
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूँजीगत बजेट कार्यान्वनको गति बढाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन्।
चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकको प्रगति समिक्षामा मुख्यमन्त्री कडेलले बजेट कार्यान्वयमा बाँकी अवधि महत्वपूर्ण हुने भएकोले बजेट कार्यान्वनको स्प्रीड बढाउन निर्देशन दिएका हुन् ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । लक्ष्य अनुसार प्रगति हासिल हुन नसकेपछि मुख्यमन्त्री कडेलले हिजोको भन्दा जनशक्ति पर्याप्त हुँदा पनि पर्याप्त रिजल्ट नआउनुको कारणबारे सचिवहरुलाई प्रश्न गरे ।
उनले भने, ‘पहिला जनशक्ति पर्याप्त थिएन भनरे काम रोकिन्थे तर अहिले पर्याप्त जनशक्ति हुँदा पनि किन रिजल्ट निस्कन सकेन? समिक्षा गर्ने पर्छ ।’
सुशासन र बजेट कार्यान्वयनमा अथक प्रयास गरेपनि सन्तुष्टी मिल्ने गरि प्रगति हासिल गर्न नसकिएको तर्फ मन्त्री तथा सचिवहरुको ध्यानाकर्षण गराए । उनले भने, ‘हामीले साउनदेखि जुन हिसाबले मेहनत गरिरहेका छौँ तर मेहनतको प्रतिफल प्राप्त गर्न सकेनौँ ।’
आफना विषयगत मन्त्रालयको काममा चिठी मात्र पठाएर ढुक्कसँग बस्ने परम्पराले कतिपय कामहरु अलपत्र परेको बताउँदै मुख्यमन्त्री कडेलले सरकारी काम भएपनि ताकेत गर्न छोडन नहुनेमा जोड दिए ।
कँडेलले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्न समेत निर्देशन दिए । उनले परम्परागत बजेट र कार्यक्रम भन्दा जनताले अनुभूति हुने गरि बजेटको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिए ।
अनुशासनको नाम काम अडकाएर राख्ने नभई थिति बसाल्ने र मन्त्रालयले निकास निकाल्ने गरि काम गर्न पनि मुख्यमन्त्री कडेलले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिए ।
यसैविच कँडेलले प्रदेश अर्न्तगत आयोजनाहरुको काम परिणाममुखी नदेखिए ठेक्का तोडेर नयाँ प्रक्रिया शुरु गर्ने बताएका छन् । भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको प्रदेश अर्न्तगत निर्माणाधीन आयोजनाहरुको समीक्षा कार्यक्रममा मुख्यमन्त्री कडेलले कानून अनुसार ठेक्का बोलकबोल गरेर नियमानुसार पेश्कीसमेत लिईसकेपछि काम सम्पन्न गर्ने जिम्मेवारी निर्माण व्यवसायीको हुने भएकोले बाहानाबाजी गर्ने छुट नभएको बताए ।
लामो समय नभएकोले अवको बाँकी समयमा दु्रत गतिका काम सम्पन्न गराउने तर्फ लाग्न उनले सम्बन्धित मन्त्रालय र निर्माण व्यवसायीलाई निर्देशन दिए ।
काम गरेको नियमानुसार भुक्तानी गर्न सरकारलाई कुनै अप्ठयारो नरहेको बताउँदै मुख्यमन्त्री कँडेलले नियमानुसार ठेक्का लिइसकेपछि समयमै सम्पन्न गर्नुपर्छ भन्ने विषयमा सचेत हुन पनि सम्बन्धित पक्षलाई आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्