
सुर्खेत । चिसोको समय सुरु भइसकेको छ । जाडो महिनामा बालबालिकाहरुलाई राम्रो हेरविचार गरिएन भने उनीहरुमा रुघाखोकी, सिजनल फ्लु, मौसमी झाडापखाला, पेट र स्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्छन् ।
यस्ता खालका संक्रमणबाट जोगाउन सकिएन भने उनीहरुमा निमोनिया भइ मृत्यु हुने खतरा समेत हुन्छ । जाडोको समयमा बालबालिकामा सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ ।
जाडोको समयमा धेरै अभिभावकको चिन्ता एउटै हुन्छ, आफ्ना बालबालिकालाई कसरी चिसोबाट जोगाउने ? चिसोको समयमा बच्चा बिरामी भइहाल्छन् कि वा निमोनिया हुन्छ कि भन्ने डर सबै अभिभावकमा हुन्छ ।
चिसोको समयमा नवजात शिशु तथा बालबालिकामा हुने स्वास्थ्य समस्या र यसबाट बालबालिकालाई कसरी जोगाउने भन्ने विषयमा रहेर हामीले बालरोग विशेषज्ञ डाक्टर नवराज केसीसँग कुराकानी गरेका छौँ ।
प्रस्तुत छ, डाक्टर केसीसँगको कुराकानीको अंशः
चिसो मौसम सुरु भयो, यो समयमा बालबालिकालाई कस्तो खालका रोगको संक्रमण बढी हुन्छ ?
चिसोमा बालबालिकामा धेरै भाइरल रुघाखोकी र भाइरल निमोनिया फैलने सम्भावना बढी हुन्छ । घरभित्रकै ठुलो मान्छे तथा नजिकका अन्य बालबालिकाहरुमा देखिएको छ भने त्यहाँबाट सर्न सक्छ ।
यस्तो बेला जति सानो बालबालिका हुन्छ, जोखिम पनि उत्तिकै बढी हुन्छ । बालबालिकाको ‘इम्युनिटी’ कमजोर हुन्छ, त्यसैले कर्णाली प्रदेशका ग्रामिण ठाउँहरुमा रुघाखोकी र निमोनिया बढी हुन्छ ।
जाडो समयमा बालबालिकामा लाग्ने रोग तथा संक्रमणको कारण के–के हुन ?
जाडोको समयमा जमिनको नजिक अर्थात तल्लो हाइटमा रहने वायुमा धुलो र सहरी क्षेत्रमा प्रदूषण बढ्ने हुँदा बालबालिकाहरुलाई दम रोगले अट्याक्ट गर्ने सम्भावना बढी हुन्छ ।
साना बालबालिकालाई स्वास्थ्यमा समस्या भएको अभिभावकले कसरी थाह पाउने ?
बालबालिकालाई देखिने भनेको पहिलो नम्बरमा ज्वरो हो । त्यसैले ज्वरो आयो, रुघाखोकी लाग्यो भने अब यिनीहरुलाई भाइरल इन्फिेक्शन भयो, सक्रमण भयो भन्ने बुझ्नुपर्छ । सास छिटोछिटो फेर्न थाल्यो, छाती र पेटको बिचको कोखा चाँडो चल्न थाल्यो भने निमोनियाले च्याप्यो है भन्ने बुझ्नुपर्छ । त्यस्तो बेला स्वास्थ्यकर्मी र नजिकैको स्वास्थ्य संस्थामा चेक गराउनुपर्छ ।
साना बालबालिकालाई रुघाखोकी लाग्दा औषधी खुवाइहाल्ने बानी हुन्छ, यो कत्तिको उपयुक्त हो वा होइन् ?
अलिकति रुघाखोकी लाग्दैमा सिधै औषधी खुवाइहाल्ने बानी राम्रो होइन । पहिला घरेलु उपचार पनि गर्न सकिन्छ । त्यसका लागि के गर्ने त भन्दा दुई कटौरा पानी उमाल्ने, उमाल्दै गर्दा पानीमा सानो टुक्रा अदुवा हाल्ने, अदुवासँगै पानी उम्लिँदै जान्छ, त्यसमा ६ वटाजति तुलसीका पत्ताहरु हाल्दिने र, आगो बन्द गर्दिने ।
त्यो पानी ५ मिनेटजति त्यत्तिकै सेलाउन दिनुपर्छ । यसरी बनेको अदुवा पानी–तुलसी पत्ता आधा कटौरा बिहान, आधा कटौरा दिउँसो र सोही मात्रामा बेलुकातिर खुवाएको खण्डमा औषधी भन्दा पनि राम्रो काम गर्छ ।
चिसोको समयमा कस्तो समस्या देखिए बालबालिकालाई तत्काल अस्पताल लैजानुपर्छ ?
