दुःखी आत्माको ट्रेलरमा यौन पीडायुक्त कविता



चलचित्र निर्देशक दीपेन्द्र लामाले विवाहपछि दाम्पत्य सम्बन्धमा आउने यौन समस्याको ‘दयगतमा परिवारमा खुलेर छलफल गर्नु पर्ने बताएका छन् । आफ्नो नयाँ चलचित्र ‘दुःखी आत्मा’को प्रदर्शनको तयारीमा रहेको यी निर्देशकले यही चलचित्रको विषयमा यस्तो धारणा राखेका हुन् ।

उनको यो चलचित्र प्रणय दिवसको अवसरमा यही २ फागुनबाट देश विदेशमा रिलिज हुँदै छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा उनले दुःखी आत्माको ट्रेलर सार्वजनिक गरेका छन् । ट्रेलरलाई बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ । जसमा यौन समस्यालाई कविताको माध्यमबाट कलाकारले प्रस्तुत गरेका छन् ।

‘नदीले बगरलाई सोधिन्,
के तिमीलाई प्यास लाग्दैन ?
बगरले नदिलाई जवाफ दिन्छ
युगौँदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु …’

यसरी यौन दुर्बलताको समस्याबाट पीडित पात्रको रूपमा प्रस्तुत भएका अभिनेता दयाहाङले अभिनेत्री आँचल शर्माको प्रस्तावमा कविता मार्फत यस्तो जवाफ दिएको ट्रेलरमा उल्लेख छ । ट्रेलरमा यस्ता अरू पनि कविता छन् । यस्तै प्रकारका १० वटा कविता यो चलचित्रमा समावेश गरिएको निर्देशक लामाले राजधानीलाई बताए । ती कविता श्रवण मुकारुङले रचना गरेका हुन् । चलचित्रमा दयाहाङ कविको चरित्रमा छन् ।

दीपेन्द्र लामाले नै यो चलचित्र लेखेका हुन् । चलचित्रमा यौन समस्याले प्रेम तथा दाम्पत्य सम्बन्धमा ल्याउने विकराल अवस्थाको कथालाई प्रस्तुत गरिएको निर्देशकले लामाले बताए ।

दुःखी आत्मामा हिमाल कडरियाको लगानी छ । जसमा सुदिप ढकाल कार्यकारी निर्माता छन् । आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी यो चलचित्रमा रहेको छ ।

यसमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधरलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधबार