
सुर्खेत । यहाँको लेकवेशी नगरपालिकाले मानव सेवा आश्रमको एउटा कोठा निर्माण गरिदिने भएको छ ।
लेकवेशी नगरपालिकाका नगर–प्रमुख उमेशकुमार पौडेलले एउटा कोठा निर्माण गरिदिने घोषणा गरेका हुन् ।
आश्रयविहीनहरुलाई आश्रय दिने उेद्दश्यका साथ मानव सेवा आश्रम सुर्खेतको भवन निर्माणका लागि शुक्रवारदेखि वीरेन्द्रनगरको खुल्लामञ्चमा महायज्ञ लागिरहेको छ ।
नगर-प्रमुख पौडेलले शनिवार महायज्ञमै सहभागी भएर भवनको एउटा कोठाका लागि लाग्ने सम्पुर्ण खर्च व्यहोर्ने घोषणा गरेका हुन् ।
महायज्ञ मूल आयोजक समितिका संयोजक डाक्टर नवराज केसीका अनुसार आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ ।
उक्त भवन बनाउनका लागि आवश्यक पुँजी जुटाउनका लागि उक्त महायज्ञ लगाइएको हो । अहिले मानवसेवा आश्रम भाडाको भवनबाट सञ्चालित छ ।
भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । यद्यपि उक्त रकम अभाव हुने भएपछि रकम जुटाउन महायज्ञ लगाइएको छ।
सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहेका छन् । भवन सडक आश्रित मानवको उद्धार गरेर राख्नेमात्र नभई मानवसेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने लक्ष्य रहेको केसीले बताए ।
याे पनि…
वीरेन्द्रनगरमा महायज्ञ सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन









प्रतिक्रिया दिनुहोस्