ज्वरो आयो भने झोल सिटामोल खुवाउनुपर्छ र, चाँडोचाँडो सास फेर्न थाल्यो, निकै शिथिल देखियो अनि दुध कम खान थाल्यो भने त्यतिबेलामा स्वास्थ्यसंस्थामा जानुपर्छ र एन्टिबायोटिक खुवाउनुपर्छ । यो बेला बालबालिकालाई स्वास्थ्यसंस्थामा लैजानुनै पर्छ ।
हाम्रो बानी के छ भने केरा, स्याउ तथा अन्य फलफुलले खोकी लाग्छ, चिसो लाग्छ भन्ने गलत नजिर छ । यो गलत हो, फलफुल प्रशस्त मात्रामा खुवाउनुपर्छ ।
चिसोबाट लाग्ने संक्रामण रोगबाट बालालिकालाई बचाउने उपाय के–के हुन् ?
यो महत्वपुर्ण प्रश्न हो, पहिलो कुरा चिसोमा बालबालिकालाई मौसमी फलफुल खुवाउनुपर्छ । हाम्रो बानी के छ भने केरा, स्याउ तथा अन्य फलफुलले खोकी लाग्छ, चिसो लाग्छ भन्ने गलत नजिर छ । यो गलत हो, फलफुल प्रशस्त मात्रामा खुवाउनुपर्छ । अनि हरियो सागसब्जीले पनि चिसो लाग्छ भन्ने गरिन्छ, दुध खुवाइरहेका आमालाई पनि हरियो सागसब्जी खान दिइँदैन । त्यो पनि गलत हो । हरियो सागसब्जी र फलफुलमा भिटामिनमा ‘सि’ र अन्य भिटामिनहरु प्रशस्त पाइन्छन् ।
हेर्नुहोस् भाइरस शरीरमा गयो भने त्यसलाई निर्मुल पार्न शरीरलाई धेरै भिटामिन चाहिन्छ । शरीरको वृद्धिविकास तथा किटाणुसँग लड्न पनि भिटामिनहरु आवश्यक पर्छ । त्यसैले चिसो मौसममा चिसो लाग्छ भनेर सुन्तला, कागती, स्याउ लगायत फलफुल तथा सागसब्जीहरु बार्ने हैन झन धेरै खानुपर्छ । यसले गर्दा बालबालिकालाई कुनैपनि रोग संक्रमण हुनबाट बचाउँछ ।
बालबालिकालाई कसरी न्यानोमा राख्न सकिन्छ, उपाय ?
बालबालिकाहरुलाई अरुको जस्तो अर्थात् ठुलो मान्छेको जस्तो शरीर ढाक्ने कपडाले मात्रै पुग्दैन । टोपी अनिवार्य लगाउनुपर्छ । सबै जनाले यसो विचार गरौँ त बालबालिकाको टाउको शरीरको दाँजोमा ठुलो हुन्छ । अरु मान्छेको शरीर ठुलो टाउको सानो हुन्छ । किनभने शरिर हुर्किसकेको हुन्छ । त्यसैले टाउकोबाट शरीरको तापक्रम एकदमै धेरै नाश भैदिन्छ, त्यसबाट ताप हराउन सक्छ । त्यसैले बालबालिकालाई टोपी एकदमै आवश्यक हुन्छ । मोजा र पञ्जा पनि निकै महत्त्पुर्ण हुन्छ ।
अर्को कपडा लगाउदा एउटै बाक्लो कपडा भन्दापनि दुईवटा भित्र पातला र त्यस बाहिर बाख्लो लगाउनुपर्छ । त्यस्तै चिसोमा बालबालिकालाई पानी कम खान दिन्छौँ, त्यसो गर्नु हुँदैन पानी धेरै खान दिनुपर्छ र, झोलिलो कुराहरु बढी खान दिनुपर्छ । चिसो, बासी खानेकुराहरु खान दिनु हुँदैन । यसो गरेको खण्डमा बालबालिकाहरुलाई चिसोबाट बचाउन सक्छौँ ।
अर्को कपडा लगाउदा एउटै बाक्लो कपडा भन्दापनि दुईवटा भित्र पातला र त्यस बाहिर बाख्लो लगाउनुपर्छ ।
अन्तमा केही छुटेका कुरा
यदि गाउँघरमा कुनै बालबालिकालाई महिना–महिनामा रुघाखोकी लाग्ने समस्या भएको छ, चिसो आउने वित्तिकै रुघाखोकी लागेर स्याँस्याँ हुन्छ भने इन्फ्लुएन्जाको खोप लगाउनुर्छ ।
यो सरकारले लगाएको खोप भन्दा अतिरिक्त खोप हो, यो लगाएको खण्डमा निकै राम्रो हुन्छ । यो छुटाउनु हुँदैन । यो एक पटक लगाएपछि एक महिनापछि र त्यसपछि एक वर्षको अवधिमा लगाइन्छ । यसले मौसमी रुघाखोकीबाट बालबालिकाहरुलाई बचाउँदछ ।
प्रतिक्रिया दिनुहोस्