
सुर्खेत । सांगठनिक रुपमा कर्णालीमा नेकपा एमालेले आफुलाई प्रमुख राजनीतिक शक्ति रहेको दाबी गर्दै आएको छ । यद्यपि उपनिर्वाचन अन्तर्गत ८ स्थानीय तहमा हुने चुनावमा ७ जना मात्रै उम्मेदवार उठाएको छ ।
एमालेले माओवादीको आधार इलाका मानिएको रुकुम पश्चिमको सानीभेरीमा उम्मेदवार उठाएको छैन ।
सानीभेरी गाउँपालिका–५ को वडा अध्यक्ष पदमा प्रमुख तीन दलको उम्मेदवारी छ । यहाँ माओवादी केन्द्रका तर्फबाट जसिराम बस्नेत, कांग्रेसबाट मोतीराम खत्री, एकीकृत समाजवादीबाट हंशराज पुरी उम्मेदवार छन् । स्वतन्त्रबाट विरबहादुर बस्नेत उम्मेदवार छन् ।
यद्यपि एमालेलेले भने उम्मेदवारी दिएन । समाजवादीले माओवादीलाई समर्थन गर्ने भनिसकेको छ । अब यहाँ प्रतिस्पर्धा हुने भनेको कांग्रेस–माओवादीबिच हो ।
यहाँ ०७९ को निर्वाचनमा कांग्रेसका अलबहादुर खत्री ४६२ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका तीर्थबहादुर खत्रीले ४३४ मत पाएका थिए ।
यहाँ माओवादीको राम्रै प्रभाव भए पनि कांग्रेसले जितेको थियो । त्यतिबेला दशैभर कांग्रेस–माओवादीबिच गठबन्धन हुँदा यहाँभने एमाले–कांग्रेसबिच गठबन्धन थियो ।
एमालेले कांग्रेसलाई समर्थन गरेको थियो, त्यो बेला । जसका कारण कांग्रेसले जित्यो । कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएपनि त्यहाँ उपनिर्वाचन हुँदै छ । यद्यपि यो पटक पनि एमालेले उम्मेदवार उठाएन ।
एक्लै प्रतिस्पर्धामा जाने हो भने यहाँ माओवादीले सहज जित्छ । एमाले सांगठनिक र जनमतका हिसाबले निकै कमजोर छ ।
एमाले प्रदेश अध्यक्ष गुलावजंग शाहले त्यहाँ उम्मेदवारी नउठाएको विषयमा खासै जानकारी नभएको जवाफ दिए ।
एमाले रुकुम पश्चिम जिल्ला अध्यक्ष नन्दराम देवकोटाले ०७९ मै ०८४ मा एमालेलाई समर्थन गर्ने गरी सहमति भएकाले एमालेले उम्मेदवारी नदिएको बताए ।
‘०७९ मा चुनाव लड्दा कांग्रेसलाई समर्थन गर्ने, अनि ०८४ मा हामीलाई सहयोग गर्ने गरी स्थानीय सम्झौता भएको छ,’ उनले भने, ‘आधा कार्यकालका लागि उम्मेदवार उठाउनु भन्दा उहाँहरुलाई नै सपोर्ट गर्न हामीले उठाएनौँ ।’
एमालेले दैलेखको महावु गाउँपालिका अध्यक्ष पदका लागि एक्कासी एकीकृत समाजवादीका केन्द्रिय सदस्यलाई प्रवेश गराएर उम्मेदवार बनाएको छ । त्यहाँ जंगबहादुर शाही उम्मेदवार छन् ।









प्रतिक्रिया दिनुहोस्