अर्जुन ट्रफी बिजेतालाई दस लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त



अर्जुन ट्रफी राष्ट्रिय टी–२० प्रतियोगिताको उपाधि फ्रेन्डस् युथ क्लब सीवाईसी अत्तरियाले उचालेको छ । डडेल्धुरालाई हराउँदै अत्तरियाले ३४ रनले हराएको हो ।

डडेल्धुराका लागि गजेन्द्र बोहोराले २४ रन र कुशल भुर्तेलले २० बनाए । अत्तरियाका शाहब आलमले तीन विकेट लिए । यस्तै दिपेश कँडेल, कमल गुप्ता र विवेक यादवले समान दुई विकेट लिए ।

अत्तरियाले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा अलआउट भयो । धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले नौ विकेट गुमाएर एक सय १८ रन बनायो ।

अत्तरियाका लागि रशिद खानले अविजित ३१ रन बनाए । यस्तै सन्तोष कार्की र शङ्कर रानाले समान २० रन बनाए । धनगढीका अभिषेक गौतमले चार विकेट लिए । यस्तै कुशल भुर्तेल र अजय चौहानले समान एक विकेट लिए ।

प्रतियोगिताको विजेता अत्तरियाले १० लाख र उपविजेता बनेको डडेल्धुराले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । अत्तरिया डीसीए धनगढीलाई र डडेल्धुरा न्यू होराइजन बुटवललाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमबार