अघि सुमित्रा सुमिज्यूले नुवाकोट र रसुवामा गर्नु भएको साहित्य महोत्सवमा प्रत्यक्ष भेट रसुवामा भएको थियोे। औपचारिक रुपले त्यस बेला नमस्कार गर्ने बाहेक अरु केही कुराकानी भएन ।

गुरु महेन्द्र मल्लले सिढि चढ्दा खानेखुसी गर्दै भन्नु भएको थियोे, देवी सरल मान्छे रहेछन् धिरेन। कोही कसैसँग नजिक भएन भने मान्छे चिन्न गाह्रै हुने विषय हो । रुम नम्बर ४०७ मा उहाँहरुको झोलाले विश्राम लिएपछि बल्ल परिचय भएको थियोे देवी सरँसग। उहाँका कुरा सुनेर मन अघाएन कुरा सुनेर कान भरिएनन्। जति सुने पनि सुनिरहूँ लाग्यो ।

अर्काले बोलेको कुरालाई गौर गरेर सुन्ने र मृदुल शैलिमा उत्तर दिने कुराले मन लोभ्यायो । उहाँसँगको यात्रामा पैदल पैदल हिडेर सगरमाथा भन्दा पनि अग्ला चुचुराहरु छिचोल्न पाए आनन्दको अनुभूति कस्तो हुन्थ्यो होला ? मनले मनसँग प्रश्न गर्यो । मन बायुपङ्खी घोडा भएर साहित्यको सागरमा सयर गर्यो। सबैभन्दा ठुलो कुरा आत्मीयता रहेछ । आत्मियता गलेपछि माया बन्ने रहेछ। अघिसम्म सर भनेर सम्बोधन गर्थे म। बसाइँको सानो पलेटी भित्रै हामी दाजुभाइ भइसकेका रहेछौँ।

खाना पाकेको संकेत वइटरले दिए पछि हामी डाइनिङ्ग हल झर्यौ। देशभरबाट आएका साहित्यकारहरुको भिड थियोे डाइनिङ्ग हलमा। डाइनिङ्ग हलको एउटा कुनामा लामालामा दाह्री भएका कुनै महात्मा झै लाग्ने मध्यम उमेरमा मान्छे थिए। उहाँको नाम रहेछ डमरु बल्लभ। उहाँसँगको परिचयले पूर्वमा अर्को साथी थपिएको महसुस भयो। उहाँ सुनसरीको हुनुहुँदो रहेछ। तस्बिर खिच्ने र सेल्फी लिने अभ्यासपछि खाना खाने कामले पूर्णता पाएपछि सबै आआफ्नो रुमतिर लाग्यौँ।

अनिदो धेरै भयो भने चाँडै निद्रा नपर्ने रहेछ। धेरैबेरसम्म प्यासी माछा झैँ ओल्टोकोल्टो फेर्दै बिस्तारमा पछारी रहेँ। मान्छे निदाएको कुराले फरक पारेन चितवनको सहरसंँगै हाइवे रोडले निदाउने तरखर गरेपछि कतिखेर निदाए थाह भएन। मान्छेको मुखबाट ग्यालरीमा निस्केको आवाजसँगै निद भङ्ग भयो। सूर्यनारायण कोठाभित्र छिरी सकेका रहेछन्।

हतारहतारमा कोलगेट ब्रस, टाबेल लिएर बाथरुम पसे। बिहानको नित्य कर्मले सार्थक्ता पाएपछि रुम देखि होटलको तल झरेँ। साहित्यकारहरु चियाको चुस्कीमा डाइनिङ्ग हलमा गफिदै थिए। साहित्यकार ओम रीजालज्यूको पनि आगमन भइसकेको थियोे । गुरु महेन्द्र मल्ल, देवी नेपाल र पंक्तिकार सहित चार जना लेखराम सापकोटाजीलाई भेट्न उहाँकै पसल सम्पूर्ण किताबघर प्रस्थान गर्यौँ। कार्यक्रम समय नजिकिँदै गर्दा केही भलाकुसारी र छोटो बसाइँ पछि होटल तिरै फर्कियौँ। बिहानको ११ बजेदेखि उद्योग वार्णिज्य संघ चितवनको सभाहलमा कार्यक्रम हुने कुरा तय भएकाले खानपानपश्चात् कार्यक्रम स्थलतिरै ओइरियौँ सबै साहित्यकार।

