कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डाक्टर केशर ढकाल नियुक्त



सुर्खेत । कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डाक्टर केशर ढकाल नियुक्त भएका छन् ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो ।

यसअघि निर्देशकका रुपमा रहेका डाक्टर डम्बर खड्काको अवकाश भएसँगै निर्देशक पद रिक्त थियो ।

प्रदेश सरकार मातहत रहेको अस्पतालको निर्देशकका लागि सामजिक विकास मन्त्रालयले अस्पतालमै कार्यरत मेडिकल सुपरिटेण्डेण्ट प्रमुख गणेश थापा र ढकालको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशकमा ढकाललाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
थापा संघबाट कामकाजमा खटिएका डाक्टर हुन् भने ढकाल प्रदेशमै समायोजन भएका डाक्टर हुन् ।

डाक्टर ढकाल अस्पतालमै कन्सलटेन्ट अब्स्ट्रेटिसियन/गाइनोकोलोजी प्रमुखरुपमा कार्यरत थिए । उनी ११ औँ तहका डाक्टर हुन् । वीरेन्द्रनगर निवासी ढकाल नेपाल चिकित्सक संघ कर्णाली प्रदेश संयोजक हुन् ।

 

प्रकाशित मिति : २०८१ मंसिर १ गते शनिबार