
सुर्खेत । देशका राज्यमन्त्रीकै कम्पनी सरकारको सम्पर्कमा छैन भन्दा तपाईँलाई पत्यार नलाग्न सक्छ । तर कर्णालीको राजधानी वीरेन्द्रनगरका १५ वटा सडकहरु अलपत्र पारेर संघीय सरकारका ऊर्जा राज्यमन्त्री पुर्णबहादुर तामाङ उर्फ कान्छारामको ‘कान्छाराम कन्स्ट्रक्सन’ चार महिनादेखी सम्पर्कविहीन बनेको हो ।
भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पुर्वाधार विकास निर्देशनालयले ठेकदार कम्पनी सम्पर्कविहीन भएको सुचना निकालेको हो ।
सुचनामा भनिएको छ, ‘निर्माण कम्पनीले सम्झौता अनुसारको निर्माण कार्य सम्पन्न नगरी सम्पर्कविहीन रहेको र लामो समयदेखी निर्माण स्थलमा कुनै निर्माण कार्य नगरेकोले निर्देशनालयद्धारा पटक–पटक म्यादभित्र कार्य सम्पन्न गर्न मौखिक तथा लिखित रुपमा जानकारी गराउँदा समेत कार्य सम्पन्न गर्न अटेरी गरेको छ ।’
निर्माण कम्पनीले आफैले पेश गरेको कार्यतालिका अनुसारको प्रगति हासिल नगरेको, निर्माण कार्य अलपत्र पारी चरम लापरबाही गरेको निर्देशनालयको ठहर छ ।
कार्य सम्पन्न गर्न आवश्यक अग्रसरता र चासो नदेखाएको हुँदा तरुन्त कार्य सुरु गरी म्यादभित्र कार्य सम्पन्न गर्न उक्त सुचना जारी गरिएको सुचनामा उल्लेख छ ।
यदि सुचनालाई बेवास्ता गरी कार्य सम्पन्न नगरेको अवस्थामा ठेक्का सम्झौताका शर्तहरु र प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने निर्देशनालयले जनाएको छ ।
१५ वटा सडक निर्माणको जिम्मा १७ भदौ, ०७८ मा लिएको थियो, तामाङको कम्पनीले । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयसँग ५०१४ मिटर सडक निर्माण (कालोपत्रेसहित) गर्न १२ करोड ९४ लाख ३७ हजार ४६२ रुपैयाँमा सम्झौता भएको थियो ।
सुचना यस्ताे छ

सडकको काम ०७९ फागुन २८ गते सम्पन्न गर्ने लक्ष्य रहेपनि अहिलेसम्म भौतिक प्रगति जम्मा ६० प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत मात्रै रहेको छ ।
ती सडकहरु वीरेन्द्रनगर सहरी प्लानिङ क्षेत्र नगरपालिकाको ७, ८, र १० नम्बर वडामा पर्दछन् । ०८१ मङ्सिर २० गते सम्म निर्माण कार्य सक्ने म्याद थप गर्दापनि अहिलेसम्म ठेकदार कम्पनीका मान्छेहरु सम्पर्कमा आएनन् ।
कान्छाराम यति बलिया छन् कि उनले सत्ताको आडमा प्रदेश सरकारका मन्त्री, मुख्यमन्त्रीलाई समेत टेर्दैनन् । उनको कम्पनी यतिबेला कालोसुचीमा समेत परिसकेको छ ।
तामाङले अलपत्र छाडेका १५ सडक
१) जिल्ला अदालत–मुख्यमन्त्री कार्यालय–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडिको सडक – ६३५ मिटरको उक्त सडक अहिलेसम्म नाला, २०० मिटर बेस राख्ने काम भएको छ भने ३५० मिटर ग्राभेल गरिएको छ । ग्राभेल र कालोपत्रे गर्न बाँकी छ ।
२) खारखोली टेलिकम सडक– २२५ मिटरको उक्त सडक अहिलेसम्म नाला र सब बेसको काम भएको छ भने बेस राखेर कालोपत्रे गर्ने काम अहिलेसम्म सुरु भएको छैन ।
३) खारखोली हटलाइन सडक–३३४ मिटरको उक्त सडकको पनि बेस राखेर कालोपत्रे गर्न बाँकी छ ।
४) इत्रामखोलादेखि जिल्ला प्रहरी कार्यालय अगाडिको सडक –४०० मिटरको उक्त सडकको दायाँतर्फ २०७ मिटर र बायाँतर्फ २९७ मिटर नालाको काम भएको छ । यस्तै १५० मिटर जति सब बेसको काम भएको छ भने बेस राखेर कालोपत्रे गर्न बाँकी रहेको छ । यो सडकको १५० मिटर सब बेसको कामको भुक्तानी भएको छैन ।
५) डिभिजन वन कार्यालय अगाडिको सडक– १८१ मिटर सडक बनाउनुपर्नेमा अहिलेसम्म नाला र सब बेसको काम भएको छ भने बेस राख्ने र कालोपत्रे गर्ने काम पुरै बाँकी छ ।
६) पूर्वाधार विकास निर्देशनालय अगाडिको सडक–२४० मिटरको उक्त सडकमा अहिलेसम्म नाला बनाउने र सब–बेसको काम बाहेक अरू भएको छैन । बेस राखेर कालोपत्रे गर्न बाँकी छ ।
७) भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अगाडिको सडक –२२० मिटरको उक्त सडक नालादेखि कालोपत्रे गर्न बाँकी रहेको छ ।
८) बस्नेत नर्सरीदेखि पुरानो वार्ड कार्यालय सडक– ६३० मिटरको उक्त सडकको १८५ मिटर नाला दुबैतर्फ, १७६ मिटर सब–बेसको काम भएको छ भने त्यस बाहेक बेस राखेर कालोपत्रे गर्ने काम भएको छैन ।
९) डीआईजी चोकदेखि खारखोली सडक– १११ मिटरको सडकको नाला र सब–बेसको काम भएको छ भने बेस राखेर कालोपत्रे गर्ने काम अझै सुरु भएको छैन ।
१०) कालिन्चोक–मिलनचोक सडक– ३८८ मिटरको सडकमा अहिलेसम्म ३०० मिटर नाला, सब–बेस र बेस राखेर कालोपत्रे गर्न बाँकी छ ।
११) खजुरा भित्री मोडेल कलेजदेखि उत्तर पश्चिम सडक– ७३० मिटरको उक्त सडकमा भने कालोपत्रे भएको छ । त्यसको रंगरोगन गर्ने काम बाँकी रहेको छ ।
१२) गण्डकी लाइन सडक– मुख्य बजारभित्रको उक्त सडक १२० मिटरको छ । यसमा १२० मिटर नाला, सब–बेसदेखि बेस राखेर कालोपत्रे गर्ने पुरै काम बाँकी छ ।
१३) महिला छात्रावासदेखि दैलेख रोड सडक–४४० मिटरको सडकमा अहिलेसम्म ३६६ मिटर नालाको काम मात्रै भएको छ । बेस राखेर कालोपत्रे गर्न बाँकी छ ।
१४) लालुपाते उत्तर सडक– २०० मिटरको यो सडकको पनि बेस राखेर कालोपत्रे गर्न बाँकी रहेको छ ।
१५) रत्न राजमार्ग–सितलनगर सडक–१६० मिटरको यो सडकमा अहिलेसम्म नालादेखि सबै काम गर्न बाँकी रहेको छ ।
याे पनि..
मुख्यमन्त्री कार्यालयको दैलोकोसहित १५ सडक अलपत्र पार्ने ठेकदार राज्यमन्त्रीको कम्पनी कालोसुचीमा









प्रतिक्रिया दिनुहोस्