कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद तयारीका लागि काठमाडौँमा सचिवालय



कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको तयारीका लागि काठमाडौंमा सचिवालय स्थापना गरिएको छ ।

राखेप भवन त्रिपुरेश्वरमा स्थापना गरिएको सचिवालयको बुधबार खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका छन् ।

खेलकुद प्रतियोगिता चैत्र २३ गतेदेखि ३० गतेसम्म कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद २०८१ आयोजना हुँदै छ ।

राष्ट्रिय खेलकुदलाई सफल बनाउनका लागि आवश्यक कामकाजलाई सहजीकरण गर्न काठमाडौंमा नै सचिवालय स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

सचिवालयको उद्घाटन गर्दै खेलकुदमन्त्री चौधरीले माघ ३ गते राखेप बोर्डको बैठक बोलाइएको र बैठकमा १०औँ राष्ट्रिय खेलकुदका विषयमा विस्तृत छलफल हुने बताए ।

उनले राष्ट्रिय खेलकुदलाई भव्य रूपमा सम्पन्न गर्नका लागि बजेटको अभाव नहुने भन्दै यसअघिको भन्दा भव्य रूपमा सम्पन्न गर्ने जिकिर गरे ।

मन्त्री चौधरीले २७ वटा संघमध्ये कतिपय संघ सक्रिय नरहेको अवस्थामा संघलाई कारबाही गरेको र त्यसकै कारण प्रशिक्षक र खेलाडीरुलाई कुनै असर नपर्ने बताए ।

त्यस्तै, राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलकुदका लागि प्रदेशले छनोट कार्यलाई अन्तिम चरणमा पुर्याएको बताए । प्रतियोगितामा सहभागी विभिन्न टोलीलाई आवश्यक बजेट उपलब्ध गराउने र टोली व्यवस्थापनको जिम्मेवारी पनि उनीहरूलाई नै दिइने जानकारी उनले दिए ।

 

प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार