कर्णाली रङ्गशालाको काम ९९ % सम्पन्न



निर्माणाधीन रङ्गशालाको अहिलेको अवस्था

सुर्खेत । कर्णालीको गौरवको आयोजना रङ्गशालाको काम ९९ प्रतिशत सकिएको छ । वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशालाको अब जम्मा १ प्रतिशत हुन मात्रै बाँकी छ ।

उक्त कामपनि अबको केहीदिनभित्रै सकिने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताए ।
रङ्गशाला निर्माणको म्याद १० असोजमै हो, यद्यपि छाना लगायतका काम बाँकी थिए ।

१० हजार दर्शक अट्ने क्षमताको उक्त रङ्गशालामा अत्याधुनिक प्रविधिका संरचनाहरु बनाइएको छ । दुईवटा निकै आकर्षक गेटहरु बनाइएको छ । पञ्चखुम आकृतिमा एउटा गेट सर्वसाधरणका लागि बनाइएको छ भने भीडभाड नहोस् भनेर भीआईपी गेट अर्को बनाइएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल प्रतियोगिता सञ्चालन गर्ने गरी फिफाको मापदण्ड अनुसार संरचनाहरु बनाइएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालको भनाइ छ ।

फुटबल मैदान, प्याराफिट, पौडी पोखरी, भलिबल कर्बड हल, एथलेटिक्स ट्रयाक, मार्सल आर्ट इन्डोर हलदेखि आउटडोर हलहरु रहेका छन् । ती संरचनाहरु सबै फिफाको मापदण्ड अनुसार सुविधायुक्त बनाइएको सञ्ज्याल बताउँछन् । उनका अनुसार रङ्गशालाभित्रको फुटबल मैदान १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको बनेको छ ।

मैदानभित्र सिँचाइका लागि नयाँ प्रविधिको स्प्रिनकल जडान गरिएको छ भने भारी वर्षात् हुँदा २५ मिनेटमै मैदानको पानी सुक्ने गरी व्यवस्था गरिएको छ ।

खेलाडीको सुविधाका लागि वेटिङ कक्ष, रेस्टरुम, फिजियो कक्ष, चेन्जिङ कक्ष, मेडिकल कक्ष लगायतका संरचनाहरु भित्रै बनाइएका छन् ।

पौडी पोखरी ‘फिना’ स्टान्डरको बनाइएको छ, जुन २५ मिटर चौडाइ र २५ मिटर लम्बाइको छ । त्यसमा एकै पटक १० जनाले भाग लिन सक्नेछन् भने पानी फिल्टर गर्ने मेसिनहरु र प्रतियोगितामा सहभागी हुने खेलाडीलाई छुट्टै भवन समेत बनाइएको छ ।

रङ्गशालाभित्र खाली रहेको ठाउँहरुमा विभिन्न विरुवाहरु रोपिएका छन् । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय लागत रहेको रङ्गशालाको ०७८ मङ्सिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ मंसिर ३ गते सोमबार