एमयु स्ववियु चुनावः स्वतन्त्रदेखि दलका विद्यार्थी संगठन एक्लाएक्लै मैदानमा



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा चैत्र १८ गते हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारदेखि विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरु मैदानमा होमिएका छन् ।

यो पटक सबै सङ्घ/संगठनहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएकाले चुनावी प्रतिपस्पर्धा रोचक बन्ने देखिएको छ । ९ वटा विद्यार्थी सङ्घ/संगठन दर्ता भएका छन् भने एक जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।

विशेषगरी एमाले, माओवादी र कांग्रेस निकट विद्यार्थी संगठनहरुले स्ववियु चुनावलाई प्रतिष्ठानको विषय बनाउँदै आएको विश्वविद्यालयमा यो पटक स्वतन्त्र उम्मेदवार मिलन विसीले माहोल बढाउँदै लगेको चर्चा हुन थालेको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा लामो समयपछि चुनाव हुने भएकाले दलहरुले पनि स्ववियु चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । कर्णालीमा मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पस ठुला शैक्षिक संस्था हुन् । चैत्र ५ गते हुने भनिएको सुर्खेत बहुमुखीको चुनाव स्थगित भएको छ ।

त्यसपछि विश्वविद्यालयको स्ववियु चुनावमा सबै दलहरु अग्रसर भएका छन् । दलका प्रदेश स्तरिय नेताहरु नै विश्वविद्यालय पुगेर मतदाता प्रभावित पार्ने काममा देखिन्छन् ।

४ हजार ३८३ मतदाता संख्या रहेको विश्वविद्यालयमा १७ सदस्यीय कार्य समिति रहन्छ ।

अहिले नेपाली कांग्रेस र नेकपा एमालेबिच गठबन्धन छ । तर मध्यपश्चिम विश्वविद्यालयमा भने विद्यार्थी संगठनहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् । संगठनहरुले विभिन्न एजेण्डामार्फत मतदातलाई आकर्षित गरिरहेका छन् ।

एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियू) बाट जगतजंग शाही उम्मेदवार छन् । उनी उक्त संगठनका प्रदेश कमिटी कोषाध्यक्ष समेत हुन् ।

शिक्षामा गुणस्तर सुधार गर्न संघर्ष गर्ने, महिला विद्यार्थीलाई सेनेटरी प्याडको व्यवस्थापन, गरिब, जेहेन्दार, विपन्न विद्यार्थीलाई छात्रवृत्ति कोष स्थापना गर्ने, विद्यार्थीको लागि स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गर्ने, छात्राबासको व्यवस्थापन, अन्तराष्ट्रिय शैक्षिक भ्रमणको आयोजना गर्ने, कानुन फर्म सञ्चालन गर्ने, प्राविधिक धारको शिक्षालाई ध्यान दिने, एआई कक्षा सञ्चालन गर्ने लगायतका एजेण्डा शाहीका छन् ।

उनको टिमबाट सचिवमा भुपेन्द्र भण्डारी, कोषाध्यषमा विक्रम सिं मन्दिर मगर, सदस्यमा हिमाल उपाध्यक्ष, सुन्दर शाही, ढाकाराम लामिछाने, पंकज रेग्मी, रमेश खत्री, हस्त रोकाया र श्रवण खत्री उम्मेदवार छन् ।

माओवादी निकट अखिल (क्रान्तिकारी)बाट अध्यक्ष पदका उम्मेदवार छन्, २४ वर्षीय प्रकाश विक । १८ वटा चुनावी प्रतिबद्धतासहित उनको संगठन चुनावी मैदानमा छ । शिक्षामा सिपमुखी, प्रयोगात्मक, अनुसन्धानमुखी तथा व्यवहारीक हुने नवीनतम पाठ्यक्रम संशोधन र विकासमा पहल गर्ने, विश्वविद्यालयको व्यवस्थित शैक्षिक क्यालेण्डर, नतिजा प्रकाशन भएको एक हप्ताभित्र विद्यार्थीले जुनसुकै कागजात मागेको २४ घण्टाभित्र उपलब्ध गराउने व्यवस्था, गरिब, विपन्न विद्यार्थीलाई छात्रवृत्तिको सुनिश्चित गर्ने, प्रत्येक संकायमा सुविधा सम्पन्न हेल्थ सेन्टर स्थापनाा गर्ने, वर्षमा दुई पटक हरेक विद्यार्थीको निशुल्क स्वास्थ्य चेकजाँच लगायतका एजेण्डा अखिल (क्रान्तिकारी)का छन् ।

विकको टिमबाट सचिवमा मोहन चौलागाइँ, कोषाध्यक्षमा दीप बहादुर सुनार, सदस्यमा रेखा बोहरा, रमेश शाही, संस्कृति विष्ट, गगनबहादुर थापा, रोशन रोकाया, जनक बुढा, निश्चिल बस्नेत उम्मेदवार छन् । कांग्रेस निकट नेविसंघबाट विवेक खड्का अध्यक्ष पदको उम्मेदवार छन् । यस्तै सचिवमा भुपेन्द्र आचार्य, कोषाध्यक्षमा लोकप्रसाद रिजाल तथा सदस्यहरुमा विकास कुमार थापा, निशान्त शाही, शिव ढकाल, गणेश थापा, प्रतिक्षा थापा, विष्णुराज सिंह, प्रकाश सिंह रहेका छन् ।

नेविसंघले ११ वटा बुँदामा ५० बढी एजेण्डाहरु सार्वजनिक गरेको छ । सबै विद्यार्थीको अनिवार्य निःशुल्क स्वास्थ्य बीमा, चमेनागृहको निर्माण तथा सञ्चालन, हरेक क्याम्पसमा आवश्यक उपकरण र स्वास्थ्यकर्मी सहितको हेल्थ सेन्टर लगायतका विषयहरु रहेका छन् ।

अध्यक्षका उम्मेदवारहरु सबैले चुनाव जित्ने दाबी गर्छन् । विशेषरी तीन ठुला संगठन अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र नेविसंघबिच कडा प्रतिस्पर्धा हुने विद्यार्थीहरु बताउँछन् । नेविसंघलाई आफ्नो पुरानो साख बचाउनुपर्ने चुनौती छ । अखिल (क्रान्तिकारी)बाट अध्यक्ष उम्मेदवार रहेका विकले आफु नियमित विद्यार्थी भएको र सबै विद्यार्थीले आशा गरेका कारण चुनाव जित्ने बताउँछन् ।

यस्तै नेविसंघबाट अध्यक्षका उम्मेदवार विवेश खड्कापनि नेविसंघ नै विद्यार्थीको रोजाइको संगठन भएकाले चुनाव जित्ने बताउँछन् भने अनेरास्ववियुका उम्मेदवार शाही पनि जित्ने भनेरै मैदानमा होमिएको बताउँछन् ।

यस्तै यो पटक स्वतन्त्र उम्मेदवार मिलन विसीले पनि चुनावजी रौनक बढाएका छन् । राजनीतिक दलका भातृ सङ्गठनलाई चुनौती दिने भन्दै उनी मैदानमा होमिएका छन् ।

 

 

प्रकाशित मिति : २०८१ चैत १६ गते आइतबार