सुर्खेत ‘जेल ब्रेक’ को इतिवृत्तान्त



०५८ साल मङ्सिर ८ गते दाङको घोराही स्थित सैनिक ब्यारेक जनमुक्ति सेनाले कब्जा गरेको थियो । त्यसको दुईदिन पछाडि पूर्वको सल्लेरीमा पनि जनमुक्ति सेनाले भीषण हमला गरेको थियो । त्यसलगत्तै नेपालमा संकटकाल घोषणा गरिएको थियो । अर्थात् सैनिक शासन लागू भएको थियो । सुरक्षाकर्मी र माओवादीबीच भिडन्त र हता–हतीका समाचार दैनिक जसो आइरहन्थे । कलेज पढ्दै गरेका हामी विद्यार्थीलाई तत्कालीन सरकारले राज्यविरुद्धको अपराधमा सुर्खेत जेलमा बन्दी बनाएको थियो ।

माओवादी पार्टीलाई ‘आतंककारी’ घोषणा गरिएको थियो । सुर्खेत जेलमा भएका, राज्यले आतंककारी घोषित गरेका, जेलभित्रै आएर प्रहरी अफिसरले ‘ज्ञ’ श्रेणीका नागरिकको दर्जा दिएका हामी युवाहरू आफ्नो जीवनको सर्वाधिक संकटपूर्ण, चुनौतीपूर्ण र जोखिमयुक्त जीवन बिताइरहेका थियौँ ।

जेल नेपाल सरकारको थियो र हाम्रो पनि । जेल बाहिर सरकारको नियम कानुन चल्थ्यो, जेलभित्र हाम्रो हुकुम चल्थ्यो । प्रत्येक व्यक्तिले जेलभित्र हाम्रो अनुमति बिना केही गर्न पाउने स्थिति नै थिएन । बाहिर सुरक्षाकर्मी राइफल बोकेर बस्थे । भित्र हामी चक्कु बोकेर बस्थ्यौं । नशामा पागल भएको मान्छे जस्तै, बारुदमाथि टाउको राखेर सुतेको सिपाही जस्तै, आगोले जलिरहेको घरको धुरीमा बसेजस्तै भएका थियौँ । एउटा अनुकूल परिस्थितिमा जेल ब्रेक गर्ने योजना बनाएका थियौं ।

परिस्थिति प्रतिकूल बन्यो । हामी आत्तिएनौँ, निराश भएनौँ, लक्ष्य छोडेनौं । जेल बाहिर निस्किनको लागि सुरुङ तयार गरेका थियौँ । आधा सुरुङ खनेपछि थाहा भयो कि सुरुङको मुखमा प्रहरीको नयाँ सेन्ट्री पोस्ट थपिएको छ । तैपनि काम रोकिएन । सुरुङ तयार गरियो । ०५८ सालको पुष महिना मेरो जीवनको सर्वाधिक संकटपूर्ण, पीडादायी र अविस्मरणीय हो । आफ्नो जीवनको मात्रै कुरा थिएन । योजना खुल्नासाथ हामी मारिने निश्चित थियो । आफ्नै मृत्युको भन्दा पनि ठूलो त्यो योजना धरापमा पर्ने चिन्ताले निकै सताएको थियो ।

आफ्नै साथीहरुले नगरौं भन्दाभन्दै आँटेको एउटा साहसिक काम मूर्खतापूर्ण दुष्कर्ममा परिणत हुन्छ कि भन्ने भयले सताउँथ्यो । सामान्यतया हाम्रो बन्दी जीवन सजिलै थियो । खाने, बस्ने, खेल्ने, पढ्ने सबै सुविधा थियो । मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको सूचीमा हामी थियौँ । केही नगर्दा हामीलाई मारिहाल्ने अवस्था पनि थिएन । तर हामी आफैंले ‘जेल ब्रेक’ गर्ने योजना बनाएर त्यो जोखिम निम्त्याएका थियौँ ।

महाभारतको युद्धमा कौरवले तयार पारेको चक्रव्युहमा फसेको अभिमन्यु झैँ भएका थियौँ हामी । न त निस्किने कुनै उपाय छ न त फर्किने कुनै बाटो । त्यतिबेला कतिपय आस्थाका बन्दीलाई जेलबाट सरुवाको बहानामा बाटोमा लगेर हत्या गरिएका खबर पनि पाउने गथ्र्यौं । देशमा संकटकाल र सञ्चारमाध्यममा सेन्सरसिप उच्चस्तरको थियो । सुरुङ तयार थियो । निस्कने ठाउँमा सुरक्षाकर्मीको सेन्ट्री पोस्ट थियो । सुरुमा हामीले डिजाइन गर्दा त्यो पोस्ट थिएन । संकटकाल लागिसकेपछि थपिएको थियो । हामी विलखबन्दमा परेका थियौँ । एकजना अमुक कविले भनेको कविता झैं—‘कुन भेलमा परे कुन्नी तर्ने कुनै ठाउँ छैन, जाउँ भने कहाँ हो कहाँ दुर दुर अर्को कुनै गाउँ छैन ।’

पुष महिनाको चिसो दिन । ग्याँस चेम्बरमा निस्शासिएका हिटलरका कैदी झैँ, सुर्खेतको जेलमा मृत्यु पर्खेर बसेको अनुभूति हुन्थ्यो बेलाबेला । हरपल शरीर तातिएको हुन्थ्यो, मन आत्तिएको हुन्थ्यो, मस्तिष्क हिम नदी झैं छचल्किएको हुन्थ्यो । नजर सुरक्षाकर्मी, जेल प्रशासन र ६५ जना बन्दीतिर सोझिएको हुन्थ्यो । जुनसुकै बेला जेसुकै हुनसक्ने परिस्थितिको आंकलन भइरहेको हुन्थ्यो । सबै बन्दीहरूलाई हाम्रो त्यो योजनाको बारेमा पुरै जानकारी भएको थियो । यसकारण पनि हाम्रो योजना जोखिमयुक्त थियो । सायद पहिलेदेखि नै होला जेलभित्रको सूचना लिनको लागि वैधानिक व्यवस्था गरिएको हुन्छ । जुन सूचना दिएबापत कैदीहरूले कैद सजाय छुट पाउने गर्छन् । त्यो पनि कम चुनौतीको विषय थिएन हाम्रो लागि ।

जेलमा रहेका कैदीबन्दीलाई भेट्नको लागि आफन्त साथीभाई चिनजानका मान्छेहरु जाने चलन त्यो बेला पनि थियो । संकटकालको कारण विभिन्न राजनीतिक दल, मानव अधिकारवादी संघसंस्थाहरू, आफन्त सुभेक्षुक भेट्न आउने क्रम लगभग रोकिएको जस्तै थियो । जेल ब्रेक गर्नु मात्रै हाम्रो लक्ष्य थिएन । सिङ्गो टिम सकुशल गन्तव्यमा पुग्नु थियो । त्यसका लागि बाहिरी परिस्थिति जान्नु बुझ्नु हाम्रो लागि अपरिहार्य थियो । भेटघाट बन्द भएसँगै हामीलाई निकै अप्ठ्यारो भएको थियो । त्यसको विकल्पमा हामीले दहि दुध बिक्री गर्न ल्याउने किसानहरू लाई रोज्यौं । जहाँबाट जेलमा दही दूध आउँथ्यो, त्यो ठाउँ वीरेन्द्रनगरको उत्तर–पश्चिमको डाँडा गढी थियो । हामी जेल ब्रेक गरेपछि त्यही बाटो हुँदै जाने योजना बनाएका थियौँ ।

सुरक्षाकर्मी परिचालन कत्तिको भइरहेको छ सामान्य किसानको रुपमा उनीहरुले हामीलाई भनिरहेका हुन्थे । सुरुङको मुख नजिकै रहेको सेन्ट्री पोस्टमा रातिको गतिविधि नियाल्नको लागि हामी हरेक रात पालो गरेर ड्युटीमा बस्थ्यौं । पर्खाल बाहिर उनीहरू ड्युटीमा हुन्थे । हरेक १० मिनेटमा उनीहरूले एक–अर्कोलाई जनाउ दिने संकेत गरिरहेका हुन्थे । हामी सुरुङ–भित्रबाट एकदमै सानो प्वाल निकालेर उनीहरूको गतिविधिलाई नियालिरहेका हुन्थ्यौं । सुरुङभित्र अक्सिजनको मात्रा कमै हुन्छ । चिसो मौसम, चिसो माटो, अध्यारो सुरुङ, साँघुरो पनि उस्तै हरेक रात उज्यालो भविष्यको प्रतीक्षामा हामी दुई दुई घण्टाको दरले ड्युटी बस्ने गथ्र्यौं । अक्सिजनको अभाव र चिसो माटोका कारण दुई घण्टाको अवधि नैं जीवनको अन्तिम पल त्यही हो जस्तो लाग्थ्यो । सुरुङबाट निस्कँदा नै केही घण्टाको लागि नयाँ जीवन पाएको अनुभूति हुन्थ्यो ।

भलिबल, टेबल टेनिस र चेस हाम्रा दैनिक खेलहरू थिए । जेलभित्र हाम्रो एउटा राम्रो भलिबल टिम थियो । बाहिरबाट प्रहरीहरूको एउटा टिम दिनहुँ जसो भलिबल खेल्न भित्र आइरहन्थ्यो । टेबल टेनिस बोर्ड हामीले पाँच दिन आमरण अनसन बसेर प्राप्त गरेको सुविधा मध्ये एउटा थियो । त्यसैले पनि दिनमा कम्तिमा एकपटक हामी टेबल टेनिस खेल्ने गथ्र्यौं । बोर्ड र गोटी सजिलै उपलब्ध हुने र दुईजना मात्रै भएपनि खेल्न मिल्ने भएकोले चेस त प्रायजसो जेलमा खेलिने लोकप्रिय खेल नै हो । खेल र जेल हाम्रो लागि एकअर्काका परिपुरक जस्ता थिए । भौतिक र मानसिक रूपमा ऊर्जा प्राप्त गर्न हामीलाई ती खेलहरू पर्याप्त थिए ।

संसारमा रचना गरिएका जेल–सँग सम्बन्धित जति पनि कृतिहरू छन्, तीं सबैमा जेलरको भूमिकालाई कुनै न कुनै रूपमा उल्लेख गरिएको हुन्छ । जेल र जेलर सुन्दै डर लाग्ने भयानक रुपमा समाजमा स्थापित छ । सुनकै जेल किन नहोस् त्यहाँ बस्ने चाहना कसैको पनि हुँदैन । कैदीलाई कैद माफी मिनाहादेखि जेल सरुवा सम्मको अधिकार प्राप्त व्यक्ति नैं जेलर हुन्छन् । त्यतिबेला जेलर महेन्द्र जंगशाही हुनुहुन्थ्यो । नातामा मेरो मामा पर्ने । सानोमा ठूला बडाले भन्ने गर्थे ‘भाइ गल्ती गर्नु हुँदैन जालास मामाघर !’ कस्तो होला भन्ने लाग्थ्यो मामाघर । जेलर नै मामा परेपछि मेरो लागि जेल पनि मामाघर जस्तै थियो । जेलरले भान्जाको रूपमा कहिल्यै व्यवहार गरेको अनुभूति मैले गरिन । तर मैले सधैँ मामाघरको रुपमा जेल लाई बुझ्ने गरें ।

अरु सम्बन्ध, परिस्थिति आफ्नो ठाउँमा छ । तर जेलर सँगको सम्बन्ध हामीलाई चेसले जोडेको थियो । जेलर निकै शान्त, सरल र चेस प्रेमी हुनुहुन्थ्यो । चेसको प्रतिस्पर्धा उहाँ सँग निकै कडा खालको हुन्थ्यो । पुस महिनाको त्यो जाडो, आफैंले खनेको सुरुङमाथि बसेर चेस खेल्दा दिमाग अन्यत्र होइन चेसमै केन्द्रित हुन्थ्यो । त्यति राम्रो चेस खेल्ने, हाम्रा मामा अर्थात् जेलर । हामीले खनेको सुरुङको बारेमा थाहा पाए भने के गर्लान् ? हामीले कहिले त्यो बारेमा सोचेनौं । यति कुरा राम्रोसँग थाहा थियो कि, सुरुङ खनेको कुरा थाहा पाए भने हाम्रो मृत्यु निश्चित छ ।

