
सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक ‘नीति र शासनमा युवा’ (Youth in Policy and Governance – YPG) तालिमको आयोजना गरिएको छ।
कर्णालीका १० वटै जिल्लाबाट छनोट गरिएका ५० जना सक्रिय युवाहरुको सहभागितामा सुरु भएको यो तालिम तीन दिनसम्म सञ्चालन हुनेछ।
अमेरिकी दूतावासको सहयोगमा ऋति फाउन्डेसनले कर्णाली प्रदेश सभा र पुरक एसियाको सहकार्यमा तालिमको आयोजना गरेको हो। तालिमको उद्घाटन समारोहमा कर्णाली प्रदेश सभाका सभामुख माननीय नन्दा गुरुङको प्रमुख आतिथ्य रहेको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै सभामुख गुरुङले नीति निर्माण र शासन प्रक्रियामा युवाहरुको सक्रियता अत्यन्तै महत्वपूर्ण रहेको औँल्याउँदै यस्ता तालिमले उनीहरुलाई नेतृत्वदायी भूमिकामा अघि बढ्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।
ऋति फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमका अनुसार कर्णालीका दशवटै जिल्लाका ३०० भन्दा बढी युवाहरुबाट प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत ५० जना युवाहरुलाई पहिलो चरणको तालिमका लागि छनोट गरिएको हो।
गौतमले भने, “पहिलो चरणको तालिमपछि उत्कृष्ट २५ जनालाई दोस्रो चरणमा सहभागी गराइनेछ। दोस्रो चरणबाट छनोट भएका १२ जनालाई तेस्रो चरणमा तालिम दिइनेछ। उनीहरुलाई कर्णाली प्रदेश सभाका सदस्यहरूसँग ज्ञान सहायकको रूपमा काम गर्ने र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरिनेछ।”
उक्त तालिमको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका सचिव आनन्द सारुले युवाहरुले नीति र शासन प्रक्रियामा सहभागिता जनाउन जरुरी रहेको बताए ।
अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइकल हार्करले नेपालको ७०% जनसंख्या ४० वर्षमुनिका भएकाले युवा राष्ट्रको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे । हार्करले भने, “तपाईंहरुले नयाँ विचार, ऊर्जा र नवप्रवर्तनको प्रतिनिधित्व गर्नुहुन्छ—उत्तरदायी शासनलाई प्रवर्द्धन गर्न र सांसद तथा जनताबीचको खाडललाई कम गर्न।”
कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्यद्वय रणसिं परियार र कलबहादुर हमाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
तालिमले नीति निर्माण र शासन प्रक्रियामा युवाहरुको भूमिका सुदृढ गर्दै उनीहरुलाई प्रभावकारी नागरिकका रूपमा तयार पार्ने लक्ष्य लिएको छ। यस तालिमले कर्णालीका युवाहरुलाई शासन र नीतिनिर्माण प्रक्रियामा सशक्त बनाउने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्