शिक्षक आन्दोलन झडपमा परिणतः ऋषि धमलाको टिभीमा कार्यरत पत्रकारको आँखामा गम्भीर चोट, प्रहरीले बोकेर लग्यो अस्पताल



आइतबार दिउँसो शिक्षकको आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ ।

रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो ।

त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो ।

लगत्तै सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले उनलाई बोकेरै अस्पतालतर्फ लगेका थिए ।

प्रदर्शनस्थलबाट प्रहरीको गाडी भएको ठाउँसम्म कार्कीलाई प्रहरीले आफैं बोकेर लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

कार्की प्राइम टेलिभिजनकी पत्रकार हुन् । उक्त टेलिभिजन ऋषि धमलाकाे हाे ।

प्रहरीले हानेको पानीको फोहोराले कार्कीको आँखामा चोट लागेको प्राइम टेलिभिजनका प्रशारण निर्देशक राजु भण्डारीले जानकारी दिए ।

‘अहिले उनको तिलगंगामा उपचार भइरहेको छ । आँखाको परेलामुनि पट्टी गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुको २६ औं दिनको प्रदर्शनमा आज प्रहरीसँग झडप भएको थियो ।

प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ ।

तर शिक्षक महासंघका नेताहरुले भने आफूहरूले शान्तिपूर्ण प्रदर्शन गरेको तर सरकारले घुसपैठ गराएर झडपको स्थिति सिर्जना भएको आरोप लगाएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख १४ गते आइतबार