प्रधानमन्त्रीले कर्णालीलाई ‘मध्यपश्चिम प्रदेश’ भनेको विषय प्रदेश सभामा



सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई ‘मध्यपश्चिम प्रदेश’ भनेको विषयले मंगलबारको प्रदेश सभा बैठकमा प्रवेश पाएको छ ।

शुक्रबार कर्णाली प्रदेश सभालाई सम्बोधन गर्न आएका ओलीले मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दा ‘मध्यपश्चिम प्रदेशका मुख्यमन्त्रीज्यू’ भनेर सम्बोधन गरेका थिए ।

त्यसपछि अकमकिएका उनलाई पत्रकारहरूले मध्यपश्चिम नभइ कर्णाली प्रदेश भनेर सम्झाएका थिए ।

प्रधानमन्त्रीजस्तो व्यक्तिले प्रदेशकै नाम थाह नभएको भन्दै उनको व्यापक आलोचना भइरहेको छ ।

मंगलबारको प्रदेश सभा बैठकमा प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला विश्वकर्माले उक्त विषयबारे प्रश्न उठाइन् । प्रधानमन्त्रीलाई नै प्रदेशको नाम थाह नहुनु दुखद पक्ष रहेको उनको भनाइ छ ।

‘प्रधानमन्त्री भइसकेपछि प्रदेशको नामै थाह नहुने, यो अली सुहाउँदो विषय भएन,’ उनले भनिन्, ‘कर्णाली प्रदेशलाई ‘मध्यपश्चिम प्रदेश’ र पश्चिम रुकुमलाई ‘पूर्वी रुकुम’ भनेर सम्बोधन गर्न भ्याउनुभयो ।’

प्रधानमन्त्रीलाई देशको अवस्था के छ ? कहाँ के भइरहेको छ ? त्यसको सामान्य ज्ञान हुन जरुरी रहेको विश्वकर्माको भनाइ छ । माओवादीले ओलीलाई संघीयता मन नपरेको आरोप लगाउँदै आएको छ । प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै ओलीले संघीयता कार्यान्वयनमा प्रतिबद्धता जनाउनेमा अपेक्षा भएपनि त्यस्तो विषयमा प्रवेश नै नगरेको उनले बताइन् ।

‘नमिलेका विषयलाई सम्बोधन गर्नुको साटो उहाँले प्रदेशबारे अध्ययन नै नगरी बोल्नुभयो,’ उनले भनिन् ।

ओलीले कर्णालीमाथि कुठाराघात गर्ने काम गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ फागुन २८ गते बुधबार