मुख्यमन्त्री यामलाल कँडेलः गतिमा समस्या !



कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकारको गतिमा केही समस्या भएको बताएका छन् ।

विभिन्न कानुनी जटिलताका कारण सोचे अनुरुप काम गर्नमा कठिनाई भएको अनुभव उनले ऋषी धमलासँगको टेलिभिजन अन्तर्वार्तामा शेयर गरेका छन् ।

उनले भनेका छन्, ‘कानुन बनाउने कुरामा केन्द्रबाट खासै चासो दिइएन् । सत्ता प्राप्तिका लागि संख्या पुर्‍याउने कुरा नै प्रमुख बन्यो । कानुन बनाउनेतर्फ ध्यान दिइएन् ।’

कँडेलले आफुसँग काम गर्ने हुटहुटी भएको पनि बताए । यद्यपि जटिलताका कारण समस्या रहेको उनको भनाइ छ ।

मुख्यमन्त्रीले अधिकार नभएपछि थन्किएर बस्नुपरेको छ ? भन्ने प्रश्नमा कँडेलले भने, ‘छैन, थन्किएको छैन । हामीले जुन गतिका साथ जुन एकताबद्धका साथ, स्पष्टताका साथ जसरी काम गर्नुपर्ने थियो, त्यसमा केही अलमल छ । प्रदेश सरकार बसिरहेको काम नपाएको अवस्था छैन ।’

अहिले प्रदेश संरचनामाथी व्यापक प्रश्न उठिरहेको छ । अनुदानका भरमा ल्याएको बजेट समेत कार्यान्वयन गर्न नसक्ने, न काममा गति, न दीर्घकालिन योजना—प्रदेश संरचना कमजोर भइसक्यो भन्ने प्रश्न छ । यद्यपि मुख्यमन्त्री कँडेल भने केन्द्रकै कारण प्रदेश संरचनाको अवस्थामा समस्या भएको बताउँछन् ।
‘हो, जति प्रभावकारी रुपमा काम गर्नुपर्ने थियो, त्यो अनुसार सकिएको छैन, त्यो केही कानुनी अस्पष्टताका कारण हो,’ उनले भने ।

संविधानमा उल्लेख भएका कानुन अनुसार काम गर्न पाएको खण्डमा अझै प्रभावकारी रुपमा काम गर्न सकिने कुरा कँडेलले बताए ।

दलहरु सत्ता प्राप्तिका लागि जे गर्नपछि पछि नपर्ने तर कानुनी अवधारणा अनुसार काम गर्ने गरेको बताउँदै उनले अगाडि थपे, ‘ढिलोचाँडो संविधानमा भएको व्यवस्था अनुसार काम गर्नैपर्ने हुन्छ । त्यो बाटो हिड्नै पर्ने हुन्छ । नभए संघीयतामाथी प्रश्न उठ्छ ।’

अहिले हामी व्यवहारीक तरिकाले सुरक्षा निकाय, प्रशासनिक निकायसँग छलफल गर्दा जुन गतिका साथ अगाढि बढ्नुपथ्र्यो त्यसमा समस्या भएको अनुभव कँडेलले सुनाए ।

अधिकारीविहीन मुख्यमन्त्री कठैबरा भन्नुपर्ने अवस्था भएको हो ? भन्ने प्रश्नमा कँडेलले इन्कार गरे । भने, ‘कठैबरा र मुर्ति बरामर म छैन, कतिपय चाहेजस्तो काम गर्न कठिनाई भएकै छ, जे व्यवस्था छ, त्यसलाई सुधार गर्नुपर्छ ।’ कँडेलले संघीय सरकारमै समस्या रहेको बताए ।

उनका अनुसार अहिले मान्छे संकलन गरेर सत्ता टिकाउने प्रवृत्ति हावी भयो । यो बाटोमा नेपालका राजनीतिक दलहरु हिड्नहुन्न र आफु झन त्यो बाटोमा नहिड्ने उनको भनाइ छ ।

त्यो बाटोमा गएर शासन व्यवस्था टिकाउन नहुने टिप्पणी कँडेलको छ ।

प्रदेश सरकार मन्त्री उत्पादन गर्ने कारखाना ?

कर्णालीमा मन्त्रिमण्डल किन ठुलो भयो भन्ने प्रश्नमा कँडेलले भने, ‘म बनिसकेपछि व्यक्तिको चाहना अनुुसार मन्त्रालय बाँड्ने चलनलाई अन्त्य गर्न मन्त्रालयभित्रको पुर्नःसंरचनाका विषयमा काम भइरहेको छ ।’

उनको बुझाइमा राजनीति सेवा हो, धन्दा गर्ने ठाउँ हैन । तर अहिले यो त पैँसा कमाउने ठाउँ पो हो कि भन्ने तरिकाले गतिविधि भइरहेको उनको भनाइ छ । जुन गलत हो ।

हिजो व्यवस्था बदल्नका निमित्त जसरी संघर्ष गरियो अब जनताको अवस्था बदल्नका लागि पनि त्यही किसिमको योगदान गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ मंसिर २ गते आइतबार