मेरो बाल्यकाल भेरी किनारमा बितेको थियो । माछा मार्न निकै रहर लाग्थ्यो । एउटा माछालाई बल्छीमा पार्नको लागि घन्टौँ कुर्नु पथ्र्यो । बर्षाको उर्लिँदो भेल पौडेरै तर्नु पथ्र्यो । साहस र धैर्यता परिस्थितिमा निर्भर हुने रहेछ । रातभरि मुडा तापेर बिहानै चिसो भेरीमा नुहाउने हाम्रो चलन थियो । ‘माघे संक्रान्ति’ पर्व भन्नासाथ आगोको धुनी र चिसो पानीमा डुब्ने कुरा अहिले पनि दिमागमा आइरहन्छ । ०५८ साल माघ १ गते हाम्रो लागि ‘माघी पर्व’ के पर्व ? जस्तै थियो । सुरुङ तयार गरेको एक महिना भइसकेको थियो । तर बाहिर निस्कने कुनै अनुकूल वातावरण नै थिएन । न त सुरुङ पुर्ने हाम्रो कुनै सामथ्र्य नै थियो । जेल परेदेखि निरन्तर पार्टीसँग सञ्चार सम्पर्कमा थियौँ । त्यही एक महिनाको अवधिमा बाहिर सञ्चार सम्पर्क टुटेको थियो । आत्मसमर्पण हाम्रो लागि अस्वीकार्य थियो । हामी थकित भएका थियौँ । एकोहोरो भएका थियौँ । चिन्ताग्रस्त थियौँ । हाम्रो त्यो मेहनत, परिश्रम र लगानी मात्रै होइन, सम्पूर्ण योजना नै असफल भएर एउटा खराब दुर्घटनाको इतिहास बन्छ कि भन्ने कुराले भयभित थियौँ ।

जेलमा पहिले तीनवटा सेन्ट्री पोस्ट थिए । जेलको पूर्व र पश्चिमतर्फ दुईवटा ‘टावर’ थिए । जसलाई बुर्जा भनिन्थ्यो । एउटा मुख्य गेटमा थियो । संकटकाल लागेपछि उत्तर र दक्षिणतर्फ एउटा एउटा सेन्ट्री पोस्ट थप भयो । हामी एक दुई दिन बिराएर कहिले बिरामीको बहाना त कहिले पेशी परेरै बाहिर निस्किरहेका हुन्थ्यौं । त्यसरी निस्किनुको एकमात्र उद्देश्य हुन्थ्यो । त्यो भनेको सुरुङको मुख नजिकै थपिएको सेन्ट्री पोस्ट हेर्नु । सेन्ट्री पोस्टको छाना हालेको छ कि छैन भनेर नियाल्नु । जेल ब्रेक गर्नका लागि हामी आफैले गर्ने काम त गरिसकेका थियौं । बीचमा थपिएको त्यो सेन्ट्री पोस्टले गर्दा हाम्रो योजना एक महिना ढिलो भइसकेको थियो । थाहा थिएन कहिले त्यो पूरा हुने हो । हाम्रो अगाडि एकमात्र विकल्प थियो । त्यो भनेको हिउँदे झरी । हिंउदै झरी र त्यो सेन्ट्री पोस्ट । एउटा गजबको सम्बन्ध । हाम्रो अर्जुन दृष्टि यी दुवै कुरामा थियो । हिउँदे झरी आउनै पर्ने र त्यो सेन्ट्री पोस्ट खाली हुनैपर्ने अवस्थाबाहेक हाम्रो योजना सफल हुने कुनै विकल्प नै थिएन । छाना नभएको त्यो सेन्ट्री पोस्ट झरी परेपछि अवश्य पनि खाली हुन्थ्यो । त्यो बेला पुस महिनाभरि पानी परेन । न त त्यो सेन्ट्री पोस्ट नै खाली भयो ।

एक दिन दुई दिन होइन, पुरै एक महिना हामीले प्रतिक्षा गर्यौं । जेल बाहिर प्रहरीले चौबिसै घण्टा ड्युटी दिइरहेका हुन्थे । भित्र हाम्रो चौबीसै घण्टा सक्रियता हुन्थ्यो । छिसिक्क केही भइहाले, जीवनको सवाल थियो । खडेरीका कारण सुक्खा भएको जमिन हेरेर बसेको किसान झैँ भएका थियौँ । प्यासले छट्पटिँदै मरुभूमिमा कुदिरहेको हरिण झैँ भएका थियौँ । सुरुङ खनिसकेपछी धेरै उपाए सकिएर हाम्रो लागि एकमात्र विकल्प बाँकी थियो । त्यो भनेकै हिउँदे झरी हो । झरी र जेल ब्रेक एउटै सिक्काका दुईटा पाटा । आकाशबाट पानी नपरेसम्म सुरुङ नजिकको बंकर खाली हुनेवाला थिएन। । त्यो खाली नभएसम्म हाम्रो योजना पुरा हुने कुनै सम्भावना थिएन । यति कुराले हाम्रो योजना पुरै एक महिना लम्बिएको थियो ।

सापेक्षतावादको सिद्धान्त बुझाउन विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका छन्—तिमी एक घण्टा तातो कराईमा बस र एक घण्टा आफ्नी प्रेमिकासँग बिताऊ । तिम्रो लागि कराईको बसाई हजारौं घण्टा जस्तो लाग्छ भने प्रेमिकासँगको बसाई एक सेकेन्ड जस्तो लाग्छ ।’ हामीलाई त्यो एक महिना एक शताब्दी बिताए जस्तै अनुभूति भएको थियो । माघ २ गते बिहानै सिमसिमे पानी पर्यो । चौकीदारले ढोका खोल्नासाथ हामी मेन गेट भएतिर गयौँ । मेन गेटमा जानु सामान्य कुरा थियो । किनकि हरेक दिन बिहानै ढोका खुल्नासाथ बन्दीहरू मेन गेटमा जाने गर्छन् । बाहिरबाट आउने दहि दुध तरकारी लिन पनि गेटमा जाने गरिन्थ्यो । बिहानै बंकरबाट म्याट र स्लिपिङ ब्याग बोकेर प्रहरीहरू ब्यारेकतिर छिरिरहेका थिए । हामीले सजिलै अनुमान लगायौँ कि पानी परेपछि त्यो बंकर खाली नै हुन्थ्यो ।

झरी बिस्तारै बिस्तारै बढिरहेको थियो । त्यो दिन पनि हाम्रो लागि निकै पीडादायी, सङ्घर्षपूर्ण र प्रसव वेदना जस्तै भयो । वर्षौं जेलमा सँगै बिताएका साथीहरू छोड्नुको पीडा थियो । झरी पर्नासाथ सबैजना बन्दिले बुझेकी आज यिनीहरू भाग्छन् । जब निर्णायक घडी आउँछ नि मान्छेले आफ्नो सोच चाहना र इच्छा अभिव्यक्त गरी छाड्छ । जसले सुरुङ खनेर गए हुन्छ भन्थे उनै मान्छेहरु नजाउ भन्न आइपुगे । हामीसँगै निस्किने उनीहरूमा हिम्मत थिएन । त्यहीँ बस्दा हुनसक्ने सरकारी यातना र सजाय भोग्ने चाहना पनि उनीहरुमा थिएन । सुरुङ खन्नु भन्दा गाह्रो थियो उनीहरूलाई मिलाउन, विश्वासमा लिन । साम–दाम दण्ड–भेद भन्ने कुरा हामीले त्यहीं प्रयोग गरेका थियौँ ।

गोठालाले हरेक दिन बिहान बेलुका भेडाहरू गने जस्तै चौकीदारले हामीलाई गन्दै ढोका लगाई मेन गेट बन्द गरे । झरीले ठण्डा भएको मौसम जेल ब्रेकको त्यो योजनाले निकै तातेको थियो । समय बित्दै गयो बहस तातिँदै गयो । जाने कि नजाने, जेल ब्रेक गर्ने कि नगर्ने, जान दिने कि नदिने, सुरुङबाट निस्केर कता जाने ? यावत प्रश्नमा भित्र निर्णायक बहस चलिरहेको थियो । बाहिर निरन्तर झरी परिरहेको थियो ती सब राप र तापलाई शान्त पार्दै हामी राति नौ बजेतिर सुरुङमा प्रवेश गर्यौं ।
सुरुङभित्र पसेपछि सुरु भयो जीवन मरणको अर्को लडाइँ ।

