च्यासलमा रोइरहेको एमाले लोकतन्त्र



आज भन्दा हिजो ह्याण्डसमै थियो, हिजो मदन भण्डारीहरु उफ्रदै चिच्याउँथे, कालो व्यवस्थ विरुद्ध । उनी गर्जन्थे, दमनकारी व्यवस्था विरुद्ध । एक बलले सामुहिकतामै बोल्न लगाउथे, बाहिर अनि भित्रै कराउन लगाउथे पार्टीले बाटो बिराउला भनेर ।

जहाँ खबरदारीमा छुट थियो, सुझाव पेटिकाहरु हेरिन्थे र जायज सुझाव कार्यान्वयन गरिन्थ्यो । तर आज एमालेभित्र ठाउँ बनाउन आलोचनात्मक चेत र टिप्पणी केही पनि नराख्ने हुनुपर्ने अवस्था बनेको छ ।

‘बा’ अनि काकाबाउलाई एकछत्र मान्नैपर्ने, नमान्दा त्यहाँ अस्तित्व संकटमा पर्ने अवस्था भएको छ । विचारका कुरा गर्नेहरू बाहिरिएका छन् भने भजन मण्डलीहरु जिम्मेवारीको कुर्सीमा विराजमान छन् ।

आज हिजो छैन, हिजो च्यातच्युत पारिएको छ आज । निजी फर्मान विरुद्ध बोल्ने भीम रावलहरुमाथि ओलीवादको तरबार चलेको छ । जबज च्यातिएको छ । आन्तरिक जनवाद त्रिशुलीमा ठेलिएको छ । बोलीमा ताला मारिएको छ भने बोल्ने उपर पञ्चायती शैलीको प्रतिशोधमुलक कारबाहीको डण्डा चलाइएको छ ।

आज च्यासल पार्टी कार्यालय बाहिर जबजका जन्मदाता मदन भण्डारी सम्मानपुर्वक शालिकमा विराजमान होइसिन्छ भने भित्र आन्तरिक लोकतन्त्र कैद छ । अन्यायको विरोध गर्नेहरुको जिब्रो धमाधम काट्न थालेपछि भागाभाग भएको छ ।

‘आई लभ यु’ आन्तरिक पार्टी लोकतन्त्र भन्नुपर्ने जमात ‘आई लभ यु’ कारबाहीको डण्डा भन्दै हर्षोल्लास मनाइ रहेछन् । यसरी आन्तरिक लोकतन्त्रको शीर्षक विधानबाट झिकेर समिपैको बागमतिमा बगाइएपछि आज पुष्पलाल, मदन लगायतका सच्चा कमरेडहरु उतैबाट के भन्दा हुन ?

‘बाँदरको हातमा नरिवल’ सुम्पेछौँ भनेर सोच्दा हुन् । वर्गीय आन्दोलन प्रतिशोधी कारबाहीमा विर्सजन भएको देख्दा दुःख मनाउ गर्दा हुन् । पार्टीका नयाँ ठालुहरु ‘बा’, काकाबाउहरुको इसारामा छोरा, भाइभतिजाहरुको विचित्र छमछम नृत्य नियाल्दा लाजले मुख छोप्दा हुन् ।

यसरी नाङ्गै कुदेको एमाले अनि श्रृङ्खलाबद्ध कारबाही नियाल्दा हामीलाई एमालेको आन्तरिक लोकतन्त्र पूर्ण निलम्बनमा छ भन्न के को लाज ! लाज त केपी ओलीहरुले मान्नुपर्ने हो ।

प्रकाशित मिति : २०८१ पुस १२ गते शुक्रबार