जनताले महसुस गर्नेगरी काम गरेको कर्णालीका मुख्यमन्त्रीको दाबी



सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका जनताले महसुस हुनेगरी प्रदेश सरकारले काम गरिरहेको दाबी गरेका छन् ।

शुक्रबार जुम्लामा आयोजित पत्रकार सम्मेलनमा बौल्दै मुख्यमन्त्री कँडेलले जिल्ला भ्रमणमा पुगेर जनताको अपेक्षालाई योजनामा समेट्ने काम गरिरहेको उल्लेख गरेका हुन् ।

प्रदेशमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउन प्रतिबद्ध रहेको उनको भनाइ थियो । आफ्नो नेतृत्वमा प्रदेश सरकारले सेवाग्राहीलाई केन्द्रमा राखेर योजना बनाउने र कार्यान्वयन गरिरहेको उनले बताए ।

‘योजना किनबेचको विषय होइन, यो सेवाग्राहीको हो,’ उनले भने, ‘योजना निर्माण र कार्यान्वयनमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप, स्वार्थपूर्ण निर्णय र अन्याय हुनुहुँदैन ।’

जनताले चाहेका र जीवनस्तर सुधार गर्नसक्ने योजना मात्र ध्यानमा राखेर प्रदेश सरकारले काम गरेको मुख्यमन्त्री कँडेलको भनाइ छ ।

“विकास निर्माणलाई मात्र होइन, सुशासन र पारदर्शीताका पक्षमा पनि सरकारलाई सचेत बनाइएको छ”, उनले भने ।

कर्णाली प्रदेशको विकासका लागि दीर्घकालीन योजना बनाउने र ती योजनालाई जनताको आवश्यकतासँग समाहित गराउने नीति प्रदेश सरकारले अवलम्बन गरेको मुख्यमन्त्री कँडेलको भनाइ छ ।

प्रकाशित मिति : २०८१ मंसिर ७ गते शुक्रबार