शनिवारदेखि वीरेन्द्रनगरको खुल्लामञ्चमा लाग्दै छ महायज्ञ



सुर्खेत । शनिवारदेखि वीरेन्द्रनगरको खुल्लामञ्चमा महायज्ञ लाग्ने भएको छ ।

आश्रयविहीनहरुलाई आश्रय दिने उेद्दश्यका साथ वीरेन्द्रनगरमा निर्माण हुने मानव आश्रमको भवन बनाउन रकम संकलनका लागि महायज्ञ लगाउन लागिएको हो ।

आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ । उक्त भवन बनाउनका लागि आवश्यक पुँजी जुटाउनका लागि उक्त महायज्ञ लगाउन लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक डाक्टर नवराज केसीले बताए ।

महायज्ञबारे बुधवार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । ०७५ माघ १८ गतेदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा आश्रमले भाडाको घरबाट सेवा दिँदै आएको छ ।

हालसम्म ४ सय ६ जना बेसहारालाई उद्धार गरिएको आश्रमको आफ्नै भवनका लागि डीपीआर तय भइसकेको छ ।

भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । यद्यपि उक्त रकम अभाव हुने भएपछि रकम जुटाउन महायज्ञ लगाउन लागिएको उनको भनाइ छ ।

सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव नभएकाले समाजको पुँजी पनि यसमा लाग्नुपर्ने र पैसा मात्र नभइ सेवा गर्ने हातहरु पनि चाहिएको डाक्टर केसीले बताए ।

महायज्ञ मंसिर २८ गतेसम्म लाग्ने छ । सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामुहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाक्री प्रदर्शन लगायतका कार्यक्रम रहने छन् ।

महायज्ञबाट ५ करोड रकम संकलन हुने अपेक्षा गरिएको छ । भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्नेमात्र नभई मानवसेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने लक्ष्य रहेको उनले बताए ।

प्रकाशित मिति : २०८१ मंसिर १९ गते बुधबार