
भैलो—एक पुरानो संस्कृति हो, जो पछिल्लो समय लोप हुँदै गइरहेको अवस्था छ । पश्चिम नेपालका विभिन्न ठाउँमा भैलो परम्पराका आ–आफ्नै विशेषता र महत्व छ । त्यसै मध्येको एक हो, पश्चिम दैलेखको आठबीस नगरपालिका–१, सात्तलामा मनाइने भैलो ।
‘सात्तलाको भैलो’ भनेर चिनिने यो पर्व परापुर्व कालदेखी नै ऐतिहासिक रुपमा हरेक वर्ष दसैँको अन्तिम दिन कोजाग्रत पुर्णिमामा भव्यताका साथ मनाइन्छ ।
सात्तलाको भैलो कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको चर्चित मेलाको रुपमा प्रख्यात छ । अन्य ठाउँको भैलो तिहारको बेला खेल्ने गरिन्छ भने यहाँ कोजाग्रत पुर्णिमाको राति खेल्ने गरिन्छ ।
अन्य ठाउँमा घरघरमा भैलो खेल्ने परम्परा भएपनि सात्तलाको भैलो भने पौराणिक कालदेखी नै बनाएको एउटा निश्चित ठाउँमा मात्रै खेल्ने गरिन्छ । यो क्षेत्रमा दसैँ तिहार भन्दा भैलो मेलालाई ठुलो चाडको रुपमा मानिन्छ ।
भैलो हेर्न र खेल्नकै लागि प्रदेश तथा सहर पसेका युवायुवतीहरु गाउँ फर्किन्छन् भने विहेबारी भइसकेका चेलीहरु माइत फर्किन्छन् ।
यहाँ भैलो हेर्न र खेल्न दैलेखसहित, अछाम, कालिकोट, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया र कैलालीबाट हजारौं मान्छेहरुको आउँछन् ।
संस्कार, संस्कृति र परम्पराहरुमा सात्तलाको प्रमुख आकर्षक र ऐतिहासिक चिनारीको रुपमा भैलो नै स्थापित छ । यहाँका स्थानीय इतिहासका जानकारहरुका अनुसार भैलो कहिलेदेखि खेलिएको हो भन्ने कुराको तथ्य यकिन छैन ।
यद्यपि यो परम्परा कसरी सुरुवात भयो भन्ने केही किवदन्तिहरु पाइएका छन् ।
जस्तैः
—विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको रात्री सम्पन्नताकी देवी महालक्ष्मी रातभर को जागेको छ ? जाग्राम बसेर पुजाआजा कसले गरिरहेको छ ? भनेर पृथ्वीमा भ्रमण गर्ने र जाग्राम बसेका मान्छेलाई धनधान्य तथा ऐश्वर्य प्रदान गरी सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहेको छ ।
यही विश्वासको आधारमा गाउँघरका मानिसहरु आफ्नो भलाइका लागि एकै ठाउँमा भेला हुन्छन् र, सम्पन्नताका लागि महालक्ष्मीको पखाइमा जाग्राम बस्ने भएका कारण भैलो खेल्ने परम्पराको सुरुवात भएको हो भन्ने मान्यता पनि छ ।
–भगवान रामले दश इन्द्रियहरुमा विजय प्राप्त गरिसकेको रावणमाथि विजय प्राप्त गरेर असत्य र नकारात्मक शक्तिलाई सत्यले जित्छ भनेर प्रमाणित गरेको हुनाले यसैको खुसीयालीमा एक रात जाग्राम बसेर भैलो खेल्ने परम्परा सुरुवात भएको हो भन्ने पनि मान्यता छ ।
—दुर्गा देवीले राक्षस गणका नायक महिषासुर लगायत रक्तवीज, शुम्भ, निशुम्भ आदिलाई बध गरी तिनको आतङ्कबाट मुक्त गरी मानव जगतको भलाई गरेको हुनाले यसैको खुसीयालीमा भैलो खेलिएको हो भन्ने मान्यता पनि छ ।
—सारमा भन्नु पर्दा यि विभिन्न धार्मिक विश्वास र मान्यताका आधारमा आफ्नो भलो होस् भनेर गाउँका सबै मानिस एक रात जाग्राम बस्नु पर्ने र जाग्राम बस्दा रातभर केही नगरी बस्न नसकिने भएकाले जाग्राम बसेका भक्तजनहरुले अब जाग्राम बस्दा कुनै खेल खेलर बसौँ भन्ने योजना बनाएर भैलो खेल्ने परम्पराको सुरुवाती भएको पनि हुन सक्छ । भलो शब्द अपभ्रंङ्स हुदै भैलोको रुपमा परिणत भएको पनि हुन सक्छ ।
कोजाग्रत पुर्णिमाको बिहान सुर्योदय सँगै पञ्चैबाजा मार्फत दमाई बस्तीबाट विशेष पुजाआजाका साथ भैल्या बाजो अर्थात वर्षदिने बाजो बजाएर वरपरका छरछिमेकी र गाउँघरलाई भैलो खेलिने कुराको जानकारी गराइन्छ ।
यसैगरी दिउँसो र साँझ तिर पनि विशेष नगरा र भैल्या बाजो लगाएर पञ्चेबाजा मार्फत धुमधामका साथ भैलाको सूचनाको प्रचार गरिन्छ । यही पञ्चेबाजाको सूचनाको आधारमा वरपरका छरछिमेकी भैल्यारा–भैल्यारीहरु भव्य र सभ्य रुपमा भैलो खेल्न र हेर्न उपस्थित हुने गर्छन् । यो भैलोका प्रमुख हर्ताकर्ता र सामाजिक सांस्कृतिक रुपमा जिम्मेवार सातालाका पाल थापा, पाल दमाई र कडाराहरु हुन् ।
दमाई बस्तीमा भैलो पैटाउन्या ठाउँ अर्थात गह्रा छ । त्यसै गह्रामा आफ्नो भाइहरुको नायक उपस्थित गराउने कुपिण्डाको बली दिने, विशेष पुजाआजा गर्ने, भैलो हेर्न र खेल्न आएका नातागोता, सम्बन्ध र भाइबन्धुले एकाअर्कालाई टिकाटाला र जमरा लगाउने चलन छ ।
यो क्रम सकिसकेपछि दिदिबहिनीहरुले भैलो खेलाउने र हेर्ने आफ्ना भाइबन्धुहरुलाई फुलका माला र फुर्के पगरी बाध्ने चलन थियो । यति भैसकेपछि पगरी फुर्को, माला र झगुला सहित विशेष पहिरनमा ठाटिएका बाजा बजाउने दमाईहरु भैलो खेलाउनका लागि तयार हुन्थे ।
भैलो पैटाउने ठाँउमा महाराजी नगरासहित, भैल्या पाड र भैल्या बाजो अर्थात वर्ष दिन्या बाजो लगाई भैलो पुआड्दै आफ्नो नायकलाई काँधमा चढाएर ल्याउने र तामझामका साथ भैल्या गडामा उपस्थित हुने र विशेष रुपमा भैलो खेलाउने पुरानो चलन थियो । यद्यपि केही परम्पराहरु बाँकी रहेपनि धेरैजसो चलन हराउँदै गएको छ, अहिले ।
पाल थापाहरुको नायकको घरमा पनि कुपिण्डाको बलीसहित विशेष पुजाआजा गर्ने, आए/गएका पाहुनाहरुलाई विशेष सम्मानका साथ भोज दिने नायकलाई विशेष सम्मानका साथ नातागोता, सम्बन्ध, भाइबन्धुहरु र भैल्याराहरुले टिकाटाला, जमरा र फुलमाला लगाउथें ।
कुपिण्डाको बलीसहित विशेष पुजाआजा गरिसकेपछि दमाहाले पर्छाउँदै (दमाहाको पुजा) भैलो पुआड्दै नायकलाई काधमा चढाएरै भैलोमा उपस्थित गराउने चलन थियो । नायक भैलो खेल्ने ठाउँमा आउनुभन्दा अघि नै गाउँघरका बुढापाका र युवाहरु भैलो खेलिरहेका हुन्थे । पञ्चेबाजा र नायक कतिखेर आउँछन्, भनेर भैल्यारा–भैल्यारीहरु विशेष प्रतिक्षामा हुन्थे ।
पञ्चेबाजासहित दुबै तर्फका नायकहरु भैलामा प्रवेश गरिसकेपछि भैलो भव्य रुपमा चम्किने गथ्र्यो । केही वर्षयता पाल थापा भित्रको जेठो नायक परिवार चिउरेगडि थापाको घरबाट सम्पुर्ण विधि प्रक्रिया पुर्याई भैलो पुआड्दै पञ्चेबाजाको साथमा नायकसँगै धुमधामका साथ भैल्या गडा अर्थात भैलो खेल्ने ठाउँमा भैलो ल्याइन्छ ।