देशभरबाट जम्मा भएका साहित्यकारसँगै चितवन र गैँडाकोट वरपरका साहित्यकारहरुक उपस्थितिले सभाहल भरिएपछि पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछानेले उद्घोषकको जिम्मा लिएसँगै संस्था उपाध्यक्ष हुसैन खाँ ले सभाकोअध्यक्षता ग्रहण गर्नुभयो। सीताराम कोइरालाले स्वागत मन्तव्यबाट स्वागत गरेपछि कार्यक्रमले गति लियो। कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो मध्यपश्चिम विश्वविद्यालय सुर्खेत, कर्णाली प्रदेशका पुर्व रजिस्टार डा. महेन्द्रकुमार मल्ल,विशेष अतिथी तथा सम्मानित श्रष्टा डा. देवी नेपाल,विशेष अतिथि माननीय सांसद गीता वाग्ले, भरतपुर नगरपालिका प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी ,रत्ननगर नगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामबाबु धिमिरे, गैँडाकोट नगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्दराज आमोदी, विराटनगर प्रज्ञाप्रतिष्ठानमा सचिव दिनेश राज सुवेदी ,पल्लव साहित्य प्रतिष्ठानका सल्लाहकार केशबराज विनोदी,चितवन साहित्य परिषदका अध्यक्ष केदारनाथ खनाल,त्रिवेणी साहित्य समाजका अध्यक्ष इन्द्रराज पौडेल,सप्तरङ्गी साहित्य समाज सुनसरीकाका सल्लाहकार डमरु बल्लभ, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा गजलकार दाजु पुष्प अधिकार अञ्जलि, कविडाँडा साहित्य समाजका अध्यक्ष एल वि क्षेत्री, सम्मानित श्रष्टा लोक गाइका हरिदेवी कोइराला,ओम रिजाल, ज्ञानराज सुवेदी, उमा कार्की, भैरवी भूगोल, विमल पौडेल, चिरञ्जीवी दाहाल, र पंक्तिकारलाई पनि अतिथिकै रुपमा सहभागी रहेको हुलमा अतिथिकै रुपमा उदय अधिकारी सर, लेखराम सापकोटा, जनार्दन खनाल, शान्ति अधिकारी होमनाथ दाहाल लगायत देशभरबाट जम्मा भएका पाँच दर्जन भन्दा बढी साहित्यकारहरुलाई अतिथिको रुपमा स्वागत गरिएको थियो।

मिना भाउजू लगायत उहाँकी बुहारीहरु क्रमस कल्पना, वसन्ती, सुष्मा र छोरी सुभद्रा, छोरा द्वय र नातिनातिनी अतिथि सत्कारको खटन पटनमा खटिएको कार्यले कुनै पनि साहित्यकार माथि सम्मानको अभाव देखिएन।कार्यक्रम सुन्ने भन्दा पनि सपरिवार अतिथि सत्कारको लागि रुद्राक्ष र फुलमालाले स्वागत गर्नमै दिनभर व्यस्त रहनु भयो। माइकको नजिक गएर बोल्दा आवाज झ्यारझ्यार आउने भएकाले गोर्खे साइँला दाजुको आवाज बुझिएको थिएन।

माइककै नजिक जाने दाजुको बानी रहेछ। मिना भाउजु नजिक जानबाट साइँला दाजुलाई बेलाबेलामा रोकि रहनु हुन्थ्यो। आफूले आयोजना गरेको कार्यक्रम सफल होस् जो पनि चाहन्छ। सायद मिना भाउजूको मनले पनि यही सोचेको थियोे होला। कार्यक्रम नसकुन्जेलसम्म भाउजू सिरियस मोडमै हुनुहुन्थ्यो। भाउजूका नजरहरु कार्यक्रम स्थलको हलभरी पोखिई रहेका हुन्थे। जसको नाममा पुरस्कार स्थापना गरिएको थियोे उहाँहरुको तस्बिर मञ्चको अगाडि राखिएको थियो। हतारमा उहाँहरुको तस्बिरमा माल्याणर्पण गर्ने कार्य छुटेको थियोे। भाउजूले नै साइँला दाजुलाई सुझाएपछि प्रमुख अतिथिज्यूले माल्याणर्पण गरेपछि ड्यासमा बसेका सबै अतिथि उठेर श्रद्धाञ्जली प्रकट गरेका थियौँ ।

पश्चिम नेपालतिर छन्दमा कविता श्रवण गर्ने मौका कमै पाइन्छ । स्वतन्त्र लयमा लेखिने गजल र कविताको बाढी नै छ हाम्रोतिर । चितवनमा छन्दमा लेखिएका कविता आस्वादन गर्ने मौका पहिलो पटक जुर्यो। तीन दर्जन भन्दा बढी साहित्यकारका रचना र मन्तव्य श्रवण गरेपछि समयले लामा खुड्टा बनाएर नारायणी तरिसकेको थियोे ।

नदी माथि थियोे केबल डुब्दै गरेको सूर्यनारायणको साँझतिरको मलिन छाँया। छाँया लामो भएपछि दिन डुब्ने रहेछ र डुब्ने रहेछ मान्छेको एक दिनको आयु पनि।

घाम डुबेसँगै सभापतिको निर्देशनमा पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष एवम उद्घोषक ऋषिप्रसाद लामिछाने गोर्खे साँइलो दाजुले कार्यक्रम समापन भएको घोषणा गर्नु भयो। समापन पछि हलबाट बाहिरिँदै थिएँ। धिरेन बाबु भन्ने मिना भाउजूको मुखबाट उच्चारण भएको आवाजले रोकिँए ढोका नजिकैको कुनामा । वर्गाकार कागजको बट्टामा भित्र राखिएको वस्तुलाई हातमा थमाउँदै भन्नुभयो यो तपाईंले पाउनु भएको छैन लिनुस्। अघिसम्म यस्तै बट्टामा खानेकुराका परिकारहरु हल भित्र आएका थिए।

त्यस्तै वस्तु होला भनी नसोधेरै हातमा लिएँ उपहारमा प्राप्त पुस्तक र सम्मान पत्र हातमा झुण्डाउँदै बाहिर निक्लदै थियौँ गुरु र म। अनमोल लामिछाने सरले कारमा होटलसम्म पुर्याइदिनु भयो। पूर्व जाने साहित्यकारहरु धेरै जसो प्रस्थान गरिसक्नु भएको थियोे। औँलामा गन्ने मात्रै बाँकी थिए। पोखरा , काठमाडौं जाने साहित्यकार पनि बाटो लागि सक्नु भएको थियो।

भोलि बिहान मात्रै भैरहवा जानुपर्ने भएकाले म एक्लै हुने देखेर गुरु महेन्द्र मल्ल र दाजु डा. देवी नेपालले पनि काठमाडौँ जाने निर्णयलाई स्थगित गर्नुभयो। तिमिलाई साथ दिन हामी आज यतै बस्ने भयौँ गुरुले भने पछि मन चङ्गाझै फुरुङ्ग भएर हावामा पङ्ख फिजाउँदै दौडियो।

लेखरामजीले डिनरको बन्दोबस्त नारायणी रिसोर्ट गैँडाकोटमा गर्नु भएको रहेछ। उदय सर, लेखराम जी , गुरु महेन्द्र मल्ल, देवी नेपाल दाजु र नारायणी रिसोर्टका साहु लगायत हामी नारायणी तरेर गैँडाकोट लाग्यौँ। नेपाली साहित्य र साहित्यको विबिध बिधामा लामो कुराकानी र छलफल भयो।

उदय सरका तार्किक कुरा र उहाँले हिन्दी भाषामा लेख्नु भएको कविताले मन खिच्यो। लेखराम सरका गजल सुन्ने अवसर पहिलोपटक जुर्यो। उहाँ नारायणी रिसोर्टको मालिक मात्रै हुनुहुदो रहेनछ पत्रकार पनि हुनुहुदो रहेछ। सिक्दै गरेको गजलमा पनि उहाँको भाव पक्षको उठान अब्बल थियो। देवी नेपाल दाजुले छन्दमै कविता र गजल गाएर सुनाउनु भयो।

गुनगुनाउनु भयो गुरु ले पनि गितका टुक्का। गजल वाचन गरेर अलिकति महफिलको आगोमा मैले पनि ध्यु थपेँ । सुन्दर बसाइँ पछि पुनः हेभनमै फर्कियौँ हामी। त्यहाँ आएर पनि चाँडै निदाउन सकेनौँ। अवेरसम्मको बसाइँमा आत्मियता बाड्यौँ मधुरसमा । घडीले १ बजायो। निदले पनि आँखामा हस्तक्षप गरेपछि आआफ्नो रुममा गएर निदायौँ। बिहानै गुरु महेन्द्र मल्ल र दाजु देवी नेपाल काठमाडौँ प्रस्थान गर्नुभयो।

म भने केदारनाथ रिजाल रोगकुमारी, गुणकुमार रिजाल सम्मान पत्र काखमा राख्दै भैरहवाको आकाश नाप्दै पश्चिम लागेँ। भैरहवा र नेपालगन्जको बसाइँ पश्चात् सुर्खेत पुगेँ छैठौं दिनमा । हतार हतारमा मिना भाउजूले हातमा थमाउनु भएको नासोलाई झोलाबाट खोली हेरेँ, बट्टा भित्र थियोे सुन्दर कप। कपको मुटुमा लेखिएको थियोे राता अक्षरले मायाको चिनो।

मान्छेको रगत पनि त रातै हुन्छ। मुटुमा रगत नभएको मान्छे कहाँ सजिव प्राणीमा गनिन्छ र ? सजिव प्राणीले नै हो सम्बन्ध स्थापित गर्न सक्ने। तब पो एकआपसको सम्बन्ध अमर रहन्छ। भाउजू मिना लामिछाने, दाजु ऋषिप्रसाद लामिछाने गोर्खे साइँलो र चितवनले दिएको अपार प्रेम प्रति नतमस्तक हुँदै पल्लभ साहित्य प्रतिष्ठान प्रति ऋणी छु ।

 

प्रकाशित मिति : २०८१ पुस ७ गते आइतबार