हामीले खन्न बाँकी राखेको सुरुङको त्यो भाग चट्टान जस्तै रहेछ । तीनजनाले आलोपालो खन्ती (सुरुङ खन्न प्रयोग गरिएको फलामे रड) चलाइरह्यौं । राति १२ बजिसक्यो सुरुङ तयार गर्न सकिएको छैन । हातबाट रगत बगिरहेको थियो । हाम्रो शरीर थाक्दै गएको थियो । अक्सिजनको कमीले स्वास फेर्न मुस्किल भइरहेको थियो । अन्ततः एक बजेर २० मिनेटमा हामीले सुरुङ तयार गर्यौ । पाँच मिनेट जति बाहिरी वातावरण नियाल्यौं । सुरुङभित्रै लाइनमा बसेका साथीहरूलाई खबर गर्यौ । १० मिनेटमा ३० जना पालैपालो गरेर निस्किँदै पर्खालमा टाँसिँदै गयौं । भित्रबाट निस्किन तयार अर्को कुनै बन्दी नभएको यकिन गरिसकेपछि हामी सँगै दौडियौँ । बाटो पहिले नै निश्चित गरिएको थियो ।

सुर्खेत जेलको दक्षिण साइड हुँदै हामी खोर्के खोलाबाट उकालो लागेर गढी पुग्ने योजना थियो । दौडेर हामी झन्डै सय मिटर पर पुगेका थियौँ, राइफल ड्याम ड्याम गर्दै पड्कियो । हामी अगाडि बढ्दै गयौँ । जेल ब्रेकका सहयोद्धा देवीराम देवकोटाको रचना तथा महान सहिद पुष्पराज चौधरीले संगीत र स्वर दिनुभएको गीत ‘समरका यात्री हामी, झुकेनौं जेलनेलमा सुरुङ खनी दिवाल फोडी निस्कियौं झरीमा…..’

पीँजडाबाट निस्केको पन्छी जस्तै हामी निस्कियौं । मान्छेहरू मस्त निन्द्रामा थिए । सिमसिम पानी निरन्तर परिरहेको थियो । चिसापानीमा अहिलेका जस्ता बाक्ला घरहरू थिएनन् । जेल भन्दा झण्डै सय मिटर तल खुल्ला चौर थियो । हो त्यही चौरमा पुग्दा जेल बाहिर रहेका प्रहरीहरूले राइफल पड्काएका थिए । निशाना कता थियो थाहा भएन तर हामीलाई लाग्यो कि हामीतिरै सोझ्याएर राइफल हानिरहेका छन् । हामीलाई सोच्नेसम्म पनि समय थिएन । पर्खाल बाहिर निस्किसकेपछि हामी जति जना गोलीले ढल्छौं, त्यसको हिसाब हामी गर्ने छैनौँ । को कहाँ पुगौंला त्यसको पनि हिसाब थिएन । हामीले जेलभित्रै सङ्कल्प गरेका थियौँ । यदि एकजना योद्धा मात्रै बाँचेर पार्टीको सम्पर्कमा पुगिएछ भनेपनि हाम्रो रगतले लेखिएको इतिहास नेपाली जनयुद्धको एउटा अङ्गको रूपमा स्थापित हुनेछ । हामीलाई विश्वास थियो ।

जब चौरमा पुग्दा गोली चल्यो, दुई जना साथीहरु हामीबाट छुट्टिएर एक्ला एक्लै अर्कै बाटो लागेछन् । बाँकी रहेका हामी खोर्के खोला हुँदै गढीतिर लाग्यौं । त्यो स्फुर्ति, त्यो जोस, त्यो उमङ्ग सायद उन्मुक्तिको परिणाम थियो । उकालो चढ्दै गर्दा मनमा अनेकौँ कुराहरू कुनै चलचित्रको रिलझैँ घुमिरहेका थिए । हामीले ल्याउन नसकेका महिला बन्दीहरू थिए । निस्कने दिनमा हामीले भित्ताको सानो प्वालबाट एकअर्कालाई नियाल्दै भनेका थियौँ । आज राति हामी जेलबाट निस्किन सक्छौं । कुनै दिन तपाईंहरू पनि जेलबाट छुट्नु हुनेछ । पार्टी र क्रान्तिप्रतिको निष्ठालाई कायम राख्दै धैर्यतापूर्वक बस्नु । आँखाभरि आँसु झार्दै ती महिला कमरेडहरूले भनेका थिए –‘हामी पनि जान्छौँ ।’ आजै राति भित्ता फोडेर हामी तपाईँहरूसँगै मिसिन्छौँ । हामीले त्यो चुनौती मोल्ने आँट गरेनौं । त्यसले मनमा कताकता दुःख महसुस भइरहेको थियो । जेल बस्दा हामीले सिर्जना गरेका कतिपय कृतिहरू ल्याउन सकेनौँ ।

