कर्णाली सरकारले एक दिनभर गरेको काम पढ्नुहोस् हजार शब्दमा



सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलमाथि एउटा प्रश्न उठ्ने गरेको छ—प्रतिपक्षमा हुँदा जसरी बोल्थे, त्यसरी काम गर्न सकेनन् । स्वयम् कँडेलले पनि बोलेजस्तो काम गर्न गाह्रै रहेको कतिपय कार्यक्रममा बताउँदै आएका छन् ।

यद्यपि सकेसम्म आफ्नो कार्यकालमा केही गर्नैपर्ने बाध्यतामा रहेका उनले पछिल्लो समय भने आफुलाई चलायमान बनाउने प्रयत्न गरिरहेका छन् । प्रायः मन्त्रीहरु के गरिरहेका छन् र के गर्दैछन् भन्ने पत्तै हुँदैनन् ।

उनीहरुले आफ्ना गरेका गतिविधिहरु पनि सामाजिक सञ्जालमा शेयर गर्ने गरेका छैनन् । तर मुख्यमन्त्री कँडेल भने आफु चलायमान भइरहेको कुरा उनका गतिविधिले देखाउँछ ।

बुधवार मात्रै कँडेलले एकै दिन विभिन्न पाँचवटा कार्यक्रम गरे । के हुन ती कार्यक्रम र कँडेलले कार्यक्रममा के बोले ? पढ्नुहोस् फेहरिस्तः

बिहान ९ बजेः भूकम्प प्रभावित क्षेत्रका प्राविधिकहरुसँग के भने ?

मुख्यमन्त्री कँडेलले बिहान नौ बजे भूकम्प प्रभावित क्षेत्रका प्राविधिकहरुसँग छलफल गरे । नगर विकास कोषले आयोजना गरेको उक्त कार्यक्रममा जाजरकोट भुकम्पबाट क्षतिग्रस्त संरचना पुर्ननिर्माणका लागि दुई जिल्लाका ३० जना इञ्जिनियरहरु सहभागी थिए ।

ती प्राविधिकहरुलाई कँडेलले विकासे गतिविधिमा देखिएका कमजोरी, जथाभावी खन्ने गरेका सडक संरचना र त्यसबाट हुने गरेको प्राकृतिक विपत्तीको विषयमा सचेतना जगाए ।

सुरुमा उनले भने, ‘अहिले जथाभावीवाला विकासे मोडल बदल्न नसक्दा विपत्तीको चपेटाबाट मुक्त हुन सकिएन । जहाँ देख्यो त्यही माटो खन्ने र जमिन भत्काउने प्रचलन भएको छ ।’

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश विपदको उच्च जोखिममा रहेकोले यहाँ बन्ने संरचनाहरु अरु भन्दा जोखिमरहित हुुनुपर्नेमा ध्यान दिन प्राविधिकहरुलाई सुझाव दिए ।

११ बजेपछि कृषि मन्त्रालयको कार्यक्रम
११ बजेपछि भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागी भए, कँडेल । त्यहाँ कर्णालीको कृषि विकास रणनीति मस्यौदामाथि छलफल कार्यक्रम थियो ।

कँडेलले कृषि विकास रणनीतिक दस्ताबेजले कर्णालीको सुन्दर भविष्य बोकेको बताए । कँडेलले दस्ताबेज बनाएर मात्रै नहुने भन्दै दस्ताबेजमाथि सरकार र कर्मचारीहरु जिम्मेदवार बनेर कार्यान्वयनमा लैजानु पर्ने बताए ।

 

कर्णालीमा पछिल्लो समय बाँझो जग्गाको प्रतिशत बढेको बताउँदै मुख्यमन्त्री कँडेलले बाँझो जग्गामा खेती गरेर कर्णालीको कृषिमा विकास गर्नुपर्ने बताए ।

उनले कृषि विकास रणनीतिमा उल्लेख गरिएका विषयबस्तुहरु सुन्दर भएका र तिनलाई विश्वसनीयता बनाउनेतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।

कर्णालीको कृषि परमुखी भएको बताउँदै यसलाई तत्काल सुधार गरेर अगाडी बढ्न सुझाव दिए ।

उनले भने, ‘नीतिगत रुपमा कृषिसँग सम्बन्धित सबै निकायलाई समावेश गरेर अगाडी बढेपछि सफलतामा पुगिन्छ । कर्णालीमा पशुपालनलाई व्यवस्थित गर्ने, कर्णाली प्रदेशमा बाहिरबाट आयत हुने कृषि उपजहरुको विषादी परीक्षण गर्ने र कर्णालीमा उत्पादन हुने कृषि उत्पादनलाई बजार सुनिश्चितता गर्नुपर्ने आजको आवश्यकता छ ।’

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री कँडेलले दिएका सुझावहरु सकरात्मक भएको बताए । मन्त्री शाहले कर्णालीको समृद्धि कृषिबाटै गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘हामीले बनाएको नीति, निर्माणहरु व्यवहारमा लागू भएका छैनन्। यस कृषि विकास रणनीतिमा भएका सिद्धान्तहरु व्यवहारमा उतार्नु पर्नेछ ।’

के छन्, मस्यौदामा ?
मन्त्रालयले तयार गरेको कर्णाली कृषि विकास रणनीतिमा चार वटा खण्ड र १६ वटा अनुसूची राखिएका छन् ।

जसको खण्ड १ मा परिचय, खण्ड २ मा प्रदेशको पृष्ठभूमी तथा स्थिति विश्लेषण, खण्ड ३ मा कर्णाली कृषि विकास रणनीति, खण्ड ४ मा अनुगमन तथा मूल्याङ्गन प्रणाली छन् ।

खण्ड २ प्रदेशको पृष्ठभूमी तथा स्थिति विश्लेषणमा भौगोलिक तथा प्राकृतिक अवस्था, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत, घरधुरी र जनसङ्ख्या, जनजिविका र आयस्रोत, खाद्य सुरक्षा र पोषण, भू–उपयोगको अवस्था, सिंचाई, बाली उत्पादन स्थिति, पशुपन्छी उत्पादन स्थिति, कृषि सामग्री, स्रोत केन्द्र र वित्तीय सेवाहरू, कृषि शिक्षा, अनुसन्धान र कृषि प्रसार सुविधाहरू, जलवायु परिवर्तन र यसका असरहरु, अवसरहरु, चुनौतिहरु र मुख्य कार्यक्षेत्रहरु, सम्भाव्यतायुक्त बालीबस्तुहरु, नीति र सरकारी संरचना, प्रदेशको संस्थागत क्षमता विश्लेषण, बजेट र खर्चको अवस्था समावेश गरिएको छ ।

त्यस्तै, खण्ड ३ कर्णाली कृषि विकास रणनीतिमा कर्णाली प्रदेशको कृषि रणनीतिको मूल आधार र कर्णाली कृषि विकास रणनीतिको परिकल्पना समावेश छन् ।

खण्ड ४ अनुगमन, मूल्याङ्कन र समिक्षामा अनुगमन दूरदृष्टि, परिणाम, र प्रतिफलहरू, रणनीति कार्यान्वयनको लागि आवश्यक कानुन, प्रमुख सरोकारवाला निकायहरू र भूमिका र कर्णाली कृषि विकास रणनीति मार्गचित्र जस्ता विषयबस्तु समावेश गरिएको छ ।

१ बजेपछिःयोकोसुदासँग छलफल
१ बजेसम्म कृषिको कार्यक्रममा सहभागी भएका उनी त्यसपछि एक घण्टा संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको नेपालस्थित राष्ट्रिय आवसिय प्रतिनिधि योकोसुदासँग छलफल चलाए, आफ्नै कार्यकक्षमा ।

कँडेलले विकास साझेदार संस्थाहरुलाई सहयोगका प्राथमिकता निर्धारण गर्दा नागरिकमैत्री बनाउन सुझाव दिए ।

कर्णालीमा दातृ निकायहरुबाट ठूलो मात्रामा सहयोगहरु भइरहेको तर त्यस्तो सहयोगले अपेक्षित परिणाम हासिल नभएको बताए । त्यसैले सहयोगका प्राथमिकतालाई नागरिक मैत्री बनाउनुपर्ने उनको सुझाव थियो ।

 

‘कर्णालीमा तपाईहरुले ठूलो मात्रामा सहयोग गर्नुभएको छ, हामीलाई त्यस्तो सहयोगको निरन्तर आवश्यकता पनि पर्दछ,’ उनले भने, ‘हाम्रो चासो तपाईहरुले गरेको सहयोगलाई नागरिकले बढी भन्दा बढी अपनत्व गरुन भन्ने हुन्छ ।’

कतिपय विकास साझेदार संस्थाले तल्लो तहको आधारभूत आवश्कता भन्दा केन्द्रमा बसेर कार्यक्रमहरुको तोक्ने गरेको कँडेलले बताए ।

साथै उनले आवासिय प्रतिनिधि योकोसुदालाई जनतिनिधि निकायसँग समन्वय गरेर कार्यक्रमका प्राथमिकता तोक्न सुझाव समेत दिए ।

मुख्यमन्त्री कँडेलले अशिक्षा र चेतनाको अभावको कारण विगतमा अधिकारमुखी कार्यक्रमहरुमा विकास साझेदार संस्थाहरुको जोड भएपनि अव अधिकारमुखी कार्यक्रमलाई भन्दा पूर्वाधार विकासमा सहयोग बढाउन आग्रह गरे ।

विकास विकास सूचकाङ्कमा कर्णालीका धेरै जसो क्षेत्र नकारात्मक रहेको चर्चा गर्दे कँडेलले भने, ‘धेरै कार्यक्रमभन्दा बरु थोरै क्षेत्रमा हात हाल्ने तर परिणाम निस्कने गरि काम गर्नुहोस् ।’

विकास साझेदार संस्थाका कार्यक्रमहरु जताततै देखिने तर अपवाद बाहेक जनताले प्रशंसा गरेको कतै नसुनिएको उनले कँडेलले बताए ।

तीन तहको सरकारको संरचना भएपनि दातृ संस्थाहरुले कार्यक्रम छनौट गर्दा संघीय सरकारसँग मात्र समन्वय गर्दा कार्यक्रमहरुमा दोहोरोपना देखिएको पनि उनको भनाइ छ ।

उनले अगाडि थपे, ‘प्रदेश सरकार दातृ संस्थाहरुलाई काम गर्ने उपयुक्त वातावरण बनाउन सदैब तयार छ । साझेदार संस्थाहरुले पनि कार्यक्रम छनौट अघि समन्वय गर्नुपर्नेपर्‍यो ।’

४५ मिनेट दोस्रो पञ्चवर्षीय योजनाको तयारी बैठक
दातृ निकायका प्रतिनिधिसँगको छलफल पश्चात् कँडेलले प्रदेश योजना आयोगको कार्यालयमा गरिएको कार्यक्रमा सहभागी भए । आयोगले यतिबेला दोस्रो पञ्चवर्षीय योजना लागु गर्नेबारे अन्तिम चरणको काम गरिरहेको छ ।

 

आयोगका अध्यक्षमा समेत रहेका कँडेलले उक्त कार्यक्रममा आवश्यक निर्देशन दिए । दोस्रो पञ्चवर्षीय योजना यही वर्षदेखि लागु गर्ने तयारी छ ।

सडक पुर्वाधारको अनुगमन

योजना आयोगको कार्यक्रम गरेपश्चात कँडेलले अपरान्हतिर वीरेन्द्रनगरमा निर्माणाधीन सडक पुर्वाधारको अनुगमन गरे ।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढालाई साथमा लगेर दसौं राष्ट्रिय खेलकुद हुने रङ्गशाला क्षेत्रको पूर्व र दक्षिण क्याम्पस निर्माण भइरहेका सडकको अनुगमन गरे । ती सडक न्यू दिपक लक्ष्मण जेभीले ५ करोड ७४ लाखमा बनाइरहेको छ ।

 

कँडेलले काम दु्रत गतिमा भइरहेकोप्रति प्रशंसा गर्दै समयमै काम सम्पन्न गर्न निर्देशन समेत दिए । ती सडक पुस १५ गते सम्म सम्पन्न गरिसक्ने समयसीमा छ ।

प्रकाशित मिति : २०८१ मंसिर १९ गते बुधबार