
सुर्खेत । संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेश सहितका बिकट क्षेत्रका आम नेपाली नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन आफू लागि परेको बताएका छन् ।
सोमबार वीरेन्द्रनगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतको ग्रामीण खानेपानी सेवा सहायता केन्द्र “सेवा सहायता केन्द्र” शुभारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री यादवले कर्णालीवासीलाई शुद्ध खानेपानी दिलाउन आफू कटिबद्ध रहेको बताएका हुन् ।
उनले भने, ‘यहाँ खानेपानीको क्षेत्रमा जम्मा चार प्रतिशतले मात्रै शुद्ध खानेपानी पाइरहेको र ९६ प्रतिशतले अहिलेसम्म पनि अशुद्ध पानी खान बाध्य भएकाले म त्यसको अन्त्य गर्न लागिपरेको छु ।’
मन्त्री यादवले स्वच्छ खानेपानी सहितको एक घर एक धाराको अवधारणालाई अघि सारेर आफूले काम अगाडि बढाई अग्रपङ्क्तिमा काम सञ्चालन गरिरहेको जानकारी दिए ।
उनले भने, ‘जलस्रोतको धनी देश नेपालमा सबै नागरिकले स्वच्छ खानेपानी पिउन पाउनु पर्छ भन्ने मान्यतालाई अगाडि सारेर म काम गरिरहेको छु, दुर्गम क्षेत्रका आम नागरिकलाई स्वच्छ एवं शुद्ध पानी दिनु मेरो प्रमुख लक्ष्य हो ।’
मन्त्री यादवले कर्णाली प्रदेशमा डीपीआरसहित अन्य प्रक्रिया पुरा गरेर बजेट अभावका कारण काम हुन नसकेका संघीय खानेपानी आयोजना अन्तरगतका योजनाहरूमा अब बजेट अभाव नहुने जिकिर गरे ।
‘म यहाँका जनप्रतिनिधि, स्थानीयवासीहरुलाई जानकारी दिलाउन चाहन्छु, संघीय सरकार खानेपानी मन्त्रालयबाट कर्णाली प्रदेशमा सञ्चालन भइरहेका र बजेट नभएर रोकिएका डीपीआर भएका कुनै पनि योजनाहरू पैसा अभावमा रोकिने छैन,” उहाँले भन्नुभयो, “बजेट रकमान्तर गरेर भए पनि म यहाँका योजनाहरूको टेन्डर आह्वान गर्छु, म कर्णालीवासीका दुःखमा साथ दिने छु ।’
उद्घाटन गरिएको यस सेवा केन्द्रले स्थानीय तहमा रहेका ग्रामीण खानेपानी आयोजनाका उपभोक्ता समितिहरू र सम्बन्धित गाउँ र नगरपालिकाहरूका खानेपानी, सरसफाइ तथा स्वच्छता इकाईहरू बिचमा मुख्य समन्वयकारी भूमिका खेल्ने लक्ष्य राखिएको मन्त्री यादवको भनाई छ ।
वीरेन्द्रनगर नगरपालिकाका करिब २० हजार घरधुरीलाई खानेपानी सेवा उपलब्ध गराउने गरी विश्व बैंकको सहयोगमा भेरी लिफ्टिङ आयोजना निर्माण गर्न खानेपानी मन्त्रालयले समन्वयकारी भूमिका खेलेको समेत मन्त्री यादवले बताए ।
प्रदेशका मन्त्री र सचिव नआएकोप्रति गुनासो
यसैबित मन्त्री यादवले यति महत्वपुर्ण कार्यक्रममा प्रदेशको मन्त्री र सचिव नै उपस्थित नभएपछि गुनासो पोखे ।
कर्णालीका अधिकांश नागरिकहरूले दूषित पानी खाइरहेका छन् । त्यसको सुधारका लागि कार्यक्रम ल्याएर आउँदा कमसेकम प्रदेशको खानेपानी हेर्ने मन्त्री उपस्थित हुनुपर्ने भएपनि नभएको भन्दै यादवले गुनासो गरेका थिए ।
‘मन्त्री देखिन, बिरामी हुनुहुन्छ भने सचिवजी आउनुपर्थ्यो, सचिव पनि आउनुभएन, मन्त्री बिराम भए सचिव बिरामी हुन जरुरी थिएन नि,’ उनले भने, ‘त्यसैले लापरबाही भएर मुलुक बन्दैन । मुलुक बनाउनको निमित्त हामी एक हुनुपर्छ । मैले पहिला पनि भने म संघीयताको लागि लडेको व्यक्ति हुँ । तर आज मलाई खल्लो महसुस भयो ।’









प्रतिक्रिया दिनुहोस्