
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विद्यालय बाहिर रहेका बालबालिकाको हितमा पनि आवाज उठाउन बालबालिकालाई सुझाव दिएका छन् ।
कर्णाली प्रदेशका दश वटै जिल्लाबाट प्रतिनिधित्व गर्दे आएका बालबालिकाहरुसँग साक्षात्कार गर्दे बुधबार कँडेलले आफ्नो मात्र नभएर बिद्यालय जान नपाएका बालबालिकाहरुको पनि सवाललाई उठाउन उनीहरुलाई आग्रह गरेका हुन् ।
साथै उनले विद्यालय जान नपाएका बालबालिकाहरुको बारेमा घर छिमेकमै रहेका बालबालिकाहरु नै बढी जानकार हुने हुँदा उनीहरुलाई विद्यालय पठाउन प्रेरित गर्ने काममा सहयोगी समूह बनाएर लाग्न सुझाव दिए ।
उनले भने, ‘तपाईहरु कै घरछिमेकका बालबालिकाहरु अझै विद्यालय बाहिर छन्, उनीहरुलाई प्रेरित गर्नुहोला ।’
समाजमा देखिएको हानिकारक कुरिति अन्त्य गर्न बालबालिकाको भूमिका महत्वपूर्ण हुने पनि सुझाव पनि कँडेलले बालबालिकालाई दिए ।
‘हानिकारक कुरिति जन्मिने घरबाट भएकोले आफ्नो घरमा त्यस्तो कुरिति जन्मन नदिनुहोला,’ उनले भने ।
कँडेलले बालबालिकासँग केही राजनीतिक गफ पनि गरे । भने, ‘राजनीतिबारे बुझ्नुहोला तर सानै उमेरमै राजनीति नगर्नुहोला । यो उमेरकै तपाईहरुलाई राजनीति गर्नुस् त भन्दिन तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला।’
राजनीति भनेको अधिकारको खोजीको यात्रा हो । कँडेलले बालअधिकारका बिषयमा राखेका विषयहरु सान्र्दभिक भएको र स्थानीय तहलाई सचेत बनाउने काममा पनि लाग्न बालबालिकालाई सुझाव दिए ।
यसैबीच कर्णाली प्रदेश स्तरीय बाल संजालका पदाधिकारी र सदस्यहरुले आज भेटघाट गरि ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउदै संजालकी अध्यक्ष समीक्षा चौधरीले बालबालिकाहरुको उचित सवालको समयमै व्यबस्थापन गर्नुपर्ने, बालविवाह न्युनिकरण रणनीति र बालविवाहको उमेर हद २० वर्ष कायम गर्नुपर्ने, विद्यालयमा बाल संरक्षणमा ध्यान दिनुपर्ने, समाजमा रहेका हानिकारक प्रथा बालविवाह, जातिय छुवाछूत, छाउपडी प्रथा, अपांगताहरुमाथिको हिंसा न्युनिकरण गर्न कानुनसँगै व्यबहारिक रुपमा पनि पहलकदमी गर्न सरकारसँग माग गरिन ।









प्रतिक्रिया दिनुहोस्