सुर्खेत विमानस्थलमा प्रचण्डः ‘केपी ओलीले अध्यादेशबाट शासन गर्न खोजे, यो सरकार चाँडै ढल्छ’



सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले अध्यादेशमार्फत शासन गर्न खोजेको बताएका छन् ।

समितिमा गएका विधेयकहरु छलफलको माध्यमबाट अगाडि बढाउनुको साटो ओलीले फिर्ता गरेर अध्यादेशको बाटो रोजेको उनको भनाइ छ ।

विहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘संसद आह्वान गर्नुको सट्टा विभिन्न अध्यादेश ल्याउनु गलत भयो ।’

सरकारले नियमित रुपमा सदन नबोलाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादीले विशेष अधिवेशन आह्वानको प्रयास गरिएको पनि उनले बताए ।

उनले वर्तमान सरकारले भ्रष्टाचार गर्ने कर्मचारीलाई बचाउन र राम्रो काम गरेका कर्मचारीलाई आक्रमण गरेको टिप्पणी गरे।
तत्काल सरकार परिवर्तन गर्नेगरी माओवादी केन्द्र सक्रिय भएर नलागेको प्रचण्डको भनाइ छ।

साथै उनले यो सरकारको आयु धेरै लामो नरहेको टिप्पणी पनि गरे । ‘यो सरकार अवैद्य रुपमा बनेको सरकार हो, मैले त्यो बेला नै भनेको थिएँ कि यसको आयु लामो छैन,’ उनले भने, ‘सरकार जनताको भावना विपरित काम गरिरहेको छ ।’
साथै माओवादीलाई सरकारबारे कुनै अभिरुचि नभएको पनि प्रस्ट पारे ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहीबार