
सुर्खेत । जिल्ला अस्पताल कालिकोटको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार एक कार्यक्रमकाबिच भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले गुणस्तरीय सेवामा लाग्न कर्मचारीहरुलाई निर्देशन दिए ।
उनले भने, ‘भवन सुविधा सम्पन्न बनेको छ । भवनले समृद्धि देखाएपनि यसको स्याहारसुसार र निरन्तरताका लागि मेहनत गर्नुपर्ने हुन्छ । सेवा विस्तार गर्नुपर्छ, भुगोल र जनसंख्याको परिधिभित्रले मात्र संस्थाप्रति अपनत्व हुदैन ।’
गुणस्तरीय सेवाप्रवाहले मात्र संस्थाप्रति अपनत्व र विश्वसनीयता बढ्छ । आवश्यक न्युनतम पुर्वाधार र सेवाका लागि आवश्यक उपकरण उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको पनि कँडेलले बताए ।
प्रदेश सरकारबाट झण्डै २६ करोड लागतका ५० शय्याको उक्त भवन बनेको हो । ०४७ मा हेल्थ सेन्टरको रुपमा स्थापना भएको अस्पताल पछि जिल्ला अस्पतालमा परीणत हुँदै अहिले ३० शय्याको सेवा दिइरहेको छ । अहिले नयाँ बनेको भवनले ५० शय्याको सेवा दिन सकिने छ ।
अस्पतालमा अहिले सिटी स्क्यान मेसिन भने छैन । युएसजी मेसिन पुरानो भइसकेको छ । जसले थ्रिडी र फोरडी अल्ट्रा साउण्ड नहुँदा जटिल सुत्केरीको अवस्था पत्ता लगाउन समस्या भएको अस्पतालका कर्मचारी बताउँछन् ।
तीन विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि अहिले यहाँ विशेषज्ञ डाक्टर छैनन् । ४ जना मेडिकल अधिकृत सहित ४८ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्