कर्णालीमा सुरक्षित यात्राका लागि स्मरण अभियान



सुर्खेत । कर्णालीमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिकले सुरक्षित यात्राका लागि स्मरण अभियान सुरु गरेको छ ।

कर्णाली प्रदेशमा हुने सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम राख्ने उद्देश्यले अभियान चलाइएको प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हरिबहादुर विसीले बताए ।

अभियान अन्तर्गत कर्णालीमा सवारी दुर्घटना हुने स्थानहरूमा भएका सवारी दुर्घटनाहरूका तस्विरहरू प्रतिबिम्वित गराई सवारी चालक र सह–चालकहरूलाई सचेतना गराइन्छ ।

अभियानको नारा ‘आफु पनि बचौं र अरूलाई पनि बचाऔं’ भन्ने राखिएको छ । बिहीबार मात्र प्रदेशका १० वटै जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरूमा यो कार्यक्रम गरिएको छ ।

उनले अगाडि भने, ‘अहिलेसम्म ४७ स्थानहरूमा प्रदर्शन तथा सचेतना कार्यक्रम गरिएको छ ।’ उक्त कार्यक्रमबाट सवारी चालक तथा सह–चालक गरी जम्मा १ हजार २४३ जना लाभान्वित भएका छन् ।

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रबार