लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकाे हाे: मुख्यमन्त्री कँडेल



सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राज्यशक्तिको स्रोत जनता मात्र भएकाे बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा वीरेन्द्रनगरमा आयाेजित कार्यक्रममा बाेल्दै कँडेलले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने बताए ।

साेही मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले उनकाे भनाइ छ।

‘आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण छ,’ उनले भने, ‘आजको यस दिनले हामी सबैलाई लोकतान्त्रिक मूल्य, मान्यताहरु अवलम्वन गर्दे जनताका अपेक्षाहरु पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैले बनाएको पनि कँडेलले बताए ।

‘वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग विक्रम संवत् २००७ सालको क्रान्ति थियो भन्ने हामीले बिर्सन हुदैंन,’ उनले भने, ‘प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ।’

नेपाली जनताको सात दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानले लिएको यो लक्ष्य जनस्तरमा परिवर्तनको महशुस गराउन सके मात्र प्राप्त गर्न सक्छौं भन्ने यर्थाथतालाई बिर्सनु नहुने उनकाे भनाइ छ।

प्रकाशित मिति : २०८१ फागुन ७ गते बुधबार