मुख्यमन्त्री कार्यालयको दैलोकोसहित १५ सडक अलपत्र पार्ने ठेकदार राज्यमन्त्रीको कम्पनी कालोसुचीमा



ठेकदार राज्यमन्त्री तामाङ र मुख्यमन्त्री कार्यालय अगाडिको अलपत्र सडक ।

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका १५ वटा सडक अलपत्र पार्ने ठेकदार राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङको निर्माण कम्पनी अढाई वर्षका लागि कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सडक डिभिजन तुम्लिङटारको सिफासिमा उनको नेतृत्वमा रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखेको हो । उक्त कम्पनीसँग जोइन्ट भेन्चरमा माग गरिरहेको एनबी कन्स्ट्रक्सन समेत कालोसूचीमा परेको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को कम्पनी हो—‘कान्छाराम कन्स्ट्रक्सन’ । यही कम्पनीले प्रदेश राजधानी वीरेन्द्रनगरका प्रमुख १५ वटा सडक लामो समयदेखि अलपत्र पारिरहेको छ ।

यतिसम्मकि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दैलोमा रहेको सडक अलपत्र पारेका छन् । ६३५ मिटर मात्रै लम्बाई रहेको उक्त सडकले जिल्ला अदालत–मुख्यमन्त्री कार्यालय–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको गेटलाई समेट्छ । तामाङ यति बलिया छन्, कि उनले प्रदेश सरकारले दिएको निर्देशन समेत टेर्दैनन् । उनले उक्त सडकसहित राजधानीमा विभिन्न १५ वटा सडक निर्माणको जिम्मा १७ भदौ, ०७८ मा लिएको थियो ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयसँग ५०१४ मिटर सडक निर्माण (कालोपत्रेसहित) गर्न १२ करोड ९४ लाख ३७ हजार ४६२ रुपैयाँमा सम्झौता भएको थियो ।

सडकको काम ०७९ फागुन २८ गते सम्पन्न गर्ने लक्ष्य रहेपनि अहिलेसम्म भौतिक प्रगति जम्मा ३० प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत मात्रै रहेको छ ।

ती सडकहरु वीरेन्द्रनगर सहरी प्लानिङ क्षेत्र नगरपालिकाको ७, ८, र १० नम्बर वडामा पर्दछन् । चाँडो काम गर्न पटक–पटकको लिखित ताकेता, सार्वजनिक रूपमा पत्रिकामा सूचना जारी, अग्रिम भुक्तानी ग्यारेन्टी दाबी गरिसक्दापनि तामाङले सडक बनाएका छैनन् ।

०८१ मङ्सिर २० गते सम्म निर्माण कार्य सक्ने म्याद थप गर्दापनि अहिलेसम्म ठेकदार कम्पनीका मान्छेहरु सम्पर्कमा नआएको पुर्वाधार विकास निर्देशनालयले जनाएको छ ।

असार १५ पछि काम कुनै काम नभएको निर्देशनालयका इञ्जिनियर प्रेमचन्द्र पाण्डे बताउँछन् । कान्छाराम यति शक्तिशाली छन्, कि उनी प्रदेश सरकारको निर्देशन टेर्दैनन् ।

प्रदेशका मन्त्रालयको दैलोभित्रकै सडक अलपत्र पार्ने, अझै सरकारको नै निर्देशन नमान्दा मुख्यमन्त्रीदेखि मन्त्रीहरू जिल्ल परेका छन् । कान्छाराम राजनीतिक आडमा प्रदेश सरकारको निर्देशनलाई सुनुवाइ नै गर्दैनन् ।

हेर्नुहोस् ठेकदार राज्यमन्त्रीले अलपत्र पारेका १५ सडकको अवस्था

१) जिल्ला अदालत–मुख्यमन्त्री कार्यालय–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडिको सडक – ६३५ मिटरको उक्त सडक अहिलेसम्म नाला, २०० मिटर बेस राख्ने काम भएको छ भने ३५० मिटर ग्राभेल गरिएको छ । ग्राभेल र कालोपत्रे गर्न बाँकी छ ।

२) खारखोली टेलिकम सडक– २२५ मिटरको उक्त सडक अहिलेसम्म नाला र सब बेसको काम भएको छ भने बेस राखेर कालोपत्रे गर्ने काम अहिलेसम्म सुरु भएको छैन ।

३) खारखोली हटलाइन सडक–३३४ मिटरको उक्त सडकको पनि बेस राखेर कालोपत्रे गर्न बाँकी छ ।

४) इत्रामखोलादेखि जिल्ला प्रहरी कार्यालय अगाडिको सडक –४०० मिटरको उक्त सडकको दायाँतर्फ २०७ मिटर र बायाँतर्फ २९७ मिटर नालाको काम भएको छ । यस्तै १५० मिटर जति सब बेसको काम भएको छ भने बेस राखेर कालोपत्रे गर्न बाँकी रहेको छ । यो सडकको १५० मिटर सब बेसको कामको भुक्तानी भएको छैन ।

५) डिभिजन वन कार्यालय अगाडिको सडक– १८१ मिटर सडक बनाउनुपर्नेमा अहिलेसम्म नाला र सब बेसको काम भएको छ भने बेस राख्ने र कालोपत्रे गर्ने काम पुरै बाँकी छ ।
६) पूर्वाधार विकास निर्देशनालय अगाडिको सडक–२४० मिटरको उक्त सडकमा अहिलेसम्म नाला बनाउने र सब–बेसको काम बाहेक अरू भएको छैन । बेस राखेर कालोपत्रे गर्न बाँकी छ ।

७) भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अगाडिको सडक –२२० मिटरको उक्त सडक नालादेखि कालोपत्रे गर्न बाँकी रहेको छ ।

८) बस्नेत नर्सरीदेखि पुरानो वार्ड कार्यालय सडक– ६३० मिटरको उक्त सडकको १८५ मिटर नाला दुबैतर्फ, १७६ मिटर सब–बेसको काम भएको छ भने त्यस बाहेक बेस राखेर कालोपत्रे गर्ने काम भएको छैन ।

९) डीआईजी चोकदेखि खारखोली सडक– १११ मिटरको सडकको नाला र सब–बेसको काम भएको छ भने बेस राखेर कालोपत्रे गर्ने काम अझै सुरु भएको छैन ।

१०) कालिन्चोक–मिलनचोक सडक– ३८८ मिटरको सडकमा अहिलेसम्म ३०० मिटर नाला, सब–बेस र बेस राखेर कालोपत्रे गर्न बाँकी छ ।

११) खजुरा भित्री मोडेल कलेजदेखि उत्तर पश्चिम सडक– ७३० मिटरको उक्त सडकमा भने कालोपत्रे भएको छ । त्यसको रंगरोगन गर्ने काम बाँकी रहेको छ ।

१२) गण्डकी लाइन सडक– मुख्य बजारभित्रको उक्त सडक १२० मिटरको छ । यसमा १२० मिटर नाला, सब–बेसदेखि बेस राखेर कालोपत्रे गर्ने पुरै काम बाँकी छ ।

१३) महिला छात्रावासदेखि दैलेख रोड सडक–४४० मिटरको सडकमा अहिलेसम्म ३६६ मिटर नालाको काम मात्रै भएको छ । बेस राखेर कालोपत्रे गर्न बाँकी छ ।

१४) लालुपाते उत्तर सडक– २०० मिटरको यो सडकको पनि बेस राखेर कालोपत्रे गर्न बाँकी रहेको छ ।

१५) रत्न राजमार्ग–सितलनगर सडक–१६० मिटरको यो सडकमा अहिलेसम्म नालादेखि सबै काम गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार