कांग्रेसको सरकार छाड्ने चेतावनी पश्चात आरोप–प्रत्यारोपमा कांग्रेस–एमाले



सुर्खेत । कर्णाली प्रदेश, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकार छाड्ने चेतावनी दिएसँगै कांग्रेस र सत्ताको नेतृत्व गरिहरेको नेकपा एमाले नेताहरुबिच आरोप–प्रत्यारोपको शृङ्खला सुरु भएको छ ।

पुर्व मुख्यमन्त्री समेत रहेका शाहीले सोमबार बसेको प्रदेश सभा बैठकमा एक साताभित्र भौतिक मन्त्रीलाई बर्खास्त गर्नुका साथै ०८१ असारमा गरिएको ८ बुँदै सहमति कार्यान्वयन नगरे सरकार छाड्ने बताएका थिए ।

संसदमै आक्रोशित भएर शाहीले राखेको अभिव्यक्तिसँगे सत्तारुढ दुई दलका नेताहरुबिच आरोप–प्रत्यारोप सुरु भएको हो ।
एमाले नेताहरुले मन्त्रीले फोन नउठाएको भन्दे रिस पोखेको आरोप लगाएका छन् भने कांग्रेसका नेताहरु आरोपको बचाउमा उत्रिएका छन् ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेशसभामा आफ्नै गठबन्धनको विपक्षीले भन्दा चर्को विरोध गरेर जीवनबहादुर शाहीले राजनीतिक सहकार्यको दरिद्रता देखाएनु भएछ । प्रदेशमा एमाले–कांग्रेसको गठबन्धन उहाँले बनाउनुभएको पनि होइन, भत्काउन सक्ने पनि होइन । असमझदारी हुन सक्छन् भनेरै प्रदेशस्तरमा पनि दुई दलबीच संयन्त्र बनेको छ– बैठक राखे हुन्छ, चित्त नबुझेका कुरा गरे हुन्छ ।’ तर, सार्वजनिक खपतका लागि एउटा फोन नउठाएका कारण सरकार नै छाड्ने कुरा गर्नुले साथीहरूको सोचाइको स्तर मापन गर्ने टिप्पणी रिजालको छ ।

रिजालकै पोष्टमा जवाफ दिँदै नेता शाहीका स्वकीय सचिव राजबहादुर रोकायाले सञ्जालमा बढी नभुक्न भन्दै चेतावनी दिएका छन् । रोकायाले भनेका छन्, ‘तपार्इंजस्तो दरिद्र कोही छैन् ! संजालमा बढी नभुक्नुहोस् !’

रोकायाले फेरि फेसबुकमै रिजाल विरुद्ध लेखेका छन् । उनले भनेका छन्, ‘कमरेड विष्णु रिजाल महासय, तपाईं जति नै ठूलो पदमा आसिन भएपनि तपाईं कति तुच्छ र तल्लो स्तरसम्म गिरेको व्यक्ति हो भन्ने कुरा तत्कालीन अवस्थामा वर्तमान प्रधानमन्त्री केपी वली र एमाले पार्टीलाई तपाईंको भाषणमा प्रयोग भएका तथा सञ्जालमा लेखिएका तुच्छ शब्दहरु तथा निम्छरोपनबाट प्रमाणित हुन्छ ।’ यस अर्थमा केन्द्रीय स्तरको नेता सुहाउने भन्दा पनि सडकछाप नेताको स्तरमा सुहाउनु हुन्छ भन्ने तथ्यगत् प्रमाणको अभिलेख अहिले आफुहरुसँग सुरक्षित रहेको रोकायाले बताएका छन्। ‘तपाईंको सम्पूृर्णले मूल्याङ्कन गरी सकेका छन्,’ उनले भनेका छन्।

यस्तै कांग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमन शाही पनि रिजालविरुद्ध खरो रुपमा उत्रिएका छन् । शाहीले लेखेका छन्, ‘प्रस्ट कुरा राख्नु सबैलाई जानकारी गराउनु लोकतन्त्रको सौन्दर्य हो, तपाईंले लेखेपछि हामीले पनि लेख्नै पर्यो हामी नेतृत्व सम्मानको पनि गर्छौ, गलत हुन खोजे आलोचना पनि गर्छौ ।’ संसद भनेको होटेल चिया चौतारी होइन जनताको कुरा राख्ने थलो भएको शाहीको भनाइ छ । ‘तपाईंको जस्तो नेतृत्वको आलोचना गर्यो, मुखमा चुकुल लगाउनु पर्ने स्थिति हाम्रो छैन बुझ्नु होला,’ओलीले भिम रावललाई कारबाही गरेको कुरा इङ्गित गर्दै उनी भन्छन्, ‘हामी जे बोल्छौ, गरेर देखाउने सक्ने हिम्मत राख्ने नेता र नेतृत्व भएका पार्टीमा छौँ । तपाईंको उच्च दरिद्र मानसिकताबाट यस्तो संजालमा किन अभिव्यक्ति आयो, तपाईंले पनि तपाईंको नेतृत्व र संयन्त्र मार्फत कुरा हुन्थेन ?’

कमेन्टमा नपुगेर प्रवक्ता शाहीले आफ्नै फेसबुक पोष्टमा पुनः रिजाल विरुद्ध लेखे—‘ आफ्नो दासत्वका बारेमा बोल्न नसक्ने, अर्काको बारेमा निम्न स्तरको भनाइ सार्वजनिक गर्ने दासहरु संयमित हौँ, धेरै नछट्पटाऊँ केही हुन्न, विष्णु रिजाल सर!’

पुर्व मुख्यमन्त्री समेत रहेका शाही विरुद्धमा मुख्यमन्त्री यामलाल कँडेल निकट अधिकांश नेताहरुले टिप्पणी गरेका छन् ।
एमाले सुर्खेतका अध्यक्ष कुलमणी देवकोटाले लेखेका छन्—‘कामकुरो एकतिर, कुम्लो बोकी ठिमीतिर, सन्दर्भः कर्णाली प्रदेश सभा ।’

यस्तै एमाले निकट व्यवसायी, पत्रकार समेत रहेका चिन्तामणी शर्मा ९ बुँदामा कँडेलले गरेका कामको प्रशंसासँगै कांग्रेस नेता शाहीको विरोधको अर्थ नरहेको उल्लेख गरेका छन् । एमालेकै कोटाबाट प्रदेश योजना आयोगका उपाध्यक्ष नियुक्त भएका सुर्यनाथ योगीले लेखेका छन्—कर्णालीले सक्षम नेतृत्व पाएको र बिकासले गति लिन थालेको समय हो यो । कहिकतै कसैलाई यि कुरा चित्त नबुझेको हो कि ?

एमालेका युवा नेता रुद्र शाहीले पनि कांग्रेस नेता शाहीमाथी प्रश्न उठाएका छन् । उनले भनेका छन्, ‘कर्णालीमा पटक–पटक दुई दलिय सरकार संचालन, संयन्त्रको बैठक एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज क. गोरख वोगटीको नेतृत्वमा १/२ पटक बैठक वसेको जस्तो लाग्छ, असहमति र विचारहरु छलफल त्यहीँ गर्नुपर्ने, भर्खर दलको नेतामा सक्रिय हुनुभएका काङ्ग्रेस दलका नेता जीवनबहादुर शाहीले संसदमा प्रकट गर्नुभएको सम्बोधनले के लोकप्रियता हासिल गर्न खोज्नुभएको हो ?’

के भनेका थिए कांग्रेस नेता शाहीले ? यो पढ्नुहोस्

जीवनबहादुर शाहीले दिए सरकार छाड्ने चेतावनी

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार