
सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकारबिच तीन बुँदे सहमति भएको तीन वर्ष बितिसक्दापनि अहिलेसम्म सरकारले कार्यान्वयन गरेको अवस्था छैन ।
विद्रोहमा रहेको उक्त पार्टीलाई शान्ति प्रक्रियामा ल्याउने पहल गरेका केपी शर्मा ओली अहिले पुनः प्रधानमन्त्री छन् ।
यद्यपि सरकारले उक्त तीन बुँदे कार्यान्वयन गरेको छैन भने नेकपाका नेता, कार्यकर्तामाथिका मुद्धा फिर्ता भएको छैन ।
उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भने सरकारले तीन बुँदे कार्यान्वयन नगरेर षड्यन्त्र गर्न खोजीरहेको बताए ।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले केपी ओली नेतृत्वको सरकारले आफुहरुसँग गरेको तीन बुँदे कार्यान्वयनमा उदासिनता देखाइरहेको बताउँदै सरकारले मुद्धा फिर्ताबारे कानुन ल्याउनुको साटो पहिलेको सरकारले प्रस्ताव गरिएको कानुन फिर्ता लिएको बताएका हुन् ।
उनले भने,‘मुद्धा फिर्ता लिन नसकिने भनेर भनियो, यो सरकारको धारणा हो वा मन्त्रीको ?’ उनले प्रश्न गरे, ‘कि जेलमा हाल्न खोजेको हो ? मुद्वा फिर्ता नलिने भएपनि प्रष्ट भन्नुपर्यो । नेकपा हाजिर हुन अदालत जाँदैन त्यसमा क्लियर हुनुस् ।’
सरकार निहुँ खोज्न थाले नेकपाले त्यसको राम्रोसँग प्रतिवाद गर्ने उनको भनाइ छ । साथै प्रकाण्डले अहिले सरकारले फासिवादको अभ्यास गर्न थालेको जस्तो देखिएको धारणा राखे ।
उनले भने,‘हामीले बढीमा बढीमा के गर्नु पर्ला संघर्ष गर्नु पर्ने त हो नि! राज्य त्यसरी आउन खोजेको हो भने सशस्त्र ढङ्गले प्रस्तुत हुन्छौँ ।’









प्रतिक्रिया दिनुहोस्