त्यसपछि मात्रै भैल्याराहरु जम्मा भएर गोलाकार रुपमा लागेर वर्ष दिन्या बाजाका तालमा भैलो खेलिन्छ । उक्त दिनको मुख्य आकर्षक भनेको भैलो नै हो । भैलो पछिका प्रमुख आकर्षक देउडा, रतेउली, ठाडीभाका र फुर्को खेल हो ।
भैलो पुरुषले मात्रै खेल्ने चलन छ —गोलाकार रुपमा एकले अर्काको हात समातेर एकसरो र दोहोरो पाइतोमा खेल्ने गरिन्छ । भैलो भित्र भैलाको नायक र बाजा बजाउनेहरु मात्रै हुने गर्दछन् ।
भैलो खेल्दा भैलाका टुक्काहरु भन्ने अर्थात भट्टाउने/ पुआड्ने ८/१० जना बुढापाका र जानकारहरुको टिम हुन्छ । भैलो भट्टाउनेहरुसँगै पञ्चेबाजा हुन्छ । भैलो भट्टाउने र खेल्नेहरुले नेपाली पोसाक दौरा सुरुवाल र टाउकोमा फुर्कोसहितको पगरी बाध्नुपर्ने पुरानो चलन थियो । यद्यपि यो चलन बिस्तारै हराउँदै गएको छ ।
भैलो खेलाउदा भैलो पैटाउने अर्थात भट्ट्याउने टुक्काहरुलाई विशेष मानिन्छ । यी टुक्का जानेबुझेका जानकारहरु अहिले गाउँघरमा कमै पाइन्छन् । भैलो भट्याउदा प्राय देवीदेवताका नामहरु नै आउने गर्छन ।
यिनै टुक्कामार्फत देवीदेवता, भैल्यारा, भैल्यारी, रम्चेडु, दर्शक, बाजा बजाउने, भैलो खेलाउने, सुरक्षाकर्मी, नायक, सरकार पक्ष, मातृभुमि सबैको सेवा गरिन्छ । र, आशिर्वाद पनि दिने गरिन्छ । यति मात्रै होइन भैलाको विदाई र अर्को सालको निम्तो पनि दिइन्छ ।
भैलो भट्याउने टिमले हरेक टुक्का बदल्दा भैल्याराहरुले साब्बाई–साब्बाई भनेर निकै आनन्द लिने गर्दछन् ।
सात्तलाको भैलो खेल्दा प्रयोग हुने तुक्का अर्थात शब्दावलीहरुः
श्री गणेशाय नमः
देवताको भैलो
ए वर्षदिनको भैलो— भैलो
ए सुनको शैलो—भैलो
ए खेलखेल भाइयो—भैलिया भैलो
ए राम्ररी खेल—भैलो
प्रथम भैलो–महामाईको सेवा—भैलो
ए ह्वाँ पछि भैलो—महाकालीको सेवा–भैलो
ए ह्वाँ पछि भैलो —लक्ष्मीको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—सरस्वतीको सेवा–भैलो
ए ह्वाँ पछि भैलो —नव दुर्गा देवीको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—गणेशको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—बर्माको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—विष्णुको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—शिवको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—कालिकाको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—मालिकाको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—इन्द्रको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—कुर्मको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—कृष्णको सेवा–भैलो
ए ह्वाँ पछि भैला—रामज्यूको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—भूमिको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—प्रकृतिको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—तेत्तिसैकोटी देउताको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—पृतदेवको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—राष्ट्रको सेवा–भैलो
