‘यो सरकार नै अपारदर्शी, असंवैधानिक, अप्राकृतिक र भ्रष्टाचारीलाई बचाउनका लागि बनेको हो’



सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धन सरकार भ्रष्टाचारी संरक्षित भएको बताएका छन् ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘सरकारतिर हाम्रो ध्यान छैन । जति चलोस्, चलोस्, ०८४ पछिसम्म गएपनि हामीलाई टेन्सन छैन ।’

यद्यपि सरकार नै अपारदर्शी, असंवैधानिक, अप्राकृतिक र भ्रष्टाचारीलाई बचाउनका लागि बनेको भएकाले मुखदर्शक नबन्ने प्रष्ट पारे ।

साथै प्रचण्डले केपी ओली बेइमानी भएको र सुशासन भत्काउन लागि परेको पनि बताए ।

साथै प्रचण्डले सरकारले गलत गरे हेरेर नबस्ने पनि बताए ।

‘जस्तो गरेपनि सरकार टिकिरहोस् भन्ने त हैन तर सरकारप्रति माओवादीको कुनै चासो छैन,’ उनले भने, ‘हामी जनतामा छौँ, माओवादीलाई एक्लै चुनावमा जान सक्दैनन् भन्ने आरोप छ, त्यो गलत हो, उपनिर्वाचनले देखाइसकेको छ ।’

माओवादी कसैको वैशाखीबिनानै चुनाव लड्न सक्ने सामथ्र्य राख्ने पनि उनको भनाइ थियो ।

प्रचण्डले पार्टीभित्र अहिले कुनै समस्या नभएको प्रस्ट पारे । ‘विद्यार्थी संगठनको चुनावलाई लिएर मिडियामा आएको सबै विषय सत्य हैन,’ उनले भने, ‘सबै माओवादीकै विद्यार्थी हो । अहिले राम्रो काम गर्नेगरी अघि बढीरहनु भएको छ ।’

एमाले उपाध्यक्ष ‘बादल’ले जनयुद्धलाई ‘हिंसा’ भनेको विषयमा प्रचण्डले आफुले कुनै टिप्पणी गर्न नचाहने बताए ।
समाजवादी मोर्चामा रहेका दलहरुबिच पार्टी एकताको विषयमा छलफल भइरहेकै बताए ।

‘अहिले हामी समाजवादी मोर्चामा छौँ, एकताको विषयमा पनि छलफल चलिरहेकै छ,’ प्रचण्डले भने, ‘यद्यपि अहिलेसम्म एकताको कुराले ठोस् आकार ग्रहण गरिसकेको अवस्था छैन ।’

 

प्रकाशित मिति : २०८१ माघ २९ गते मंगलबार