
सुर्खेत । कर्णालीमा ठेक्का लिएर काम अलपत्र पार्ने ठेकदारका कारण कर्णाली सरकारले हैरानी खेप्नु परेको छ ।
पटक–पटक काम गर्न ताकेदा गर्दा पनि ठेकदारले नटेरेपछि सरकार ठेकदार विरुद्ध एक्सनमा उत्रिएको छ ।
बुधबार काम नगर्ने ठेकदारलाई मन्त्रालयमै बोलाएर तत्काल काम नगरे कारबाही गरिने चेतावनी दिइएको छ ।
जाजरकोटमा ठेक्का लिएर अलपत्र पार्ने अमर सिस्ने जेभी नेपालगञ्ज–२ बाँके, पीएस निर्माण सेवा नौवस्ता–८ बाँके र वीरेन्द्र अमर निर्माण सेवा खरिचन्द्रपुर–३ बर्दियाका प्रतिनिधिलाई भौतिक तथा सहरी विकास मन्त्रालयमै बोलाएर मन्त्री शेरबहादुर बुढाले तत्काल काम नगरे कारबाही गर्ने चेतावनी दिए ।
चेतावनी पश्चात व्यवसायीले ‘समयमा काम नगरे कानुनी सजाय भोग्न तयार छु’ भनेर निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।
ती कम्पनीहरुलाई पटक–पटक काम गर्न आग्रह गर्दा पनि नटेरेपछि अन्तिम पटक मन्त्रालयमै बोलाएर चेतावनी दिइएको मन्त्री बुढाले बताए ।
बुढाले आफ्नै संयोजकत्वमा निर्माण व्यवसायी, सरकार र आयोजना रहेको जिल्लाका सिडिओबिच अन्तिम पटक छलफल गरेका थिए ।
‘जनताको सेवाका लागि सरकारले विकास निर्माण गर्ने जिम्मा निर्माण व्यवसायीलाई दिन्छ तर अनेक बहानामा उहाँहरुले काम अलपत्र पार्दा जनताले दुख पाइरहेका छन् भने सरकारले गाली खाइरहेको छ,’ उनले भने, ‘अब आयोजना अलपत्र पार्ने छुट नभएकोले काम नगर्ने कम्पनीलाई कानुनी प्रक्रियामा गएर कारबाही गरिन्छ ।’
मुख्यमन्त्री यामलाल कँडेलले निर्माण कम्पनीलाई काम गरे बजेटको कुनै समस्या नरहेको तर निर्माण व्यवसायीले नै काम ढिला गरेको बताइरहेका छन् ।
निर्माण व्यवसायीले काम गरे भुक्तानीमा कुनै समस्या नरहेको मन्त्री बुढाले बताए । हाल सम्म कुनै पनि निर्माण व्यावसायीको काम गरेर भुक्तानी रोकिएको रेकर्ड मन्त्रालयमा नभएको उनको भनाइ छ ।
अब मन्त्रालयले नियमित रुपमा निर्माण व्यवसायी र जिल्लाका कार्यालय प्रमुखसँग छलफल गरी समस्या र त्यसको समाधानको उपाय खोजेर विकास निर्माणको कामलाई तीव्रता दिइने बुढाले बताए ।
याे पनि…
वीरेन्द्रनगरका १५ सडक अलपत्र पारी ४ महिनादेखी सम्पर्कविहीन बने कांग्रेसका ठेकदार राज्यमन्त्री
मुख्यमन्त्री कार्यालयको दैलोकोसहित १५ सडक अलपत्र पार्ने ठेकदार राज्यमन्त्रीको कम्पनी कालोसुचीमा









प्रतिक्रिया दिनुहोस्