ए ह्वाँ पछि भैलो—गाउँघरको सेवा–भैलो
सबै देवीदेवता र सबै क्षेत्रको सेवा गरे पश्चात सेवा चरणका टुक्काहरु सकिन्छन् । सेवा चरणमा प्रथम भैलो, द्वितीय भैलो भनेर पनि भन्ने चलन छ । यसमा ह्वाँ पछि भैलो भनेर सेवा चरणलाई सम्बोधन गरिएको छ ।
अब यसपछि पञ्चेबाजाले दोहोरो बाजा बजाएपछि भैलो गज्जबले चम्किन्छ र भैलो दोहोरो पाइतोमा खेलिन्छ ।
ए इनु बाँस क्या अरौँ ?—भैलिया भैलो
ए सिन्की चिरौला—भैलिया भैलो
ए सिन्की मिसिन्कि—भैलिया भैलो
ए ती सिन्की लिएर—भैलिया भैलो
ए कोट बुझाउला—भैलिया भैलो
ए कोटको राजा—भैलिया भैलो
ए क्या बरु देला ?—भैलिया भैलो
ए वर्ष दिन्या भैलो—भैलिया भैलो
ए आज क्या हो बार—भैलिया भैलो
ए भैल्या तिहार—भैलिया भैलो
ए सुनको शैलो—भैलिया भैलो
ए वर्ष दिन्या भैला—भैलिया भैलो
ए खेलखेल भाइयौं—भैलिया भैलो
ए राम्ररी खेल—भैलिया भैलो
ए भैल्यारा आया—भैलिया भैलो
ए दही केला (केरा) खाया—भैलिया भैलो
ए भैल्यारी आइछन्—भैलिया भैलो
जिअनन्/ जिअनिन् को अर्थ बाँच्ने हो । देउ महाशिष भनेको ठूलो आशीर्वाद हो । लाख बरिष—लाखै वर्ष बाँचुन भन्ने आशीर्वाद हो । अदृश्य देवीदेवतादेखी जीव जन्तु, प्रकृति लगाएत मानव सबैलाई आशीर्वाद दिइन्छ ।
ए वर्ष दिन्या भैलो—भैलिया भैलो
ए नभई मुख मैलो —भैलिया भैलो
ए खेलखेल भाईयौ—भैलिया भैलो
ए राम्ररी खेल—भैलिया भैलो
ए सरकारका माथ—भैलिया भैलो
ए दुबो पाथि भरियोस्—भैलिया भैलो
ए जनताका माथ—भैलिया भैलो
ए दुबो पाथि भरियोस्—भैलिया भैलो
ए नायकका माथ—भैलिया भैलो
ए दुबो पाथि भरियोस्—भैलिया भैलो
ए दमाईका माथ—भैलिया भैलो
ए दुबो पाथि भरियोस्—भैलिया भैलो
ए देउताका माथ—भैलिया भैलो
ए दुबो पाथि भरियोस्—भैलिया भैलो
ए भैल्याराका माथ—भैलिया भैलो
हरेक राम्रो काम भयो भने दुबो पाथि लगाएर आशीर्वाद दिने सांस्कृतिक पुरानो चलन छ । सबैको भलो होस् सबैलाई (माथ भनेको) शिरमा दुबो पाथि माला पहिराउन परोस् सबैको सधै शुभ भइरहोस् भन्ने मान्यता हो ।
ए खेल मेरा भाइयौ—भैलिया भैलो
ए वर्ष दिन्या भैलो—भैलिया भैलो
ए सुनको शैलो—भैलिया भैलो
ए भैलाका भैल्यारा—भैलिया भैलो
ए सुनका हारा—भैलिया भैलो
ए अहिलेका भैला—भैलिया भैलो
ए भैल्यारा भाइयौ—भैलिया भैलो
ए क्या बरु माग्छा—भैलिया भैलो
ए अहिलेका भैला—भैलिया भैलो
ए बोक्या पाठो चाइयो—भैलिया भैलो
ए चाहियो काँ पाइयो—भैलिया भैलो
(यसमा टुक्काहरु निकै लामो हुन्छन्, यसमा केही टुक्काहरु मात्र राखिएको हो)
यी टुक्काहरु भनिसकेपछि भैलाको अन्त्य हुन्छ । यसपछि देउडा, रतेउली, फुर्को लगायतका विभिन्न खेलहरु खेल्ने गरिन्छ । भैल्यारा र रम्च्याडुहरुले रातभर जाग्राम बसेर भैलो खेलेपछि खुसीको रुपमा भैलाको नायकसँग उपहार बोका माग्छन् र नायकले दिने वचन दिन्छन् भैलो पनि अन्तिम हुन्छ ।









प्रतिक्रिया दिनुहोस्