दिमाग त्यतातिर त्यति धेरै अल्झिएन । किनकि हामीलाई गन्तव्यमा पुग्नु थियो । उज्यालो नहुँदै गढीको डाँडा काटेर पार गर्नु थियो । पार्टीको सम्पर्कमा पुग्नु थियो । विगतमा सहकार्य गरेका सहयोध्दाहरूसँग अङ्कमाल गर्नु थियो । युद्धविरामको बेला जेलमा रहेको आफ्नो जीवन साथीलाई भेट्ने मौका पाउँदा एक थोपा आँसु नझारी मुसुक्क मुस्कुराउँदै अभिवादन गरेकी कमरेड सीमालाई भेट्नु थियो । कतिपय कमरेडका वर्गीय प्रेमले जोडेका प्रेमिकाहरू समर्पणयुक्त प्रेमिल नयनले प्रतिक्षारत थिए । उनीहरूलाई भेटघाट गराएर जीवनको सहयात्रामा अघि बढाउनु थियो । सँगै सहकार्य गरेका प्रिय तथा अग्रज कमरेडहरू जो सहिद भइसक्नु भएको थियो उहाँहरूको सम्झनामा धेरैजना सँगै भएर शिर निहुराउँदै अभिवादन गर्ने अभिलाषा थियो ।

हामी जब गढीको डाँडामा पुग्यौं । त्यहाँ फेरि अर्को घटना घट्यो । सबैजना एकैपटक डाँडामा जानुभन्दा पहिले त्यहाँको अवस्था बुझ्न पठाएका दुईजना साथीहरुले गरेको संकेतलाई बुझ्न नसक्दा हाम्रो टोलीबाट सात जना साथीहरू छुट्नुभयो । गोठीकाँडा हुँदै उहाँहरू सुर्खेतको पश्चिमतिर लाग्नुभएछ । हामी भने गढीमा पूर्व परिचित एकजना साथीको घरमा गएर आराम गर्यौ । त्यहाँको परिस्थितिको जानकारी लियौं । भोक र तिर्खाले लखतरान भएर पुगेका हामीलाई बिहानी रातमा तातो मकै भुटेर दिनुभयो । शरीरले त्यहीं आराम खोजिरहेको थियो । तर हामी त्यहाँबाट तत्काल हिँड्नैपर्ने बाध्यता थियो ।

झिसमिसे उज्यालोमै सोतखोला पुगिसकेका थियौं । माघको चिसोमा खोलै–खोल हिँड्दै थियौँ । उज्यालो हुनासाथ हेलिकप्टरको आवाज आयो । सानातिना भागदौडमा त हामी पहिले नै परिसकेका थियौँ । अब भने हामीलाई हेलिकप्टरले लखेटिरहेको थियो । त्यहाँ लुक्नलाई धेरै ठूलो जङ्गल पनि थिएन । खोलाका ढुङ्गा र सानातिना झाडीमा लुक्दै अघि बढ्यौँ । झन्डै तीन घण्टाको हवाई गस्ती सकियो । त्यसपछि हामी घोडा आँखे पुग्यौँ । जहाँ मेरो माइली दिदीको घर थियो ।

नजिकै घना जङ्गल र निकै भिरालो जमिनमा भएको त्यो ठाउँ साँच्चै हाम्रालागि सुरक्षित नै थियो । त्यहीं बितेको थियो हाम्रो दुई दिन । त्यो एरियाको जिम्मा लिएका कमरेड अर्जुनलाई भोलिपल्ट हामीले त्यहीं भेट्यौँ । निकै खुसी भएर उहाँले हामी सबैलाई पार्टीको तर्फबाट पहिलोपटक अभिनन्दन गर्नुभएको थियो । गन्तव्यमा पुगेको यात्री जस्तै, शिकार भेटेको सिकारी झैँ, लामो समयपछि अभिभावक भेटेको बच्चा जस्तै, भएका थियौँ । जिल्ला पार्टी हेडक्वाटर कहिले भेट्ने, जनमुक्ति सेनालाई कहिले देख्ने, ब्युरो र उपब्युरो इन्चार्जहरूसँग कहिले छलफल गर्ने ? मनमा एकपछि अर्को जिज्ञासा र कौतुहलता बढेर आइरहेको थियो ।

क्रमश……

मल्ल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रबार